स्थानीय तहको विकास र समृद्धिका लागि सामुदायिक रेडियो
समुदाय अर्थात विभिन्न जातजाति, भाषाभेष, पेशा-व्यवसाय, रहनसहन, विचार र समूहका मान्छेहरु रहने थलो । मानिस सामाजिक प्राणी भएकाले समुदाय उसका लागि रक्त सञ्चार जस्तै हो । जो विनामान्छेको दैनिक जीवनको श्रृंखला अगाडि बढ्न सक्दैन । यही समुदायको विविधतालाई समेटेर सूचना, शिक्षा र मनोरञ्जनात्मक सामग्री प्रसारण गर्ने उद्देश्यका साथमा सञ्चालनमा आएको श्रव्य माध्यमलाई सामुदायिक रेडियो भनिन्छ ।
समुदायमा भएका गतिविधिलाई आममान्छेकहाँ पुर्याउने मात्रै होइन, गतिहीन भएका वेला गति प्रदान गर्ने र दिशाहीन भएका वेला गोरेटो पहिल्याउने काम सामुदायिक रेडियोले गरिरहेको छ । समुदायका सम्भावनालाई उजागर गरेर बेरोजगारलाई उद्यमशील बनाउन पहल गर्नेदेखि कृषकको फसल खेतबाटै उचित दाममा बिक्री गर्नेसम्मका काम सामुदायिक रेडियोका नमुनायोग्य कार्य हुन् । खरको चुहिने छानोमुनि बस्ने निरक्षर र पहुँच नभएको मान्छेले पनि आफ्ना गुनासा निर्धक्कसँग राज्यको निकायसम्म पुर्याउन सक्ने सामर्थ्य राख्ने गर्छ । यो नै सामुदायिक रेडियोको सुन्दरता हो । नेपालमा सामुदायिक रेडियोको इतिहास साढे २ दशक लामो छ । तर, यसको प्रभाव पनि उति नै महत्वपूर्ण रहेको छ ।
आज बजार हिँडेको मान्छेले छाता बोक्नुपर्छ या पर्दैन भन्ने कुराको निर्णयमात्रै होइन, विवाह र पूजाको निम्तो बाँड्ने र मलामीसमेत जुटाउन सामुदायिक रेडियोले हुलाकीको काम गरिरहेको छ । देशभित्र र विश्वको कुन कुनामा के भइरहेको छ भन्ने सन्देश आज मान्छेले घाँस काट्दै र वस्तुभाउ चराउँदै सुन्न पाएको छ । यसको एकमात्र कारण सामुदायिक रेडियो नै हो । आरनमा फलाम पिट्ने, खोलामा गिट्टी कुट्ने, खेतको आली सम्याउने मात्रै होइन, अर्काको भारी बोकेर आफ्नो जीवनको भारी हलुँगो बनाउने समाजका निम्नस्तरका मान्छेको आवाज पनि रेडियोको तरङ्गमा सुनिनुको कारण सामुदायिक रेडियोको स्थापना नै हो । समुदायको आवश्यकता र चाहनालाई गम्भीरतापूर्वक मनन गरेर त्यसको समुचित सम्बोधन गर्ने महत्वपूर्ण अंग भनेकै सामुदायिक रेडियो हो ।
स्थानीयस्तरमा स्थापना भएका सामुदायिक रेडियोले कुनै न कुनै स्थानीय भाषामा कार्यक्रम पनि सञ्चालन गरिरहेका छन् । जसले गर्दा स्थानीय भाषाको संरक्षणमा सामुदायिक रेडियोहरु निकै उपयोगीसिद्ध भएका छन् । योसँगै रेडियोले कला र संस्कृतिको महत्वका बारेमा आमजनतालाई सचेतना प्रदान गरेर संरक्षण र सम्बर्द्धनतर्फ उन्मुखसमेत गराउन सफल भएका छन् ।
देश संघीयतामा गएको छ । स्थानीय निकाय अहिले स्थानीय सरकारका रुपमा रुपान्तरण भएको छ । सिंहदरवारको अधिकार गाउँमा भन्ने उक्तिलाई सार्थकता दिन अझै केही नीतिगत स्पष्टता बाँकी नै छन् । तर, हाम्रा सामुदायिक रेडियोहरुले भने स्थानीय तहलाई अधिकार सम्पन्नमात्रै होइन, जनताप्रति जवाफदेही बनाउने मार्गमा निकै महत्वका साथ सघाइरहेका छन् । निश्चित भूगोलका लागि खोलिएका सामुदायिक रेडियोहरु स्थानीय तहका लागि वास्तवमै वरदान सावित भएका छन् ।
समुदायका लागि खोलिएका सामुदायिक रेडियोको भूमिका विभिन्न कारणले गर्दा अहिले पनि निकै प्रभावपूर्ण रहेको छ ।
१) स्थानीय तहसँग साझेदारी
संरचना र अधिकारका दृष्टिले फरक भए पनि स्थानीय तह र सामुदायिक रेडियोको गन्तव्य एउटै हो । समाजलाई समृद्ध, सुसंस्कृत, समुन्नत र सचेत बनाउने लक्ष्य बोकेका स्थानीय तह र सामुदायिक रेडियो साझेदारीका ढंगले अगाडि बढे भने लक्ष्यमा पुग्न निकै सजिलो छ । स्थानीय तहले सञ्चालन गर्ने विभिन्न कार्यक्रमका बारेमा आमजनतालाई जागरुक बनाएर होस् या विभिन्न विकासका योजनाहरु पारदर्शी तरिकाले सम्पन्न होस् भन्न खबरदारी गरेर नै किन नहोस्, सामुदायिक रेडियोले स्थानीय तहसँग साझेदार भएर काम गरिरहेका छन् । स्थानीय तहका कुरा जनतासम्म र जनताका कुरा स्थानीय तहसम्म पुर्याएर सामुदायिक रेडियोहरुले समन्वयकारी भूमिकामा आफूलाई अब्बल राखेका छन् ।
२) भाषा, कला र संस्कृतिको संरक्षण र पहिचान
स्थानीयस्तरमा स्थापना भएका सामुदायिक रेडियोले कुनै न कुनै स्थानीय भाषामा कार्यक्रम पनि सञ्चालन गरिरहेका छन् । जसले गर्दा स्थानीय भाषाको संरक्षणमा सामुदायिक रेडियोहरु निकै उपयोगीसिद्ध भएका छन् । योसँगै रेडियोले कला र संस्कृतिको महत्वका बारेमा आमजनतालाई सचेतना प्रदान गरेर संरक्षण र सम्बर्द्धनतर्फ उन्मुखसमेत गराउन सफल भएका छन् । नेपाल कला र संस्कृतिका लागि धनी देश हो । यहाँको फरक भूगोलसँगै फरक कला र संस्कृति रहेको छ । फरक फरक भूगोलमा रहेका सामुदायिक रेडियोहरुले त्यहाँको कला र संस्कृति संरक्षणतर्फ आममानिसको ध्यान तान्ने काम गरिरहेका छन् । सामुदायिक रेडियोहरुले स्थानीय ठाउँहरुको पहिचानका लागि पनि महत्वपूर्ण भूमिका बहन गरेका छन् । मूलधारका प्रसारण माध्यमका लागि समाचारीय मूल्यभित्र नपर्ने स्थानहरुलाई सामुदायिक रेडियोहरुले प्राथमिकताका साथमा प्रसारण गर्नाले वेग्लै पहिचान निर्माण भएको छ ।
समाजलाई जागरुक र गतिवान बनाउने काममा सामुदायिक रेडियोहरु उपयोगीसिद्ध भएका छन् । निरक्षरहरुले पनि सुनेको आधारमा धेरै कुरा थाहा पाउने भएकाले आममानिसको जागरण र चेतनाको विकास गर्न सामुदायिक रेडियोहरुले अभियान निरन्तर सञ्चालन गरिरहेका छन् ।
३) उद्यमशीलता विकास
विकासको पहिलो शर्त नै उद्यमशीलता हो । नेपाल जस्तो रोजगारका सम्भावना न्यून भएको देशमा ऊर्जावान शक्तिलाई देशमै रोक्ने माध्यमका रुपमा उद्यमशीलतालाई लिन सकिन्छ । नेपालको ग्रामीण भेगमा ससाना उद्योगहरु सञ्चालन गरेर अहिले धेरै मानिसहरु आत्मनिर्भर भइरहेका छन् । यसरी उद्यमशीलतामा लागेका व्यक्तिहरुलाई प्रेरणा प्रदान गरेर होस् या बजारीकरणका साथै उद्यमशीलताका नयाँ नयाँ सम्भावना देखाएर होस्, सामुदायिक रेडियोहरुले उद्यमशीलतातर्फ आममानिसको ध्यानाकृष्ट गर्न सक्षम भएका छन् । सामुदायिक रेडियोहरुले सञ्चालन गर्ने उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरुले त्यसै समय खेर फालिरहेकाहरुलाई ऊर्जा प्रदान गरेको छ । स्थानीयस्तरमा खेर गइरहेका विभिन्न कच्चापदार्थहरुलाई उपयोग गर्नका लागि पनि सामुदायिक रेडियोहरुले सम्भावना देखाएका छन् ।
४) सामाजिक जागरण
मानिसमा चेतनाको सञ्चार हुन पनि विकास एक अवयव हो । लुम्बिनी प्रदेशका सामुदायिक रेडियोहरुका लागि एउटा गर्वको कुरा के हो भने यसै प्रदेशका सामुदायिक रेडियोहरुले सञ्चालन गरेको विधवा महिलाले रातो लुगा लगाउने सचेतना अभियानले अहिले सार्थकता पाएको छ । श्रीमानको मृत्युपश्चात रातो लुगा लगाउनै पर्छ भन्ने मान्यताको अन्त्य भएर समाज अहिले नयाँ सोच र दृष्टिकोणका साथमा अगाडि बढिरहेको छ । यसरी समाजलाई जागरुक र गतिवान बनाउने काममा सामुदायिक रेडियोहरु उपयोगीसिद्ध भएका छन् । निरक्षरहरुले पनि सुनेको आधारमा धेरै कुरा थाहा पाउने भएकाले आममानिसको जागरण र चेतनाको विकास गर्न सामुदायिक रेडियोहरुले अभियान निरन्तर सञ्चालन गरिरहेका छन् ।
५) रोजगार प्रवर्द्धन
लुम्बिनी प्रदेशमा रहेका करिब ६५ वटा सामुदायिक रेडियोमा करिब १ हजार बढी पत्रकारले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । योसँगै सामुदायिक रेडियोले स्थानीय उत्पादनको बजारीकरणका साथै आत्मनिर्भरताका लागि पनि सहजीकरणको भूमिका खेलिरहेको छ । रेडियोले प्रशारण गर्ने सूचना र शिक्षामूलक कार्यक्रमहरुले युवाहरुलाई रोजगारीमा लाग्न प्रेरणा दिनुका साथै रोजगारीका सम्भावनासमेत देखाउने गरेका छन् । सामान्य किसानलाई समाजको सेलिब्रेटी बनाउने काम सामुदायिक रेडियोले गरेका हुन् । सम्भावनाविहीन भएर बेरोजगारी अवस्थामा सुस्ताइरहेको युवालाई ऊर्जावान बनाएर कोदाली बोक्न लालायित बनाउने काम सामुदायिक रेडियोबाट नै सम्भव भएको हो ।
बाटो निर्माणमा भएको अवरोध होस् या कीरा लागेर बाली नष्ट भएको कुरा नै किन नहोस्, रेडियोले हरेक सन्दर्भमा समुदायका मानिसहरुलाई बहस र पैरवी गरेर अन्तरक्रिया गराइरहेको हुन्छ । समाजमा संवादहीनताको अन्त्य गरेर रेडियोले संवादको समेत थालनी गरेको छ ।
६) सामुदायिक अन्तरक्रिया
समाज बहुरङ्गी छ । यहाँ हरेक पल फरक फरक घटना घटिरहेका हुन्छन् । समाजमा हुने गरेका विभिन्न खाले घटनाका बारेमा सामुदायिक रेडियोहरुले अन्तरक्रिया गराइरहेका छन् । जसले गर्दा समुदायमा हुने गरेका विभिन्न घटनाहरुले उचित निकास पनि पाइरहेका छन् । बाटो निर्माणमा भएको अवरोध होस् या कीरा लागेर बाली नष्ट भएको कुरा नै किन नहोस्, रेडियोले हरेक सन्दर्भमा समुदायका मानिसहरुलाई बहस र पैरवी गरेर अन्तरक्रिया गराइरहेको हुन्छ । समाजमा संवादहीनताको अन्त्य गरेर रेडियोले संवादको समेत थालनी गरेको छ । समाजमा आवाज नहुने र आवाज चर्को पार्ने दुवै पक्षलाई एउटै केन्द्रमा जोडेर रेडियोले समाधानमुखी काम गरिरहेको छ । समाजका कैयौं समस्या र विमतिहरुको किनारा रेडियोका माध्यमबाट लागिरहेको उदाहरण हाम्रासामु प्रशस्त छन् ।
७) स्थानीय प्रतिभाको संरक्षण
सामुदायिक रेडियोहरुले स्थानीय नवप्रतिभाहरुलाई उत्प्रेरणा दिने काम गरिरहेका छन् । सामुदायिक रेडियोले प्रतिभा उजागरको अवसर प्रदान गरेर अहिले कैयौं कलाकारहरु राष्ट्रिय रुपमै चर्चा कमाइरहेका छन् । प्रतिभा उजागर गर्ने अवसर नपाएका कैयौं कलाकारहरुलाई सामुदायिक रेडियोले विभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेर अवसरको सृजना गरिरहेका छन् । पछिल्लो समय विभिन्न क्षेत्रमा बलियो ढंगले काम गरिरहेका कलाकारहरुको पृष्ठभूमि हेर्दा सामुदायिक रेडियोले खेलेको भूमिका नै देख्न सकिन्छ ।
८) विकास र सामाजिक परिवर्तन
विकास निरन्तर चलिरहने प्रक्रिया हो । तर, यसलाई सही ढंगले व्यवस्थापन र सञ्चालन गर्न सकिएन भने यसले समाजमा निकै गम्भीर खालको प्रभाव पार्नसक्छ । अहिलेको समयमा हामीले विकाससँगै सामुदायिक रेडियोलाई पनि जोडेर लैजानु आवश्यक छ । समानुपातिक र एकीकृत विकास प्रणालीमात्रै होइन मानिसको विकासप्रतिको चेतनास्तर अभिवृद्धि गर्नमा पनि सामुदायिक रेडियोहरु फलदायी सावित भएका छन् । सामुदायिक रेडियोहरुले निरन्तर गरिरहेका सार्वजनिक सुनुवाइका कार्यक्रम हुन् या स्थलगत अध्ययनका आधारमा तयार पारिएका समाचारमूलक सामग्री नै किन नहुन्, त्यसले समाजमा आममानिसलाई विकासप्रति जागरुक र सचेत तुल्याएको छ । यसका साथै समाजको चेतनास्तर अभिवृद्धिमा पनि सामुदायिक रेडियो महत्वपूर्ण भूमिका बहन गर्न सक्षम भएका छन् । समाजमा मेलमिलाप, एकता र भ्रातृत्वको विकासमात्रै होइन, समाजका हरेक पक्षको परिवर्तनमा सामुदायिक रेडियोले आफूलाई केन्द्रित गर्न सफल भएका छन् ।
९) सुशासन र समाजको पहरेदार
समाजका हरेक पक्षहरुले सुशासनको खोजी गरिरहेका छन् । नेपाल जस्तो सीमित स्रोत र साधन भएको देशमा सुशासन कायम गर्न सकिएन भने विकासको गति धिमा हुने निश्चित नै छ । समाजमा अहिले पनि शासन गर्नेहरुले त्यसको गलत फाइदा उठाएका उदाहरणहरु प्रशस्तै रहेका छन् । सामुदायिक रेडियोले खेलेको महत्वपूर्ण भूमिकाका आधारमा अहिले समाजमा कैयौं मानिसहरुले अख्तियारको दुरुपयोग गर्न डराउने मात्रै होइन, हामीले केही गर्यौं भने रेडियोहरुले खबरदारी गरिहाल्छ भन्ने मानसिकतासमेत बन्दै गएको छ । स्थानीय जनतालाई लक्षित गरेर खोलिएका कारण सामुदायिक रेडियोहरुले ससाना कुरालाई पनि समावेश गरेर समाजमा पहरेदारीको महत्वपूर्ण भूमिका बहन गरेका छन् ।