जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो बालकुमारी घटनाको प्रतिवेदन – Nepal Press

जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो बालकुमारी घटनाको प्रतिवेदन

काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीको गोलीले दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मेहनतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्वयन गरिने बताएका छन् ।

पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अछामको चौरपाटीका वीरेन्द्र शाह र दैलेखको महाबुका सुजन रावतको मृत्यु भएको थियो ।

उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्ने गरी नेपाल सरकार (मन्त्रिपरिषद्)ले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो ।

उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोगले पुस २० गते काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो ।

घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिससहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्यसमेत गरी २९ जनाको बयान गरेर प्रतिवेदन तयार पारिएको मन्त्रालयका प्रवक्ता एवं छानबिन समितिका सदस्य नारायणप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *