किरात, बौद्ध र सनातन वैदिक सभ्यता नेपालको पहिचान- वेद, त्रिपिटक र मुन्धुम ज्ञानको स्रोत : राष्ट्रपति पौडेल
पाँंचथर । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्ययता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताएका छन् ।
पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधवार आयोजना गरेको महापुराण तथा बहु धार्मिक आध्यात्मिक महोत्सव २०८० को उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
‘हामीले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्ययता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहन्छौ’, पौडेलले भने, ‘यस्तो राष्ट्र जो कसैलाई निषेध गरेर हैन, सबैलाई समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्छ । सबैलाई एकताबद्ध गरेर बन्छ । सबैलाई बराबरी सम्मान दिएर बन्छ । आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वासको हैन, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सके मात्र हामी सबै सबल हुनेछौ ।’
उनले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किराँत सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने पनि उल्लेख गरे ।
‘हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानको ज्योतिले प्रदिप्तछ छौँ’ पौडेलले भन,े ‘यो भूमि हाम्रा विभूति महागुरु फाल्गुनन्दको भूमि हो र महागुरु फाल्गुनन्दले आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत संस्कृतिको उत्थान तथा संरक्षणको लागि यही साधना र संघर्ष गर्नु भएको थियो । उहाँको योगदानले हाम्रो समाज र सभ्यतालाई ठूलो योगदान पुगेको छ । उहाँले स्थापना गर्नुभएको ‘सत्य धर्म मुचुल्का’ को नीति र धर्म सन्देशले हामीलाई मार्गदर्शन गरिरहने छ ।’
राष्ट्रपति पौडेलले देशको समृद्धिका मुख्य आधार – कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको बताए ।
उनले भने, ‘त्यसका लागि पहिलो खाँचो सुशासनको छ । म त्यही एजेण्डामा आज पनि उभिएको छु । र, हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी छ । यी नै विषयमा हाम्रो शिक्षा केन्द्रित हुनुपर्छ ।’
नेपालीहरू फोस्रा नारामा बहकिएको उल्लेख गर्दै उनले भने, ‘हामी फोस्रा नारामा बढी बहकियौँ । कुन उचाइ र कुन पाटोमा के उब्जनी हुन्छ ? त्यो ठम्याएर खेती गरौँ । जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गरौँ ।’
सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरूपको शिक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरूपको शिक्षा प्रदान गर्नेतर्फ अबका हाम्रा कदमहरू केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।