कांग्रेसका युवा नेताहरूको माग- महासमिति बैठक कर्मकाण्डीमात्र नहोस्
काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले महासमिति बैठकलाई कर्मकाण्डीमात्र नबनाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
महासमिति बैठकको संघारमा युवा नेताहरूले शुक्रबार बोलाएको वृहत् भेलामा पार्टीका आन्तरिक समस्या, राष्ट्रिय समस्या र जनजीविकाका सवालमा गम्भीर रूपमा बहस गर्नुपर्ने औंल्याएका छन् ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना गरिएको कार्यक्रममा यही फागुन ७ गतेदेखि गोदावरीमा हुने महासमिति बैठकमा उठाउनुपर्ने विषयका साथै एजेन्डाका विषयमा विशेष छलफल भएको छ । युवा नेता भूपेन्द्रजंग शाहीले अब पार्टी पुरानै पाराबाट चल्न नसक्ने बताए ।
‘यो परिणाममुखी र उपलब्धिमूलक हुनुपर्छ । अब पार्टीमा काखा-पाखा हुनु भएन, नेताको नजिक भएको आधारमा होइन कि कामको आधारमा मूल्याङ्कन र क्षमताको आधारमा जिम्मेवारी दिनुपर्छ । निर्वाचन प्रणालीमा परिवर्तन, समान तथा न्यायोचित अवसर, एउटा व्यक्तिमात्रै बाराम्बार सांसद र मन्त्री किन ? पार्टीमा अब सबैलाई उत्तिकै र बराबर अवसर हुनपर्छ’, शाहीले भने ।
उक्त भेलामा युवा नेताहरू देवराज चालिसे, मेदनी सिटौला, ऋषिराम घिमिरे, उज्वल बराल, विनोद बान्तवा, बर्मा लामा, गोमा केसी, तारा कोइराला, नारायण भट्टराई, मैना कार्की, खगेन्द्र मल्ल, रिता शाही, बलबहादुर कुँवर, प्रेमिका राना, विजुल्ला बर्मा, धर्मेन्द्र नेम्वाङ, टेकराज पौडेल, रेखा यादव, विनोद खनाल, देवकी गौतम, मनोहरि श्रेष्ठ , नकुल अर्याल, मोतीलाल भण्डारी, ईश्वर पाठक, सुधांशु कोइरालालगायतको उपस्थिति थियो ।
सहभागीहरूले संसदीय निर्वाचनको २ वर्षअघि महाधिवेशन गर्न माग गरेका छन् । आमचुनावको दुई वर्षअघि नै अनिवार्य महाधिवेशन गर्ने गरी विधानमै व्यवस्था गरिनु पर्ने, महासमितिको बैठकबाट महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने उनीहरूको जोड छ । पार्टी केन्द्रीय सस्यहरू पनि वडा तहबाटै चुनिएर आउनुपर्ने भेलामा जोड दिइएको छ ।
त्यस्तै पञ्चायतदेखि गणतन्त्रसम्म सार्वजनिक पदमा बस्ने उच्च तहका कर्मचारीदेखि नेताको सम्पत्ति छानबिन आयोग गठन, विदेश पलायन, बेरोजागारी, आर्थिक अवस्था, जनताको दुःख पीडाका विषयमा सम्बोधन गर्ने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, दुई-दुई वर्षमा वडा अधिवेशन, जातीय/धार्मिक विवादमा पर्न नहुने, गठबन्धन गर्न नहुने, भ्रातृ संस्थालाई प्रभावकारी बनाउन तत्काल महाधिवेशनजस्ता मजबुत पार्टी संगठन सुधारको लागि पनि जोड दिइएको छ ।