१० जनाको मृत्यु र ३३ यात्रु घाइते हुने गरी भएको बस दुर्घटनाको कारण तीव्र गति – Nepal Press

१० जनाको मृत्यु र ३३ यात्रु घाइते हुने गरी भएको बस दुर्घटनाको कारण तीव्र गति

रुपन्देही । पूर्वपश्चिम राजमार्गस्थित कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही खोलामा बुधबार राति भएको बस दुर्घटनामा १० जनाको मृत्यु भयो भने ३३ जना घाइते भएका छन् । तीव्र गतिका कारण अनियन्त्रित भएर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सुनौलो महाकाली यातायातको सुपप्र ०२-००१ ख ००९८ नम्बरको महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस गएराति १ बजे सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो । राजमार्गमा रहेको सुरही खोलाको पुलको पल्लो छेउबाट गाडी अनियन्त्रित भएर खोलामा खसेको स्थानीयले बताएका छन् । मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । यो दुःखद् घटनामा मृत्यु हुनेमध्ये सातजना कञ्चनपुरका छन् । मुख्य राजमार्गमा भएको यो दुर्घटना चालककै कमजोरीबाट भएको घटनास्थल पुग्ने स्थानीयको दाबी छ । प्रहरीले पनि तीव्र गतिकै कारण क्षति भएको छ ।

‘राजमार्ग हो, अलिकति बाटो त बिग्रेको छ तर चालकले ध्यान दिएको भए गाडी खस्ने ठाउँ देखिदैन’ घटनास्थल पुगेका स्थानीय पत्रकार माधव वेल्वासेले भने ।

दुर्घटनामा महेन्द्रनगर १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भिमदत्त नगरपालिका-१६ कन्चनपुर सन्जु थापा, कञ्चनपुरको भिमदत्त नगरपालिकाका २७ वर्षीया खगेश्वरी खाती, भिमदत्त नगरपालिका-२ का २२ वर्षीय सुदीप भट्ट, पुर्नवास-९ बिसफाटाका अन्दाजी ७० वर्षकी विमलादेवी भट्ट, पुनर्वास-९ बिसफाटा कञ्चनपुरका अन्दाजी ८० वर्षका विशनदत्त भट्टको मृत्यु भएको छ । त्यसैगरी सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगेमा कार्यरत नेपाल आर्मीका ४१ वर्षका अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका ५५ वर्षीय सकिल मुसलमान, रौतहटको औराही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारीको मृत्यु भएको कपिलवस्तु प्रहरी प्रमुख नवरत्न पौडेलले जानकारी दिए ।

दुर्घटनाका घाइते गाडी चालक भिमदत्त-४ का पूर्णबहादुर चन्दको बुटवलमा उपचार भइरहेको छ । त्यसैगरी ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवलदार लोकबहादुर कार्की, कैलालीको बेलडाडी नपा-१ बस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ति सुनारी गापा-२ बस्ने वर्ष २३ को सुशील कुँवरको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ । यस्तै, गुल्मी मालिका गापा–७ बस्ने वर्ष २९ का अर्जुन कार्की, कन्चनपुर भिमदत्त- १८ बस्ने बर्ष २८ का सन्तोष चौधरी, कन्चनपुर महेन्द्रनगर नपा-१८ बस्ने वर्ष ३५ का केशव हमाल, बैतडी मेनौली नपा-१ बस्ने वर्ष २२ का राजेश दयाल, कन्चनपुरको महेन्द्रनगर नगरपालिका-१ बस्ने वर्ष १८ को नितेश सुनारको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको चन्द्रौटास्थित कपिलवस्तुको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उद्धारमा पुगेका सशस्त्र प्रहरी नं २२ गणका एसपी जीवन केसीले सबैतिरको सुरक्षा निकायको समन्वयले छिटो उद्धार गर्न सकिएको बताए ।

‘राजमार्ग भएपनि गाडी खोँचमा खसेको रहेछ, साढे २ घण्टामा उद्धार सकिएको हो, दायाँबाट बायाँ काटेको देखिन्छ, चालक झुक्किएको वा प्राविधिक त्रुटि अनुसन्धानले खुल्ला, तर चन्दौटा, भालुवाङको सशस्त्रको ठूलो टीम, नेपाल प्रहरीको ठूलो टीमले समयमै उद्धार गरेकाले धेरै घाइतेलाई बचाउन सकियो’ उनले भने ।

के भन्छन् घाइते र चालक ?

बुटवलको चौराह अस्पतालमा उपचार गराइरहेकी घाइते महेन्द्रनगरकी नारायणी थापाले कोहलपुरमा खाना खाएर गाडीमा बसेपछि धेरैजसो निदाएको अवस्थामा घटना भएको बताइन् ।

‘धेरैजना निदाएजस्तै भएका थियौं, एकैचोटि गाडी बजारियो, खोलामा पानीमा पुगेपछि बल्ल अलिअलि होस आयो, सँगै भएकी छोरीलाई नदेखेर चिच्चाएँ, धेरै समयपछि सशस्त्र आएर उद्धार भयो’ उनले भनिन् ।

उनका अनुसार पहिले प्रहरी आएर बोल्नसक्नेहरूलाई उद्धार गरेर बाहिर निकालेका थिए । अनकन्टार खोलामा भएकाले पनि समयमा उद्दार नभएको उनको भनाइ छ ।

‘गाडी पहिले बाटोमै ठोक्किएपछि मैले जोडसँग सीट समातेर बसेँ, अन्तिम समयसम्म पनि त्यो जोडले समातेर बसेकाले हातमा बढी लागेको छ अरु क्षति कम भयो, अरु धेरै उछिटिएर कताकता पुगेँ’ उनले भनिन् ।

चालक महेन्द्रनगरका पूर्णबहादुर चन्द पनि घाइते अवस्थामा बुटवलको चौराह अस्पतालमा छन् ।

‘कोहलपुरमा खाना खाएर हिँडेका हौं, बाटो अलिअलि भत्किएजस्तो छ त्यो ठाउँमा, स्पिड कन्ट्रोल गर्न ब्रेक हानेको हो, ब्रेक फेल भएरपछि भित्तामा हाने रोक्न सकिन, अन्तिम समयसम्म प्रयास गरेको हो सकिन’ उनले भने, ‘गाडी खसेपछि एकछिन होस आएन, एकछिनमा सँगै आएका गाडीलाई फोन गरेर प्रहरीलाई उद्दारमा पठाउन आग्रह गरेँ, अफ्ठ्यारो ठाउँ भएकाले समयमा उद्दार हुन सकेन, १२ देखि १ बजेको बीचमा हो खसेको ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर