सुस्तामा घरमै सुतिरहेका हजुरबुवा र नातिको हत्या
रुपन्देही । पश्चिम नवलपरासीको सुस्ताको गाउँमा हजुरबुवा र नातीको हत्या भएको छ । सुस्ता गाउँपालिका वडा नम्बर-३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनका नाति ११ वर्षका गौचरण चमारको घरमा सुतिरहेकै अवस्थामा हत्या भएको हो ।
एकान्त स्थानमा रहेको कच्ची घरमा बस्दै आएका थिए ।
उनीहरूको शरीरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएकाले अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रेशम बोहोराले जानकारी दिए ।
तालिमप्राप्त कुकुरसहित प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको उनले बताए । मृतक चमारका एक छोरा, बुहारी र तिन जना नातिनातिना थिए ।
छोरा कामका लागि भारत गएपछि डेढ महिना अगाडि बुहारी एक जना नातिलाई छाडेर दुई वटा बच्चा लिएर माइत गएको स्थानीयले बताएका छन् ।
अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक काजीकुमार आचार्यको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसन्धानको काम भइरहेको छ ।