नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशायी, भीम सार्कीको एक्लो संघर्ष
काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशायी बनेको छ ।नामिबियाको धारिलो बलिङको नेपालका ब्याट्सम्यानहरूले प्रतिरोध गर्न सकिरहेका छैनन् ।
टस जितेको नामिबियाले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नेपालका ओपनर कुशल भुर्तेललाई पहिलो बलमै आउट गरेर नामिबियाले उत्कृष्ट सुरुवात गर्यो । त्यसपछि थप तीन विकेट नेपालले छिट्टै गुमायो ।
उत्कृष्ट फर्ममा रहेका अनिल शाहलाई आज नेपालले तेस्रो नम्बरमा पठाएको थियो । तर, उनी आज चलेनन् । एकै ओभरमा दुईवटा चौका हानेपछि उनी एलबीडब्लु आउट भए । अनिलले ६ बलमा ८ रन मात्र जोड्न सके ।
आसिफ शेखले आज पनि निराश बनाए । उनी ११ बलमा ४ रन बनाएर आउट हुँदा नेपाल १३ रनमा ३ विकेटको स्थितिमा खस्कियो । त्यसपछि कप्तान रोहित पौडेलले पनि कुनै चमत्कार गर्न सकेनन् । १३ बलको सामना गरेका पौडेले एक रन मात्रै जोडेर आउट भए ।
पाँचौं नम्बरमा आएका भीम सार्की क्रिजमा डटिरहेका छन् । उनलाई कुशल मल्लले केही बेर साथ थिए । उनीहरुबीच आशालाग्दो साझेदारी भएको थियो । तर, १९.५ ओभरमा नेपालले ६७ रन बनाउँदा नेपाललाई ठूलो झट्का लाग्यो । कुशल १५ रनमा आउट भए । उनले एक चौका र एक छक्का हानेका थिए । कुशल र भीमबीच ४६ रनको साझेदारी भएको थियो ।
कुशल लगत्तै सोमपाल कामी पनि पेभिलियन फर्किएका छन् । उनले ६ बलको सामना गरेर २ रन मात्र जोड्न सके । अहिले क्रिजमा भीमलाई साथ दिन गुल्शन झा आएका छन् । त्रिवि मैदानमा झाको राम्रो ब्याटिङ रेकर्ड छ ।
अर्को इन्डमा लगातार विकेट खसिरहँदा भीम भने धैर्यतापूर्वक ब्याटिङ गरिरहेका छन् । यो समाचार लेख्दासम्म नेपालले २४ ओभरमा ६ विकेट गुमाउँदै ८३ रन जोडेको छ । भीम ७६ बलमा ४२ रन बनाएर खेलिरहेका छन् । उनले २ चौका र एक छक्का प्रहार गरिसकेका छन् ।