घोराही सिमेन्ट उद्योगका म्यानेजरलाई कुटपिट गर्ने तीनजना गोग्लीबाट पक्राउ
दाङ । दाङको घोराही ३ गोग्लीस्थित घोराही सिमेन्ट उद्योगका म्यानेजर विष्णु घिमिरेको क्वाटरमा नै प्रवेश गरेर हातपातसहित कुटपिट गरेको आरोपमा दाङ प्रहरीले माओवादी नेतासहित तीन जनालाई पक्राउ गरेको छ ।
परिवारसहित सिमेन्ट उद्योगभित्र क्वाटर लिई बसेका घिमिरेमाथि कुटपिट गरेको जाहेरी परेपछि घोराही गोग्लीकै ४५ वर्षीय वसन्त अधिकारी, ३८ वर्षीय यादव अधिकारी र ४० वर्षीय खिमबहादुर डाँगीलाई बिहीबार पक्राउ गरेर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वसन्त स्थानीय माओवादी नेता हुन ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी जनक मल्लले अनधिकृत क्षेत्रमा प्रवेश गरेर आपराधिक उपद्रो गरेको कसुरमा तीनजनाविरुद्ध अदालतबाट म्याद थप भई घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
सिमेन्ट उद्योगका महाप्रबन्धक नन्दकिशोर सिंहले उनीहरू विरुद्ध प्रहरीमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको विशेष टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।
कुटपिटमा संलग्नहरुले सिमेन्ट उद्योगमा एकलौटीरूपमा कामदार सप्लाई र आफ्ना मात्रै टिप्पर चलाउन पाउनु पर्ने माग राख्दै घिमिरेमाथि कुटपिट गरेको घटना बारे प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी केसीले बताए ।
डिएसपी मल्लले फौजदारी अभियोग भएकाले दाङ जिल्ला अदालतले तीनजना विरुद्ध घटनाबारे थप अनुसन्धान गर्न ५ दिनको समय दिएको र अहिले उनीहरूलाई प्रहरी हिरासतमा राखेर उनीहरूमाथि अनुसन्धान भइरहेको बताए ।
क्वाटरमा परिवारसहित बसेको व्यक्तिमाथि धम्की, डर देखाई दादागिरी शैलीमा हुल हुज्जत गर्नु गैर कानूनी काम भएकाले अनधिकृत क्षेत्रमा प्रवेश गरेमा ६ महिना कैद वा ५ हजार जरिवाना र आपराधिक उपद्रो गरेमा ५ वर्ष कैद वा २० देखि ५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको डीएसपी मल्लले बताए ।
केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सिमेन्ट उद्योग र ती उपद्रो गर्ने व्यक्तिहरू बीच सहमति भए पनि सहमतिको पटक-पटक उलङ्घन गरेकाले कानूनी कारबाही गर्नु परेको प्रहरीको दाबी छ ।
तर, रोजा एण्ड ट्रान्सपोर्टका सञ्चालक गणेशा अधिकारीले आफू महिला उद्यमी भएको र आफ्नो उद्यमलाई हेप्ने काम भएको भन्दै प्रहरीमा उल्टोसुल्टो विवरण सुनाइएको गुनासो गरेकी छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले उद्योग र कर्मचारीको विषयमा कुनै पार्टी विशेषलाई जोड्नु राम्रो नभएको बताएकी छन् ।
‘ठूला उद्योगको गल्ती नदेख्ने साना उद्यमको मात्र गल्ती देख्ने विषयले राम्रो गर्दैन, म पनि महिला उद्यमी हो, अन्यायमा पार्नुहुँदैन, प्रहरी र पत्रकारले यथार्थ विषय ल्याउनुपर्यो । कर्मचारीले गल्ती गरेका कारण समस्या भएको हो’, उनको भनाइ छ ।