२०८१ मा शनिवारबाहेक ३० दिन मात्रै सार्वजनिक बिदा (सूचीसहित) – Nepal Press

२०८१ मा शनिवारबाहेक ३० दिन मात्रै सार्वजनिक बिदा (सूचीसहित)

कूटनीतिक नियोगले बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन गर्नुपर्ने

काठमाडौं । सरकारले आगामी वर्ष शनिवार बाहेक विभिन्न पर्व दिवस तथा जन्म जयन्तीका अवसरमा ३० दिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले २०८१ साल वैशाख एक गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवारबाहेक ३० दिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५३ दिन भने शनिवार बिदा हुनेछ । देशभरका लागि लागू हुने सार्वजनिक बिदा र शनिवार जोड्दा सबै नागरिकका लागि आगामी वर्ष २०८० मा ८३ दिन सार्वजनिक बिदा हुने भएको छ ।

बिदा सूची अनुसार मुलुकभरि सार्वजनिक बिदा हुने पर्वमा नव अर्थात् वैशाख एक गते रहेको छ । उक्त दिन भने शनिवार परेको छ ।

त्यसपछि वैशाख पाँच गते राम नवमी र जेठ १० गते चण्डी पूर्णिमा, बुद्ध जयन्ती, राई, लिम्बु, याक्खा, सुनुवारलगायतका किराँत समुदायको उभौली पर्वको सार्वजनिक बिदा छ । भदौ तीन गते रक्षा बन्धनको, भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको र असोज १७ गते घटस्थापनाको सार्वजनिक बिदा रहेको छ ।

दशैं बिदा र तिहार बिदा पाँच–पाँच दिन

आगामी वर्ष २०८० मा असोज २४ गते फूलपातीदेखि देखि २८ गते द्वादशीसम्म पाँच दिन दशैं बिदा रहेको छ । जसको बिचमा एक दिन शनिवार छ । कात्तिक १५ गते लक्ष्मीपूजादेखि १९ गतेसम्म पाँच दिन तिहार बिदा रहेको छ । जसको पनि बिचमा एक दिन शनिवार परेको छ ।

यस्तै कात्तिक ११ गते छठ पर्व, मंसिर ३० गते धान्य पूर्णिमा अर्थात् किरात समुदायको उधौली पर्व, योमरी पुन्हि (ज्यापु दिवस), पुस १० गते इसाई धर्मावलम्बीको पर्व क्रिमस डे, पुस १५ गते तमु ल्होसार, माघ १ गते माघी पर्व अर्थात् माघे सङ्क्रान्ति, माघ १७ गते सोनाम ल्होसार, फागुन १४ गते महाशिवरात्रि, फागुन १६ गते हिमावली आदिवासी शेर्पाले मनाउने ग्याल्पो ल्होसारको सार्वजनिक बिदा रहेको छ ।

यस्तै इस्लाम धर्मावलम्बीको पर्व इद (इद उल फित्र)को दिन, इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इद उल अजहा), फागुन २९ गते हिमाली र पहाडी जिल्ला लगायतका ५६ जिल्लामा र चैत १ गते तराईका जिल्लामा फागु पूर्णिमाको सार्वजनिक बिदा रहेको छ ।

६ दिन दिवस बिदा र दुई दिन जन्म जयन्ती बिदा

मुलुकभरि सबैलाई हुने सार्वजनिक दिवस बिदामा वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १५ गते गणतन्त्र दिवस, असोज तीन गते संविधान दिवस, माघ १६ गते शहीद दिवस, र फागुन सात गते प्रजातन्त्र दिवस, र फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको बिदा रहेको छ ।

महिला दिवसको दिन संयोगले शनिवार नै परेको छ । यस्तै मुलुकभरि सबैलाई हुन सार्वजनिक जन्म जयन्ती बिदामा जेठ १० गते बुद्ध जयन्ती र पुस २७ गते पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवसको बिदा रहेको छ ।

सम्बन्धित धर्म संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र हुने सार्वजनिक बिदामा भदौ चार गते देशभरका नेवार समुदायका लागि मात्र गाईजात्रा, भदौ १० गते सोमबार गौरा पर्व, सिरुवा पावनीको दिन उक्त पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिराहा र सम्पत्ति जिल्लामा बिदा रहेको छ ।

सम्बन्धित धर्मावलम्बीकै लागि मात्रै कात्तिक २५ गते किराँत धर्मावलम्बीका लागि फाल्गुनन्द जयन्तीको बिदा, नेपाली मुस्लिम धर्मावलम्बीका लागि मोहम्मद जयन्तीका दिन बिदा, नेपाली सिख धर्मावलम्बीका लागि कात्तिक ३० गते गुरु नानक जयन्ती बिदा रहेको छ ।

महिला कर्मचारीका लागि मात्रै हरितालिका अर्थात् तीजको भदौ २१ गते र जितिया पर्व मनाउने महिला कर्मचारीका लागि मात्रै असोज नौ गते जितिया पर्व बिदा रहेको छ ।

वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको दिन माघ २१ गते शिक्षण संस्थाका लागि मात्रै बिदा दिइएको छ । अपाङ्गता भएका कर्मचारीका लागि मात्रै मंसिर १८ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको छ ।

काठमाडौं उपत्यकालाई मात्रै विभिन्न जात्रा बिदा पनि रहेका छन् । जसमा गाईजात्रा भदौ चार गते, इन्द्रजात्रा असोज एक गते, मत्स्येन्द्रनाथको भोटो देखाउने दिनमा उक्त जात्राको बिदा, चैत १६ गते घोडेजात्राको बिदा रहेको छ ।

यस बाहेक राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका बिदामा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस जेठ २१ गते र भदौ २२ गते निजामती सेवा दिवस रहेको छ ।

शनिवारकै दिन सार्वजनिक बिदा पर्दा पाँच दिन वार्षिक बिदामा घटे

वर्षको पहिलो दिन वैशाख एक गते सार्वजनिक बिदा भए पनि उक्त दिन शनिवार नै परेका कारण सार्वजनिक बिदाले एक दिन घटेको छ भने असोज २६ गते पनि दशैको बिचको शनिवार परेका कारण उक्त दिन पनि घटेको छ ।

तिहार बिदाकै बिचमा कात्तिक १७ गते शनिवार परेका कारण उक्त दिनको बिदा पनि घटेको छ भने पुस २७ गते पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवस परे पनि उक्त दिन शनिवार परेका कारण एक दिन घटेको छ ।

यस्तै फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस बिदा भए पनि उक्त दिन शनिवार परेका कारण उक्त दिन पनि घटेको छ ।

विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत ध्यानमा राखेर बढीमा १९ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्ने भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *