सुदूरका ‘ब्लड बैंक’ दीपक : १०४ पटक रक्तदान, बचाए कयौँको ज्यान
कैलाली । १८ वर्षको उमेरमा दाजु विनोद उपाध्यायको आग्रहमा पहिलो पटक रक्तदान गरेका दीपकलाई अहिले सुदूरपश्चिमको ‘ब्लड बैंक’ रूपमा चिन्ने गरिन्छ ।
अहिले सम्म उनले १०४ पटक सम्म रक्तदान गरिसकेका छन् । कैलालीको भजनीमा पहिले पटक रक्तदान गरेका दीपकले अहिले सम्म रगत अभावले छटपटाइरहेका कयौँ बिरामीहरूलाई जीवनदान दिएका छन् ।
आफूले रगत दिएर वा रगतको जोहो गरिदिएर जोगिएका बिरामी तथा उनका आफन्तहरू दीपकको घरसम्मै कोसेली बोकेर आउने गरेका छन् ।
धनगढीमा रगतको अभाव बढ्दा दीपकको खोजी झन् बढ्छ । केही वर्ष अहिले भारतका सीमावर्ती क्षेत्रमा उपचारका लागि जाने बिरामीहरू पनि अहिले धनगढीमै रोकिएका छन् यसका कारण पनि यहाँ रगतको माग अझै बढेको छ ।
‘पहिले दैनिक ८/१० पिन्ट रगत चाहिनेमा अहिले दैनिक ४० पिन्ट बढी चाहिन्छ । दैनिक रूपमा १० जनाको हाराहारीमा फोन आउँछ ’ उनी भन्छन् ‘मलाई याद छैन कि मैले रगत दिन वा व्यवस्थापन गर्न नसकेको होस् । ’
उनका अनुसार नेगेटिभ ग्रुप खोज्न केही कठिन हुन्छ तर, पोजेटिभ ग्रुप त्यति कठिन हुँदैन । दीपकका दाइ विनोदले पनि अहिले सम्म ८२ पटक रक्तदान गरिसकेका छन् । उनीहरू दुवै मिलेर कयौँको ज्यान जोगाएका छन् ।
सेती अस्पतालको गाइनो वार्डबाट अल्लि बढी फोन आउँछ उनलाई । त्यस बाहेक अन्य निजी अस्पतालबाट बिरामी, डक्टर र बिरामीका आफन्तहरूले पनि रगतको अभाव हुँदा उनलाई सम्झिन्छन् ।
‘सिकलसेलका बिरामीहरूको लागि रगत चाहिएको भन्नेहरूबाट बढी फोन आउँछ । मैलै दिन मिल्ने भए म दिइहाल्छु ’ उनी भन्छन्, ‘तत्कालीन अवस्थामा कोही सम्पर्कमा नआउँदा आफै रक्तसञ्चार केन्द्रमा पुगेर फाइल पल्टाएर त्यहीबाट फोन गरेर भए पनि कोही न कोहीलाई सम्पर्कमा ल्याउने गरेको छु । ’
अहिले जिल्ला बाहिरबाट र पहाडी क्षेत्रबाट उपचारका लागि धनगढी आउनेहरूलाई रगत अभावले सबै भन्दा बढी समस्या गर्ने गरेको छ । उनीहरू मध्ये अधिकांशसँग रकम अभाव हुने कतिपयलाई रगत कहाँ पाइन्छ भन्ने बारे पनि जानकारी नहुने हुँदा समस्यामा पर्ने गरेको उनी बताउँछन् ।
कैलालीको कैलारी गाउँपालिका,कञ्चनपुरको पुर्नवास नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ ले अहिले आफ्नो पालिका र वडाबाट पुग्ने बिरामीहरूलाई निःशुल्क रगत उपलब्ध गराइदिन भन्दै पत्र दिने गरेका छन् । यसरी प्रदेश सरकारले नै बिरामीलाई सहज गरिदिए रगतको लागि बिरामी भौँतारिनु पर्ने बाध्यताको अन्त्य हुने उनको बुझाइ छ ।
केही समय अघि सिकलसेल बिरामीलाई रगत चाहिएको र त्यो विषयमा आफूलाई धेरैपछि मात्रै थाहा भएको भन्दै उनी भन्छन्, ‘अस्पतालबाट यशोदा ढकालले फोन गर्नु भयो । अन्तिम अवस्थामा रगत नपाएर छटपटाइरहेको जानकारी पाएपछि उनले आफ्नो समय हुन भन्दा एक साता अघि नै गएर रगत दिए । ’
आफूले रगत दिँदा पनि ती बिरामीको ज्यान बचाउन नसकेकोमा दीपकलाई सधैँ ग्लानि भइरहन्छ ।
‘बिरामी बितेको कुरा सुने । त्यो बेला मलाई सारै पिडा भयो । त्यो भन्दा अल्लि अगाडी थाहा पाएको भए बचाउन सकिन्थ्यो कि भन्ने कुराले मलाई अहिले पनि पिरोलिरहन्छ ’ उनले भने ।
धनगढीमा मात्रै होइन उनलाई काठमाडौँ र चितवनबाट पनि रगतको लागि फोन आउँछ । उनी भारत पुगेर पनि रगत दिएका छन् ।
‘विज्ञानले धेरै कुरा बनाउन सक्दा पनि रगत बनाउन सकेको छैन । रगतको विकल्प रगत मात्रै हो’ उनी भन्छन्, ‘रगत जोगाउनु र अरूलाई दिनु नै सबै भन्दा राम्रो कुरा हो ।’
ब्लड बैङ्क नभएको क्षेत्रमा तत्काल सरकारले ब्लड बैङ्क स्थापना गर्नु पर्ने उनी बताउँछन् । सुदूरपश्चिमका ९ जिल्लाको लागि कैलालीको धनगढीमा टिकापुर र कञ्चनपुरको महेन्द्रनगरमा मात्रै ब्लड बैङ्क छ । त्यो निकै कम हुन् ।
सरकारले पर्याप्त ब्लड बैङ्क स्थापना नगर्दा अहिले बिरामीहरूलाई समस्या पर्दा रक्तदाता खोज्नु पर्ने बाध्यता रहेको छ । त्यस कारण दीपकलाई सम्झनेहरू अझै धेरै बढिरहेका छन् ।
उनी धनगढीमा स्थापना भएका विभिन्न समाजहरूले अस्पतालमा आफूहरूको सम्पर्क नम्बर र रगतको ग्रुपबारे जानकारी दिने गरी सूचना टाँस्न आवश्यक रहेको बताउँछन् । कोरोना सङ्क्रमणको बेला पनि रगत अभाव हुन नदिएको भन्दै रगत नपाएर कुनै पनि व्यक्तिले मृत्यु वरण गर्नु पर्ने बाध्यता आउन नदिन सरकार लाग्नु पर्ने दीपकको भनाइ छ ।
‘कोरोना सङ्क्रमणको बेलामा प्रत्येक दिन रगत दियौँ । १९ वटै वडामा पनि नीराजन खड्काको नेतृत्वमा खटियौ । कोरोनाका बेलामा हामीले रगत नपाएर मर्न दिएनौँ अहिलेको सहज स्थितिमा त्यो अवस्था आउनै दिन हुँदैन’ उनले भने ‘यसका सुदूरपश्चिम सरकार लाग्नु पर्छ ।’
त्यस बाहेक उनी आफै रगत खोज्न सहज हुने गरी एउटा प्रविधिको विकास गर्न लागि रहेका छन् । मोबाइल एप्सको माध्यमबाट आफूलाई आवश्यक परेको रगत र उक्त रगतको लागि कसलाई सम्पर्क गर्ने भन्ने विषयमा सहजै जानकारी पाउने गरी प्रविधि तयार गरिरहेका छन् ।
दीपकलाई यो कुरामा एसपीए कलेजका विद्यार्थीहरू र सुभाष शाहीले सहयोग गरिरहेका छन् । उनी वैशाख सम्ममा उक्त एप्स सार्वजनिक गर्ने तयारीमा छन् ।
अहिले पनि रगत दिएपछि कमजोर भइन्छ भन्ने गलत बुझाइ रहेको भन्दै उक्त एप्समा त्यस्ता गलत बुझाइहरूलाई चिर्ने गरी जनचेतना मूलक सन्देशहरू पनि उपलब्ध हुने छन् । त्यसका साथमा रक्तदान गर्दा धन्यवाद सहितको एउटा म्यासेज र तीन महिना पुग्नासाथ अर्को स्मरण म्यासेज पठाउने गरी एप्सको विकास भइरहेको उनी बताउँछन् ।
‘त्यहाँ मेरो बिरामी आएका छन् ।उहाँलाई खुन दिनुस् भन्दै कतिपय अवस्थामा ठुलै जनप्रतिनिधिबाट पनि फोन आउने गरेका छन्’ उनी सम्झन्छन् ‘अझै पनि धेरैलाई रगत कहाँबाट र कसरी पाउने भन्ने विषयमा जानकारी छैन ।’