संस्कृत विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो मुस्लिम महिला तबस्सुमको संघर्ष कथा – Nepal Press

संस्कृत विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो मुस्लिम महिला तबस्सुमको संघर्ष कथा

रुपन्देही । मुस्लिम परिवारका धेरै महिला अहिले पनि बुर्का खोलेर हिंड्न पाउँदैनन्, उच्च शिक्षामा पहुँच पुर्‍याउन पाएका छैनन् । यस्तोमा बाँकेको नेपालगञ्जकी एक मुस्लिम महिलाले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) पूरा गरेर रेकर्ड बनाएकी छन् ।

नेपाल संस्कृत विश्वविद्यालय हिन्दूहरूको लागि संस्कृत पढ्ने ठाउँ भनेर चिनिन्छ । तर, विश्वविद्यालयमा संस्कृतमात्रै पढाइ हुँदैन भन्ने बलियो प्रमाण पेश गर्न सफल भएकी महिला हुन् नेपालगञ्जकी तबस्सुम सिद्दिकी ।

संस्कृत विश्वविद्यालयमा मुस्लिमले नपढेको र नेपालका मुस्लिमले नै हिन्दू धर्मशास्त्र नपढेको विषय बढी चासोपूर्ण भएकाले आफूले संस्कृत विश्वविद्यालयमा हिन्दू धर्मशास्त्र ‘मनुस्मृति’को पारिवारिक व्यवस्था र नेपाल कानूनमा विद्यावारिधि (पिएचडी) हासिल गरेको तबस्सुम बताउँछिन् ।

‘म विद्यावारिधि पूरा गर्ने नेपालको पहिलो मुस्लिम महिला हुँ, २०७३ मा नेपाल संस्कृत विश्वविद्यालयमा भर्ना भएर २०८० सालमा वास्तुकलामा विद्यावारिधि पूरा गरें’, उनले भनिन् ।

बुबा डा. सलाउद्दीन अख्तर सिद्दिकीले आफू दाङको तुल्सीपुर उच्च अदालतको न्यायाधीश हुँदा तबस्सुमलाई संस्कृत विद्यालयमा भर्ना गराएका थिए । सलाउद्दिन अहिले निवृत्त भइसकेका छन् ।

‘नेपालमा हिन्दू धर्मावलम्बीको बाहुल्य भएकोले हिन्दू वास्तुशास्त्र र इस्लामिक वास्तुकलालाई अध्ययनको विषय बनाएकी हुँ’, उनी भन्छिन्, ‘नेपाली वास्तुकलाको माध्यमबाट इस्लामिक बाहुल्य मुलुकहरूसँग सम्बन्ध सुदृढीकरण र पर्यटन विकास गर्ने प्रशस्त सम्भावना छ ।’

सिद्दिकीको परिवार नै शैक्षिक क्षेत्रमा अगाडि छ । तबस्सुम बुवाले बनाएको इतिहासलाई थप बलियो बनाउन, हिन्दू वास्तुशास्त्रतर्फ हिन्दू वास्तुकला र इस्लामिक वास्तुकलाको तुलनात्मक अध्ययन गरी आफ्नो छुट्टै इतिहास बनाउने उद्देश्यले नेपाल संस्कृत विश्वविद्यालय रोजेको र उपाधि लिन सफल भएको बताउँछिन् ।

सिद्दिकीले विद्यालय तहको अध्ययन गर्न संघर्ष गर्नुपर्‍यो । मुस्लिम परिवारमा छोरीलाई घर बाहिर पढ्न पठाउने प्रचलन नै छैन । तर, उनको भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको अलसेन्ट कलेजमा प्रारम्भिक शिक्षा सुरु भयो । यो क्रिश्चियन कलेज हो । १२ कक्षाको पढाइ भने नेपालगञ्जमै गरिन् ।

त्यसपछि प्राविधिक शिक्षाका लागि उनी पाकिस्तानको लाहोरस्थित विश्व प्रसिद्ध नेशनल कलेज अफ आर्टसमा भर्ना भइन् । त्यहाँबाट आर्किटेक्चर एवं इन्टेरियर डिजाइनसम्बन्धी उच्च शिक्षा हासिल गरिन् । त्यसको लागि तबस्सुमले सांस्कृतिक छात्रवृत्ति पाएकी थिइन् ।

भारतको नैनीतालको क्रिश्चियन आलसेन्ट कलेजमा मा छोरीलाई भर्ना गराएपछि मुस्लिम धर्मगुरुहरूले उका बुवा सलाउद्दिनमाथि औंला उठाए । त्यसले आफूसँगै परिवारलाई मानसिक तनाव भएको उनको भनाइ छ । तर, आफ्नो शिक्षाको लागि बुवाले कुनै वास्ता नगरेको उनी बताउँछिन् ।

जसले गर्दा आफूले नैनीतालमा पढाइलाई निरन्तरता दिन पाएको उनी बताउँछिन् । तर, नैनीतालमा धेरै चिसो हुने र त्यसकारण आफू बिरामी पर्ने भएकाले नेपालगञ्जमै आएर १२ कक्षा पास गरेको उनले बताइन् । १२ कक्षामा उनले विज्ञान संकायतर्फ जीवविज्ञान विषय लिएकी थिइन् । तर, आफूलाई वास्तुकलाले आकर्षण गरेको र सोहीअनुसार उच्च शिक्षाका लागि यो विषय रोजेको तबस्मुमको भनाइ छ ।

सिंगो परिवार नै शिक्षामा अब्बल

तबस्मुमको ७ जनाको परिवार नै शिक्षामा अब्बल छ । उनी परिवारकी जेठी छोरी हुन् । शिक्षा अब्बल भएकैले उनले पाकिस्तान पुगेर उच्च शिक्षा हासिल गरिन् । जेठो भाइ मोहम्मद आसिफ सिद्दिकी मलेलियाबाट इन्जिनियरिङ शिक्षा हासिल गरी अहिले कतारमा काम गरिरहेका छन् । आसिफपछिको भाइ आमीर सिद्दिकी चिकित्सक छन् । बंगलादेशबाट एमबीबीएस र इजिप्टबाट एमडी गरेका आमीर काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्रमा काम गरेर अहिले पपुवा न्युगिनीमा प्यासिफिक अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल डाइरेक्टर छन् । कान्छी बहिनी डा. तरन्नुम सिद्दिकी भारतबाट एमपीटी गरेर बीएनबी अस्पतालमा वरिष्ठ फिजियोथेरापिस्ट छिन् ।

तबस्मुमका बाजे मुंशी अब्दुल गनी जमिनदार र कानून व्यवसायी थिए । मावलीपट्टि पनि सबै वकालत पेशामै रहेको उनले जनाइन् । पढेलेखेको परिवार भएका कारण उनका बुवा, बहिनी, भाइहरू सबैलाई उच्च शिक्षा लिन सहज भएको र सबै भाइबहिनीको शिक्षा नेपाल र विदेशमा भएको उनको भनाइ छ ।

तबस्सुम अहिले मुंशी सिद्दिकी परिवारबाट सञ्चालित द मदर फाउन्डेसन नामक संस्थाकी अध्यक्ष छन् । संस्थाको उद्देश्य नेपालमा समावेशी विकास र प्रजातन्त्रको सुदृढीकरण तथा कला, आर्किटेक्चर एवम् संस्कृतिको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्धको सुदृढीकरण गर्ने रहेको छ । उनले विभिन्न कलेजमा वास्तुकलासम्बन्धी प्राध्यापन गरिरहेकी छन् ।

उनले भविष्यमा नेपाली कलाकृतिको माध्यमबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा सहयोग गर्ने योजना रहेको बताइन् ।

‘यो अभियानको सफलता नेपाल सरकार तथा नेपाली समाजको सहयोगमाथि निर्भर हुन्छ । हेरौं, एउटा मुस्लिम महिलालाई हिन्दू बहुमत समाजले कति महत्व र सहयोग गर्नेछ ?’, उनले भनिन् ।

उनले नेपालमा मुस्लिम आयोग भए पनि त्यसबाट मुस्लिम समुदायले केही पाउन सकेको गुनासो गरिन् । नेपाली मुस्लिम समुदायमा शैक्षिक सुधार गर्न मदरसा शिक्षालाई आधुनिकीकरण गर्नु अनिवार्य रहेको उनको सुझाव छ ।

‘आधुनिकीकरणले मात्रै मदरसा शिक्षालाई राष्ट्रिय प्रवाहमा सक्रिय गराउन सकिन्छ’, तबस्सुम भन्छिन्, ‘यही समुदायको विकासका लागि क्रियाशील हुने मेरो योजना छ ।’

पूर्वसभासद् एवं अन्तरधार्मिक सद्भाव महासंघ नेपालका अध्यक्ष नजिर मियाले मुस्लिम महिलाबाट संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने तबस्सुम पहिलो मुस्लिम महिला भएको बताए ।

उनले नयाँ पुस्ताले सबै विषयमा अध्ययन गर्ने संस्कृतिको विकासले सकारात्मक सन्देश गएको बताए । ‘यस्तो विषयले सबै धर्म र समुदायबीच समभाव विकास गराउँछ’, अध्यक्ष मियाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *