१० दिनभित्र क्रिकेट रंगशाला निर्माण टेण्डर आह्वानको खबर सुनाउन चाहन्छु: मेयर दाहाल – Nepal Press

१० दिनभित्र क्रिकेट रंगशाला निर्माण टेण्डर आह्वानको खबर सुनाउन चाहन्छु: मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका मेयर रेनु दाहालले अबको १० दिनभित्रमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान हुने बताएकी छन् ।

भरतपुर महानगरपालिका- १५ स्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज सुरु भएको एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेटको उद्घाटन गर्दै मेयर दाहालले अन्तिर्राष्ट्रियस्तरको क्रिकेट मैदानसँगै १५ हजार दर्शक क्षमताको प्याराफिट बन्ने गरी टेण्डर आह्वान गर्ने बताइन् ।

‘देशमा रहेको चरम आर्थिक संकटलाई मध्यनजर गर्दै यस रंगशाला निर्माणको कार्य दुई चरणमा सकाउने निर्णय गरेका छौं । पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र १५ हजार दर्शक क्षमताको प्याराफिट बन्ने र त्यसपछि अन्य पूर्वाधार बन्ने गरी अबको १० दिनभित्र टेण्डर आह्वानको सुःखद खबर सुनाउन चाहन्छु’, उनले भनिन् ।

सन् २०२७ मा नेपालमा आयोजना हुने अन्डर १९ विश्वकपका खेलहरु सोही रंगशालामा खेलाउने गरी निर्माण प्रक्रिया अघि बढ्ने मेयर दाहाल सुनाइन् ।

उनले स्थानीयस्तरमा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको बताइन् ।

रंगशालालाई प्रदेशसँगै संघीय सरकारको पनि सहयोग रहने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए ।

‘भरतपुर महानगरपालिकाको नेतृत्वमा अघि बढ्ने यस रंगशालाको निर्माण प्रक्रिया र खरिद प्रक्रियामा प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेकोमा प्रदेश सरकारलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु’, उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्ने गरी निर्णय गरेको संघीय सरकारले समेत रंगशाला निर्माणका लागि नेतृत्वदायी बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

आगामी आर्थिक वर्षका लागि बजेटका सन्दर्भमा प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतसँग रंगशाला निर्माणलाई प्राथमिकतामा राखेर छलफल भएको सदस्य सचिव घिसिङले सुनाए ।

रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले केही दिनअघिमात्रै करिब ५२ करोडको स्रोत सुनिश्चित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *