मैले मनाउन नपाएको त्यो ‘भ्यालेन्टाइन डे’ – Nepal Press

मैले मनाउन नपाएको त्यो ‘भ्यालेन्टाइन डे’

मैले पहिलो पल्ट क्याम्पस पढ्दा थाहा पाएको थिएँ ‘भ्यालेन्टाइन डे’ । त्यसभन्दा पहिले मैले कहिल्यै सुनेको थिइनँ । म क्याम्पस पढ्ने समय पहिलो वर्षको हिउँदको दिन थियो । बाहिर टन्टलापुर घाम लागेको थियो । म भात खाएर कोठामा बसेको थिएँ । सुन्दर प्याक गरेको एउटा पार्सल लिएर मेरी मिल्ने साथी आइन् । पार्सलभित्र मुनामदन, रोमियो र जुलियट, अनि खोइ कुन एउटा किताब र सात पेजको चिठी रहेछ । खासमा त्यो चिठी मेरो नामको थियो । साथी हुलाकी थिइन् । चिठी र किताब एकदम मजाले प्याक गरिएको थियो । बाहिर मेरो नाम, पठाउने साथीको नाम अनि ठूल्ठूला अक्षरमा लेखिएको थियो- ‘ह्याप्पी भ्यालेन्टाइन डे ।’ हो, मैले पहिलो पल्ट यस दिवसबारे त्यही दिन सुनेको हुँ । जिन्दगीमा त्योभन्दा पहिले मैले यो शब्द कहिल्यै सुनेको थिइनँ । जमना कति लाटो थियो, म झनै लाटी थिएँ । सम्झन्छु, त्यो दिन फेब्रुअरी १४ रहेछ ।

साथीले तपाईंको पार्सल भनिन् । हामी साथीसाथी तपाईं भनेर बोल्थ्यौं । उनीसँग हामी कहिलेकाहीँ रुम शेयर गर्थ्यौं । म उनकोमा गएर बास बस्थें, उनी पनि कहिलेकाहीँ मेरोमा आउँथिन् । खासमा त्यतिबेला हाम्रो घरको आर्थिक स्थिति जरजर थियो । आमाको क्यान्सरको उपचार, बाबाको तीस वर्र्षे पञ्चायती राजनीतिले धेरै पैसा र पुर्ख्यौली जग्गा सकिसकेको थियो । आमाको अस्वस्थ अवस्था र बाबाको तनावले मलाई खुब पिरोल्थ्यो । साथीको चाहिँ अलैँची उत्पादन हुने रहेछ गाउँमा र रामै्र खर्च गर्न सक्थिन् । म भान्जे दाइकोमा बस्ने भएकोले त्यत्रो धेरै खर्च चाहिँ हुन्थेन ।

हाम्रा क्याम्पसका दिन एकदमै रमाइलो थियो । कविता वाचनबाट मैले आफ्नो परिचय बनाइसकेको थिएँ । संखुवासभा जिल्लाव्यापी कविता प्रतियोगिता जितिसकेको थिएँ । विद्यार्थी राजनीतिमा पनि संलग्न थियौं । जसले मलाई चिठी पठाएका थिए, उनी क्लासका सबैभन्दा अब्बल छात्र थिए । हामी कक्षामा लिजर समयमा हाजिरीजवाफ प्रतियोगिता गर्थ्यौं । अन्ताक्षरी खेल्थ्यौं । अन्त्यमा प्रतिस्पर्धा उनको र मेरो नै पर्थ्यो । मेरो अंग्रेजी कमजोर थियो । बाटोमा कहिलेकाहीँ भेट हुँदा उनले मलाई ‘कविताजी मलाई कविता लेख्न सिकाइदिनू न’ भन्थे । म पनि हुन्छ, मलाई अंग्रेजी सिकाइदिनू न फलानाजी भन्थें । मैले यसभन्दा अरु केही सोचेको थिइनँ ।

यसरी अप्रत्याशित रुपमा आएका चिठी र किताबका उपहार सबै फिर्ता गरें । साथीले फिर्ता लान मानिनन् । मैले जबरजस्ती गरें । उनले पनि जबरजस्ती गरिन् । म रिसाएँ पनि । साथीले त्यो उपहार र चिठी कोठामै छोडेर गइन् । म पनि के कम तिनकै कोठामा लगेर छोडिदिएँ । त्यसपछि क्याम्पसको क्लास नै चौपट भयो । नरमाइलो भयो ।

प्रेम एक आदर्श हो । त्यो आदर्श प्रेममय जीवन थोरैको हुन्छ । तर, धेरैको हुँदैन । मान्छेले त्यही आदर्श प्रेमको कल्पना गर्छ । तर, त्यस्तो प्राप्त गर्न सक्दैन । अनि विक्षिप्त बन्छ । प्रेम एउटा जिम्मेवारी पनि हो । त्यो जिम्मेवारी देखाउन नजानेर पनि असफल छन् कति ।

नरमाइलो हुने कारण त्यही चिठी भयो । चिठी, चिठीमा भनिएका कुरा स्वीकार्नु त परको कुरा, मैले त बोल्न नै छोडिदिएँ चिठी पठाउने साथीसँग । त्यसअगाडि हामी कक्षामा बहुत रमाइलो गर्थ्यौं । बाटोमा पनि भेट भएका बेला ग्रुपमा गफ हाँक्दै हिड्थ्यौं । त्यसपछि ती सब कुरा बन्द भयो । यतिसम्म भयो कि क्याम्पसको पढाइ छुटिसक्दा पनि हाम्रो बोलचाल भएन । साथीले त बोल्न धेरै खोजेका थिए, निकै मरिहत्ते गरेका थिए । तर, मैले त्यो वातावरण नै दिइनँ । साथीले वार्षिक परीक्षामा क्याम्पस टप गरे । मेरो ब्याक लाग्यो । तर पनि म बोलिनँ । क्याम्पस सकियो र पनि म बोलिनँ । त्यसबेला फोन, फेसबुक केही थिएन । भेट हुने, संवाद हुने सम्भावना नै भएन । केही वर्षअघि हामी छुटेको लगभग बीस वर्षपछि फेसबुकमा खोजेर फ्रेन्ड रिक्वेस्ट पठाएँ । उनले एसेप्ट गरे र फेरि ब्लक गरे ।

साथीले भनेकी थिइन्- ‘उतिबेला उनी मेरो लागि धेरै तड्पिएका थिए रे ! चित्त दुखाए रे ! रिसाए रे !’

जीवनमा यस्ता क्षण अरु पनि धेरै आए । तर, त्यो ‘भ्यालेन्टाइन डे’को दिन आएन । हरेक मान्छेको जीवनमा यसखाले क्षण धेरै पटक आएको हुन्छ । कसले कसरी त्यस्ता क्षणको सामना गर्छ भन्ने त्यही व्यक्तिमा भर पर्ने कुरा हो ।

अहिले आफ्नै जीवनलाई फर्केर हेर्छु । यो कथा सुन्दा म आफू निष्ठुरी भएँ जस्तो लाग्छ । तर, गुनासो गर्ने ठाउँ भेट्दिनँ । साथीहरुको प्रस्ताव किन स्वीकारिनँ भनेर पछुतो पनि लाग्दैन । किनभने मलाई केही गरुँ भन्ने चाहना थियो । तर, उनको हृदयमा पुगेको असरप्रति भने क्षमाप्रार्थी छु । मैले उनलाई धोका दिएको होइन । मेरो अहिले त्यसरी अलमलिने समय भएको छैन भनेर भनेको थिएँ । तर, पत्याए जस्तो लागेन । त्यही भएर नबोलेर टारिदिएँ ।

पाठकलाई म ढुङ्गाको मन भएको, पाखण्डी पनि लाग्नसक्छ । धेरै पहिले मलाई पनि एक जना साथी असाध्यै राम्रो लाग्थ्यो । उनी सबै गुणले साँच्चिकै राम्रा थिए । राम्रो लाग्नेबित्तिकै आफ्नो भइहाल्नु पर्छ, भावना छताछुल्ल बनाइहाल्नु पर्छ भन्ने हुँदैन । हामी राम्रो साथीमात्र थियौं र त्यतिमै छुटेका थियौं । फेसबुकको समय आएपछि उनले आफ्ना कुरा मेसेजमा शेयर गरेर पठाएका थिए । पहिले उनको मनमा जे चल्थ्यो, त्यो लेखेर पठाएका थिए । मलाई जस्तै उनलाई पनि उतिबेला मप्रति प्रेमका भावना आएका रहेछन् । त्यो सुनेर खुशी लाग्यो । यसरी मेरो चाहिँ प्रेम कहानी सकिएको थियो ।

कतिले भन्छन् प्रेम स्त्री र पुरुषबीचको एक सम्बन्धमा मात्र सीमित राख्नु हुँदैन । तर, दुनियाँले प्रेमलाई त्यही रुपमा हेर्छ, जहाँ एक केटा हुन्छ र अर्को केटी । अनि उनीहरुबीच माया बस्छ र प्रेम सुरु हुन्छ । हामीले पनि त्यही बुझ्यौं । तर, प्रेम अनन्त छ । यसको कुनै सीमा छैन ।

सानैदेखि प्रेम सम्बन्धको बारे मेरो आफ्नै धारणा थियो । आजको दिनसम्म पनि त्यही धारणा छ । कसैको लागि मरिहत्ते गरिहालुँ, रोइहालुँ भन्ने कहिल्यै लागेन । कुनै सम्बन्ध स्थायी छैन जस्तो लाग्थ्यो । शास्त्रमा पढे जस्तो, फिल्म, कथा, उपन्यास, काव्यमा व्याख्या गरे जस्तो प्रेम वास्तविकतामा हुँदैन लाग्थ्यो । कसैसँग नाम जोडिनु भनेको सामानमा ट्रेडमार्क लागे जस्तो हो । असफल भएमा शीर उठाएर बाँच्न गाह्रो हुन्छ लाग्थ्यो । यो मेरो भ्रम पनि हुनसक्छ । आजको दिनसम्म पनि यही धारणा चलिरहेछ ।

प्रेमका बारे जे देखियो, मेरो त्यो धारणा मिले जस्तो लाग्छ । त्यस्ता कति प्रेम क्षणभरमा घृणामा परिणत भएका दृष्टान्त आँखै अगाडि छ । सँगै मर्ने, सँगै बाँच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएकाहरु एकअर्कालाई मार्न पनि तयार भएका उदाहरण देखिन्छन् । हामीकहाँ गलत धारणा छ, प्रेम गरेपछि बिहे गर्नैपर्छ । अनि बिहे गर्छौं, बिहेपछिका अनेक विकार र समस्या कञ्चन खोलामा ढल मिसाए जस्तो मिसाउँछौं र प्रेमलाई अपवित्र बनाउँछौं । अनेक असहमति, अहम्, स्वार्थ मिसाएर टुक्राटुक्रा, धुजाधुजा बनाउँछौं । वास्तवमा पाउनुमा भन्दा नपाउनुमा चोखो र अमर छ प्रेम । प्रेमप्रति हाम्रा अनेक आशा हुन्छन् । ती आशा र अपेक्षा पूरा होस् भन्ने चाहन्छौं । प्रेममा अनेक बन्धन र तगारो लगाउने प्रयास गर्छौं । ती बन्धन तोडिए धोका भएको ठान्छौं । प्रेमलाई घृणामा परिणत गर्छौं ।

ओशो भन्छन्- ‘प्रेम स्वतन्त्रतामा हुन्छ । तर, बिहे एक बन्धन हो ।’ हामी सोच्छौं- ‘मन परेको मान्छे पाउनु नै प्रेम प्राप्त गर्नु हो ।’ प्रेम के पाउनैपर्छ ? नपाएमा घृणा गर्छौं भने के त्यो प्रेम हुन्छ ? जुनसुकै अवस्थामा पनि प्रेम गरिरहन सक्नु पो वास्तविक प्रेम हो ।

उपन्यास लेख्ने क्रममा मैले धेरै मान्छेसँग उहाँहरुको प्रेम अनुभव सोधें । हरेकसँग एउटा एउटा कथा हुँदोरहेछ । हरेकले एकएक मान्छेलाई मनमा राखेका हुँदा रहेछन् । हरेकसँग आदर्श प्रेमको चाहना हुँदोरहेछ । हरेकमा एक soul mate को चाहना हुँदोरहेछ । एकजना साथीले यस्तो भयानक प्रेम कहानी सुनाए, जुन कथाले मलाई उपन्यासमा ‘लभ स्टोरी’ पूरा गर्न मद्दत गर्‍यो ।

प्रेम गर्न चाहनेले प्रेम गर्न जान्नु पनि पर्छ । रिस, ईर्ष्या, घमण्ड प्रेमका शत्रु हुन् । प्रेमले सम्मान चाहन्छ । सम्मानमा नै प्रेम फस्टाउँछ । हामीले मन पराएको एक व्यक्ति नै त्यस्तो निर्विकल्प व्यक्ति होइन । आज नभएर के भो, भोलि कोही तपाईंको लागि रातो गुलाब लिएर अवश्य आउनेछ ।

प्रेम एक आदर्श हो । त्यो आदर्श प्रेममय जीवन थोरैको हुन्छ । तर, धेरैको हुँदैन । मान्छेले त्यही आदर्श प्रेमको कल्पना गर्छ । तर, त्यस्तो प्राप्त गर्न सक्दैन । अनि विक्षिप्त बन्छ । प्रेम एउटा जिम्मेवारी पनि हो । त्यो जिम्मेवारी देखाउन नजानेर पनि असफल छन् कति । अरुबाट मात्र आदर्श प्रेमको आशा राख्ने आफूले गर्न नजानेर पनि पीडित छन् कोही । प्रेम एक भूमिका पनि हो । एउटा व्यवहार पनि हो । व्यवहारिक भूमिका राम्ररी निभाउन नसक्दा कतिपय प्रेमिल जोडीहरु दुर्घटित हुन्छन् । प्रेम गर्ने र व्यवहारमा देखाउने कुरा हो । शब्दमा भन्ने र सुन्ने कुरा होइन ।

प्रेमका लागि कुनै कारण हुँदैन भनेर ओशोले भनेका छन् । तर, हामीले प्रेममा स्वार्थ मिसाएका छौं । हरेक प्रेममा हाम्रो कुनै न कुनै स्वार्थ हुन्छ । ऊबाट केही पाउने अभिलाषा छ । त्यो अभिलाषा पूरा भइञ्जेल हामी प्रेम गर्र्छाैं । अभिलाषा पूरा भएन भने घृणा गर्छाैं । आजको हाम्रो पे्रम कहाँ छ ? विकासानन्दले भनेका छन्– ‘प्रेममा कर्ता हुँदैन ।’ हामी प्रेमबाट प्रतिफल प्राप्त हुने आशा राख्छौं । प्रतिफल प्राप्त नभए घृणा गर्छौं । दुनियाँलाई प्रेम सिकाउने, अहिंसाको पाठ सिकाउने बुद्धले प्रेमलाई दुःखको कारण होे भनेका छन् । प्रेमले भय र शोक उत्पन्न गराउँछ भनेका छन् ।

कतिले भन्छन् प्रेम स्त्री र पुरुषबीचको एक सम्बन्धमा मात्र सीमित राख्नु हुँदैन । तर, दुनियाँले प्रेमलाई त्यही रुपमा हेर्छ, जहाँ एक केटा हुन्छ र अर्को केटी । अनि उनीहरुबीच माया बस्छ र प्रेम सुरु हुन्छ । हामीले पनि त्यही बुझ्यौं । तर, प्रेम अनन्त छ । यसको कुनै सीमा छैन । जुनसुकै जीव-जनावरमा पनि प्रेमको अनुभूति गर्ने गुण रहेको हुन्छ । अरु प्राणीभन्दा मान्छे प्रेमको कुराले पनि फरक छ । ऊ दुनियाँमा आफूलाई मन परेका सजीव निर्जीव सबै कुरालाई माया गर्नसक्छ । कुनै जनावरलाई यति मन पराउँछ, यति माया गरेर पाल्छ । अनि त्यसैलाई मारेर मासु खान्छ । यति स्वाङ पनि पार्छ कि मार्ने बेलामा आँसु पनि झार्छ । कति महिनासम्म मायाले कुरा पनि गरिरहन्छ । अन्य चिजबिजहरु मन परुञ्जेल यति माया गरेर जतनले राख्छ । मन नपरेपछि फ्याँक्छ, बेच्छ, साट्छ, जे पनि गर्छ । यो स्वभाव मानिसमा जो छ, यसको प्रभाव कुनै न कुनै दिन व्यवहारमा देखाउन किञ्चित लाज मान्दैन, त्यो प्रेमको सम्बन्धमा किन नहोस् ।

सूचना र सञ्चार प्रविधिको विकासले संस्कृति हस्तान्तरणमा ठूलो भूमिका खेलेको छ । रोम राज्यमा २६९ एडीमा घटेको घटना र त्यसलाई प्रेम दिवसको रुपमा मनाउने पश्चिमा संस्कृति आज हाम्रो घरको चुलासम्म आइपुगेको छ । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको बलिदान वा रोम राज्यमा क्लाउडियसको सेनाले विहे गर्न नपाउने कठोर नीतिका विरुद्ध चर्चमा लुकेर विहे गराइदिएको कारण उनलाई दिएको मृत्युदण्डको दिनको सम्झनामा संसारभर आज प्रेम र प्रणय दिवसको रुपमा मनाइन्छ । कुनै पनि दिनलाई दिवसको रुपमा मनाउनुको अर्थ हुन्छ, त्यस दिनप्रति दुनियाँको ध्यानाकृष्ट गर्नु । केका लागि दिवस मनाएको हो, त्यसको महत्व विस्तारित गर्नु । दुनियाँमा अशान्ति, हिंसा, द्वन्द्व बढेका बेला, अविश्वास, एकांकीपनले मान्छेलाई आक्रान्त पारिरहेको छ । पारिवारिक, सामाजिक तथा सांस्कृतिक विखण्डन बढ्दै गइरहेको तथ्याङ्कले देखाउँछ । यस्तो समयमा प्रेम दिवसको विशेष महत्व बढ्नु स्वाभाविक छ । किनभने जति अँध्यारो बढ्छ, उज्यालोको महत्व उत्ति नै महसुस हुन्छ ।

प्रेम कुन बेला, कसरी, कसका मनमा र कसको लागि उत्पन्न हुन्छ भन्ने कुरा सापेक्षित विषय हो । निरपेक्ष रुपमा दुनियाँका सबै मान्छे एकै दिन प्रेममा अनुबन्धित हुन्छन् भन्ने मान्यता केवल भ्रममात्र हो । गलत समय र गलत तरिकाले गलत व्यक्तिलाई गरिएको प्रेम प्रस्तावले कसैको जीवन दुर्घटित नहोस् ।

यद्यपि प्रेम जीवनमा अपरिहार्य कुरा हो । प्रेमले हरेक प्राणीको जीवन रङ्गीन बनाएको हुन्छ । खुशीको एउटा प्रमुख स्रोत नै प्रेम हो । प्रेम पनि खुशीमा नै फुल्ने चिज हो । आजका धर्मशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र प्रेमको परिभाषाविना अधुरा छन् ।

दुनियाँमा वास्तविक प्रेम र प्रेमिल जोडी नभेटिने होइन । सामान्य मान्छेका त के कुरा ? प्रेमको लागि राजगद्दीसमेत त्यागेका उदाहरण पनि प्रशस्तै भेटिन्छन् । बेलायतका राजकुमार ह्यारी वर्तमान समयका एक उदाहरण हुन् । बेलायतमा राजपरिवार तथा त्यहाँका मिडियादेखि जनतासम्मले बेलायतकी पूर्वयुवराज्ञी मेघन मर्केललाई बेलायती राजपरिवारमा नसुहाएको भने । उनलाई गरेको उपेक्षा र अपमानको कारण ह्यारीले सन् २०२० जनवरी ९ मा शाही खानदान त्यागेर श्रीमती मर्केलसँगै क्यानडा बस्ने र सर्वसाधारण जीवन जिउने घोषणा गरे । उनले यो घोषणामा भनेका कुराहरु बहुत मर्मस्पर्शी छन् । उनले मर्केललाई त्यागेनन् । मर्केलको मायाको लागि राज खानदान त्यागे ।

यो इतिहासकै एक उदाहरणीय घटना हो । प्रेम अन्धो हुन्छ, त्यसै भनिएको होइन । भारतका मुगल सम्राट शाहजाहँले ममताजको नाममा ताजमहल बनाए । राजकाजलाई ख्याल नगरी ममताजको मायामा विक्षिप्त बनेर ताजमहल बनाउन लागिपरे । अनि आफ्नै छोरा अबरङ्ग जेबद्वारा बन्दी बनाइए । बन्दी जीवन ताजमहल हेरेर बिताउने इच्छा व्यक्त गरे । ताजमहल हेरेर ममताजलाई सम्झेर प्राण त्यागे । यी उदाहरणमात्र हो । मायाप्रेमको लागि दुनियाँमा अनौठा अनौठा घटना घटेको पाइन्छ ।

खासमा प्रेम दिवस मनाउनु नराम्रो कुरा होइन । तर, यसलाई फेसनको रुपमा मनाउनु नराम्रो हो । आजको दिन जोडी बनाउनैपर्छ, कोही मान्छेलाई प्रेम सम्बन्धमा बाँध्नैपर्छ भन्ने जुन जबरजस्त मनोविज्ञान नयाँ पुस्तामा देखिएको छ, त्यो गलत छ । मानव जीवनमा हरेक दिन, हरेक समय प्रेममय हुन जरुरी छ । हतारमा सम्बन्धमा बसेर फुर्सदमा पछुताउनु भन्दा एक पटक सम्बन्धमा बस्नुपूर्व दश चोटी सोच्नु जरुरी छ ।

अमेरिकाको एक सर्वेक्षणले हरेक तीनमा एकजनाले आफ्नो सम्बन्धलाई छलिरहेका हुन्छन् भन्ने तथ्याङ्क दियो । यो यिनैले गर्छन्, जो मन नपरे पनि रहरले, हतारले, करले आदि कारणबाट सम्बन्धमा बसेका हुन्छन् । उनीहरु आफ्नो सम्बन्धमा असन्तुष्ट छन् । त्यहाँ वास्तविक प्रेम थिएन । प्रेम गर्न चाहनेले प्रेम गर्न जान्नु पनि पर्छ । रिस, ईर्ष्या, घमण्ड प्रेमका शत्रु हुन् । प्रेमले सम्मान चाहन्छ । सम्मानमा नै प्रेम फस्टाउँछ । हामीले मन पराएको एक व्यक्ति नै त्यस्तो निर्विकल्प व्यक्ति होइन । आज नभएर के भो, भोलि कोही तपाईंको लागि रातो गुलाब लिएर अवश्य आउनेछ ।

कुरा रह्यो मेरो ‘भ्यालेन्टाइन डे’ अनुभवबारे । साथीले भनेकी थिइन्- ‘मलाई चिठी पठाउने साथी मेरो लागि धेरै तड्पिएका थिए । चित्त दुखाएका थिऐ । रिसाएका थिए रे !’ यो अवश्य पनि भयो होला । उनको प्रेम प्रस्तावको कारण हाम्रो क्याम्पस जीवन नै खल्लो भयो । उनलाई पनि अपमान महसुस भयो होला । मनमा अवश्य निराशा र हीनताबोध आयो होला । चिठी ल्याउने साथीसँग एक जना छात्रा उनी जस्ती छन्, मलाई खाली उनको याद आउँछ भन्थे रे ! पोहोर साल साथीले सुनाएकी थिइन् मलाई । यसबाट उनको हृदयमा अवश्य चोट परेको थियो भन्ने बुझिन्छ ।

प्रेम प्रस्ताव फेब्रुअरी १४ कै दिन राख्नुपर्छ भन्ने होइन । प्रेम यही दिन मनमा उत्पन्न हुन्छ भन्ने विषय पनि होइन । प्रेम कुन बेला, कसरी, कसका मनमा र कसको लागि उत्पन्न हुन्छ भन्ने कुरा सापेक्षित विषय हो । निरपेक्ष रुपमा दुनियाँका सबै मान्छे एकै दिन प्रेममा अनुबन्धित हुन्छन् भन्ने मान्यता केवल भ्रममात्र हो । गलत समय र गलत तरिकाले गलत व्यक्तिलाई गरिएको प्रेम प्रस्तावले कसैको जीवन दुर्घटित नहोस् ।

प्रेमले निराशा होइन, जीवनमा आशा जगाउनुपर्छ । सबैमा प्रेम दिवसको शुभकामना !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *