पूर्वराजाको चितवन बसाइ : सौराहा घुम्नेदेखि देवघाटमा स्नानसम्म (भिडिओ)
चितवन । तीन दिनअघि चितवन आएका पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार चितवन घुमघाममा व्यस्त भएका छन् ।
श्रीमती कोमल र छोरीहरूसहित चितवन आएका पूर्वराजा शाहको परिवारले आज दिउँसो देवघाटमा स्नान गरेका छन् ।
दिउँसो देवघाट पुगेका उनीहरूले देवघाटस्थित त्रिवेणीमा नौ जना कन्यालाई स्वस्ति वाचन गराएर स्नान गरेका हुन् । पूर्व राजाको परिवारले देवघाटमा केही समय डुङ्गा सयर पनि गरेका थिए ।
राजपरिवारका भ्रमणका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापन गर्ने गरेको भए पनि यस पटक भने उनीहरूले चितवनस्थित राप्रपालाई भ्रमणको औपचारिक तालिका समेत जानकारी गराएको थिएन ।
हिजो मङ्गलवार सौराहामा घुमघाम गरेका थिए । तर, आज देवघाटको स्नान र जलयात्रा भने चितवन क्षेत्र नम्बर ३ का सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले व्यवस्थापन गरेका थिए ।
राप्रपा भरतपुर महानगरपालिकाका नगर सचिव सुलभ सिग्देलका अनुसार आजको कार्यक्रम पाण्डेको संयोजनमा गरिएको हो ।
कोमलको जन्मदिन चितवनमा मनाएर फर्किने योजनासहित पूर्व राजपरिवार चितवन आएको जनाइए पनि चितवन बसाइको कार्यक्रम तालिका सार्वजनिक भने गरिएको छैन । उनीहरू चितवनको पटिहानीस्थित होटेल सोल्टीमा बसेका छन् ।