पाल्पा जीप दुर्घटना : कच्ची उकालो घुम्ती बाटो, १५ जना अट्ने जीपमा २७ जना सवार (मृतक/घाइतेको नामसहित) – Nepal Press

पाल्पा जीप दुर्घटना : कच्ची उकालो घुम्ती बाटो, १५ जना अट्ने जीपमा २७ जना सवार (मृतक/घाइतेको नामसहित)

रुपन्देही । पाल्पामा मंगलबार साँझ भएको जीप दुर्घटनाको मुख्य कारण कच्ची उकालो घुम्ती बाटोमा क्षमताभन्दा झण्डै दोब्बर यात्रु सवार रहेको छ । तिनाउ गाउँपालिका वडा नं ६, चिदिसको लुम्पेकडाँडामा मंगलबार भएको मुस्ताङ जीप दुर्घटनामा स्थानीय ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएर अस्पतालमा छन् ।

स्थानीयका अनुसार सो रुटमा नियमित चल्ने जीप भएपनि उकालोको घुम्तीमा बढी लोड भएका कारण जीप ब्याक भएको हो । जीप ब्याक भएपछि चालक तानसेन नगरपालिका वडा नं १० आमडाँडाका ४६ वर्षीय दानबहादुर चिदी पहिले नै झरेका कारण उनी सकुशल रहेका छन् । कच्ची बाटोमा रहेको उकालोको घुम्टीमा जीपको पट्टा भाँचिएको चालकले दावी गरेपनि त्यसको पुष्टि भएको छैन ।

अहिले जिल्ला प्रहरी कार्यालयले उनलाई राखेर सोधपुछ गरिएको छ । तिनाउ गाउँपालिकाका कार्यपालिका सदस्य छवि गहतराजले कच्ची बाटो उकालोको घुम्तीमा धेरै लोड भएकाले गाडी पछाडि फर्केकाले घटना भएको हुनसक्ने बताए । म स्थानीय हुँ, दैनिक त्यो बाटो हिडिरहन्छु, निकै उकालो र घुम्टी बाटो छ, अनि कच्ची बाटोमा ओभर लोड नै समस्या होजस्तो लाग्छ, चालक त अनुभवी र नियमित चलाउने मान्छे हुन् त्यो रुटमा’ उनले भने ।

जिल्ला प्रहरी पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मा उकालो, घुम्टी र बढी क्षमताकै कारण घटना भएको प्रारम्भिक निष्कर्षमा पुगिएको बताए ।

१९ घाइते प्रभास अस्पतालमा, मृतक ८ जनाको सरकारी अस्पतालमा पोष्टमार्टम हुँदै

दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको मुस्ताङ जीप लुम्पेक डाँडामा दुर्घटनामा परेको तिनाउ गाउँपालिकाको कार्यपालिका सदस्य स्थानीय छवि गहतराजले बताए ।

मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका गहतराजले जानकारी दिए । अहिले घाइते सबैलाई तानसेन प्रभासस्थितत लुम्बिनी मेडिकल कलेज पुराइएको र मृतक ८ जनाको शव जिल्ला अस्पतालमा राखिएको तिनाउ ६ का वडाध्यक्ष टोमबहादुर पुनले बताए । घाइते सबैको पहिचान खुलेपनि मृतक सबैको नाम खुलेको छैन । मृतकमध्ये तिनाउ ६ कोलाङका ६२ कृष्णबहादुर अस्लामी, ३३ वर्षीय रामबहादुर अस्लामी, उर्मीला अस्लामीको पहिचान खुलेको छ । अन्य स्थानीय भएपनि सबैको नाम खुलेको छैन ।

मृतक उर्मिला अस्लामी यसअघिको कार्यकालमा तिनाउ ६ नं वडाको सदस्य हुन् ।

घाइते १९ जनाको नामवली

तिनाउ ६ का २० वर्षीय कृष्ण पन्त, रिब्दीकोट १ का ६ वर्षीय बालिका विद्या सुनार, तिनाउ ६ का १९ वर्षीय उमा रास्कोटी, तिनाउ ६ का २१ वर्षीय अमृता गहतराज, रिब्दीकोट १ का ३० वर्षीय रमा सुनार, रुपन्देही हरैयाका ३० वर्षीय भूमि पुन, तिनाउ ६ का १९ वर्षीय शान्ति राना, तानसेन ७ का ४२ वर्षीय सबिना परियार, तिनाउ ६ पाल्पा ९ वर्षीय सौरभ पुन, रुपन्देही देवदहका ९ वर्षीय विवेक जीसी, रिब्दीकोट १ पाल्पा ६ वर्षीय साया सुनार, रिब्दीकोट १ पाल्पाका ५ वर्षका बालक आरभ सुनार, तानसेन १० का ४५ वर्षीय दानबहादुर चिदि, रिब्दीकोट १ पाल्पा ६६ वर्षीय विष्णुकला कामी, रुपन्देही देवदहका ७ वर्षीय अस्मित जीसी, तिनाउ ६ पाल्पा ४५ वर्षीय कुलबहादुर नेपाली ३ जना पहिचान नखुलेका ४० वर्षका महिला, २० वर्षका महिला, २ महिना बालिका रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *