दुर्गा प्रसाईं भन्छन् : ओली-प्रचण्डलाई मार्सी भात खुवाएको काम लागेन, राज्यबाट भिक्टिम भएँ – Nepal Press

दुर्गा प्रसाईं भन्छन् : ओली-प्रचण्डलाई मार्सी भात खुवाएको काम लागेन, राज्यबाट भिक्टिम भएँ

‘कालोमोसो दल्लान् भनेर एक जोर लुगा साथमा बोकेर हिँड्छु'

काठमाडौं । व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले देशमा गणतन्त्र ल्याउनु अभिशाप भएको टिप्पणी गरेका छन् । उनले गणतन्त्रका लागि आफू पनि लडेको तर यो व्यवस्थाले आफूलाई भिक्टिम बनाएको गुनासो गरे ।

काठमाडौंमा आज ‘नागरिक बचाउ अभियान’ को वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा बोल्दै प्रसाईंले राजतन्त्र फ्याक्नु आफ्नै टाउको काटेर फ्याँकेजस्तो भएको बताए । यो व्यवस्था परिवर्तनको भोलिपल्ट संसारका मान्छे यो देशमा आउने वातावरण बनाइन्छ ।

उनले भने, ‘हिजो वीरे चोर देश छोड भनियो । ज्ञाने चोर देश छोड भनियो । गणतन्त्र ल्याइयो । तर, जुन दिन राजा फ्याक्यौं, यो शिर (टाउकोबाट टोपी फुकाल्दै) निकालेर फ्याँकेजस्तो भयो । आज सबैभन्दा ठूलो कुरा हामीले आफ्नो शिर काटेर फ्याँक्यौं ।’

यो राज्यबाट सबैभन्दा भिक्टिम भएको व्यक्ति आफू नै भएको प्रसाईंले बताए । ६८ सालमा आफूले सरकारबाट अनुमतिपत्र लिएर मेडिकल कलेज स्थापना गरेको तर अहिलेसम्म सम्बन्धन नपाएको उनको गुनासो छ ।

सम्बन्धनकै लागि आफू विगतमा प्रचण्ड र केपी ओलीको पछि लागेको स्वीकारोक्ति उनले व्यक्त गरे । ओली-प्रचण्डलाई मार्सी भात खुवाएर पनि केही हात नपरेको र उल्टै राज्यबाट आफू भिक्टिम बनेको उनले बताए ।

प्रसाईंको भाषणको केही अंशः

कांग्रेसले देश सक्यो भनेर जनयुद्धमा लागेँ । प्रचण्डको पछि लाग्यो दुर्गा प्रसाई । गणतन्त्र आएपछि केही हुन्छ होला भनेर लागेको हो । ६५ सालमा राजा निस्किए । ६८ सालबाट मेडिकल कलेज बनाउन लागेँ । राज्यबाट एलओआई पाएँ ।

राज्यले तिमी मेडिकल कलेज बनाउ भनेर अनुमति दिएपछि त्यो लाइसेन्स राखेर भएभरको जग्गा-जमिन राखेर बैंकबाट लोन लिएर मैले मेडिकल कलेज बनाएँ । तर आजसम्म मैले विद्यार्थी पढाउन पाएको छैन । मभन्दा भिक्टिम कोही छैन यो राज्यबाट ।

केपी ओली र प्रचण्डलाई मिलायो भने एफिलियसन पाइन्छ होला भन्ने आशा भयो । त्यसपछि उनीहरुको घरमा धाउँदै, यिनीहरुलाई तेल लगाउँदै मार्सी चामलको भात पकाएर खुवाएँ । दुई कम्युनिष्ट एक भए देश बन्छ भन्ने थियो । जब यिनीहरु दुई एक भए, आफैं भ्रष्टाचारमा लागे ।

म अब कसैका पछाडि नलागि निर्भिक निडर भएर हिँडेको छु । दुर्गा प्रसाईं मर्छ तर झुक्दैन । मर्छ तर बिक्दैन । तपाईंहरुले यस्तो लिडर पाउनुभएको छ आज । मैले पीडितका लागि आवाज उठाउँदा युवा संघले कालोमोसो दल्यो । दलि हाल्यो ।

अहिले त एक जोर लुगा झोलामा बोकेर हिँड्छु । दल्यो भने खातखुत धोइहाल्यो, अर्को लुगा लगायो हिँडिहाल्यो । कुरा बुझ्नुभएन ? यहाँ कोही युवा संघले कालोमोसो ल्याएको भए दलिहाले हुन्छ । जति दल्छौ दल । तिमीहरुको नेताजस्तो भ्रष्टाचार मैले गरेको छैन । म सर्वहारा वर्ग र भूईंमान्छेको आवाज हुँ । धनी मान्छेको होइन ।

आन्दोलन तुहियो, दुर्गा प्रसाईं सकियो भन्छन् । गिरिजाको पालामा यति लामा लामा माइक बनाएर भाषण सुनाउनुपर्थ्याे । प्रचण्डको पालामा बन्दुक बोकेर हिँड्नुपर्थ्याे। मेरो पालामा त बन्दुक नै यहीँ अगाडि छन् ।

हेर्नुस त, बेलुका १० बजेपछि निद्रा लागेन भने मेरो फोटो हेर्छन् अरे । मेरो फोटो/भिडिओ कतिले हेर्छ भन्नुस् त ? आज सबै पार्टीले कार्यक्रम सारेछन्, अब पत्रकार सबै यता आउँछन् भनेर । यिनीहरुले हारे कि हारेनन् ? यिनीहरुले हारिसक्या छन् ।

राजा गएको ठाउँमा राजा आउ देश बचाउ भन्छन् । अहिले म गएको ठाउँमा दुर्गा आउ देश बचाउ भन्छन् । यो हो के ? म मकै बारीमा जन्मेको काईंलीको छोरो । पहिले अदालतमा मान्छे जान्थे । अहिले मेरा घरमा मान्छेको भिड छ । मेरी बुढीलाई हैरान छ भात पकाएर खुवाउँदैमा ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर