दोलखाका एमाले नेताको आत्महत्या प्रकरण- डिएसपीको ‘टर्चर’बाट विक्षिप्त थिए न्यौपाने
राति १० बजे डिएसपी दीपक खड्काले मदिराको सुरमा फोन गरेर धम्की दिए, बिहान ५ बजे एमाले नेता कपिलमणि न्यौपाने आँपको रुखमा झुन्डिएको अवस्थामा भेटिए
चरिकोट । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी निवासी नेकपा एमाले दोलखाका जिल्ला कमिटी सदस्य कपिलमणि न्यौपाने शनिवार बिहान घर नजिकै मृत फेला परेका छन् । परिवारसँगै घरमा बसेका न्यौपाने बिहान करिब ५ बजेको समयमा घर नजिकै रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीले बताएका छन् ।
परिवारका सदस्यले न्यौपानेले दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले दिएको शारीरिक र मानसिक यातना खप्न नसकेर आत्महत्या गरेको आरोप लगाएका छन् । डिएसपीले उनलाई पटक पटक अनाहकमा थुनेर यातना दिएको आरोप परिवारको छ ।
दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा रहेको सूर्यदय बचत तथा ऋण सहकारी संस्थामा माघ १५ गते राति ३२ लाख ८७ हजार रुपैयाँ सहकारीको भल्टबाटै चोरी भएको भनी संचालकहरुले दाबी गरेका थिए । न्यौपानेको घरमा रहेको सहकारी चोरी भएपछि प्रहरीले घरधनी एमाले नेता न्यौपानेलाई अनुसन्धानको लागि भन्दै गत माघ १७ गते नियन्त्रणमा लिएका थिए ।
सरकारी सेवाबाट समेत अवकाश भइसकेका न्यौपानेलाई घरधनी भएकै आधारमा सहकारी चोरीको केसमा दोलखा प्रहरीले पटक पटक नियन्त्रणमा लिँदै छाड्दै गरेको थियो । प्रहरीले घटनाको विषयमा गहिरो अनुसन्धान नगरी पटक पटक नियन्त्रणमा लिएर यातना दिने गरेको मृतकका भाइ कोशिषमणि न्यौपानेले बताए ।
माघ १७ गते नियन्त्रणमा लिएका न्यौपानेलाई प्रहरीले केहीदिन हिरासतमा राखेर छाडेको र पुन: नियन्त्रणमा लिई फागुन २ गते छाडेको थियो । सहकारी चोरीको घटनामा सञ्चालकहरूलाई सामान्य सोधपुछ समेत नगरी घरधनीलाई पटक पटक नियन्त्रणमा लिने र यातना दिने गरेपछि स्थानीय तथा सहकारीका शेयर सदस्यहरूले प्रहरी प्रशासनको अनुसन्धानको नियतमा प्रश्न उठाएका थिए ।
स्थानीय र सहकारीका सेयर धनीहरूको विरोधपछि न्यौपानेलाई फागुन २ गते प्रहरीले छाडेको थिए । हिरासतबाट मुक्त भएपछि न्यौपाने पवटीस्थि घर गएका थिए । शुक्रवार परिवारसँग रहेका न्यौपानेलाई दोलखा प्रहरी प्रमुख डिएसपी दीपक खड्काले मदिरा सेवन गरी राति करिब १० बजे टेलिफोन गरेको र मानसिक रूपमा टर्चर दिएको परिवारका सदस्यले बताएका छन् ।
मृतकको साथमा रहेको मोबाइल समेत प्रहरीले लगेकाले डिएसपीले आफू जोगिन प्रमाण मेटाउने आशंका परिवारको छ । सहकारी चोरीमा अनुसन्धानको लागि प्रहरीलाई सघाउने बताइरहेका न्यौपानेलाई पटक पटक प्रहरीले जबरजस्ति दोषी ठहराउने प्रयास गरेको र मानसिक रूपमा टर्चर दिएका कारण न्यौपानेको ज्यान गएको आफन्तहरूले बताएका छन् ।
देशभर सहकारी ठगीको घटना बाहिरिइरहेका बेला सो सहकारी समेत चोरी भएको नभई सञ्चालकहरूबाट ठगी भएको हुनसक्ने स्थानीयहरूले आशंका गरेका छन् । ग्रामीण क्षत्रमा रहेको सो सहकारीमा नगद ३२ लाख ७८ हजार रकम भए नभएको समेत यकिन गर्नका लागि प्रहरीलाई स्थानीयहरूले आग्रह गरेका थिए । सहकारीका सञ्चालकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिनुपर्ने शेयर सदस्यहरूले माग गरेका छन् ।
सञ्चालकहरूसँगको मिलेमतोमा घरधनी न्यौपानेलाई फसाउन डिएसपी संलग्न भएको र चोरीको आरोपमा पक्राउपछि निराश बनेका न्यौपानेले बदनामी सहन नसकेर आत्महत्या गरेको स्थानीयको दाबी छ । न्यौपाने हालै सम्पन्न एमाले जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए । उनी सामाजिक अभियन्ता समेत हुन् ।
दोलखाका प्रहरी प्रमुख रहेका डिएसपी दीपक खड्का पटक पटक विभिन्न घटनाहरूमा विवादमा आउने गरेका छन् । दोलखामा जिल्ला प्रहरी प्रमुख रहँदा उनले गरेको अधिकांश घटनाहरूमा विवाद आउने गरेको छ । अनुसन्धानको बहानामा अनावश्यक रूपमा नागरिकलाई हिरासतमा राखी यातना दिने गरेको भन्दै चौतर्फी आलोचना हुने गरेको छ ।
केही समयअघि भरुवा बन्दुक केसमा पक्राउ परेका व्यक्तिहरूलाई चरम यातना दिएको र दबाबमा बयान दिन लगाएको भन्दै मानवअधिकार आयोगमा समेत उजुरी परेको थियो ।
यसैबीच प्रहरीले न्यौपानेको आत्महत्या प्रकरणबारे प्रष्ट बोलेको छैन । अनुसन्धानको लागि न्यौपानेलाई नियन्त्रणमा लिएको र बीचमा केही दिन छाडी पुन: नियन्त्रणमा लिएर फागुन २ गते छाडिएको प्रहरी निरीक्षक जीवन श्रेष्ठले बताए । प्रहरी निरीक्षक श्रेष्ठले घटनाको विषयमा अन्य थप विषय बुझ्न खोज्दा अहिले बताउन नमिल्ने भन्दै फोन काटे ।
न्यौपानेको शव हाल चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको छ ।
घटनाको विषयमा डिएसपी खड्काले वास्तविकता बताउनु पर्ने, कार्यालय समयमा समेत मदिरा सेवन गरी नागरिकहरूलाई आतंकित पार्ने गरेकोले प्रहरी प्रमुखको मापसे परीक्षण गरिनु पर्ने सहकारी चोरी वा घोटला छानबिन गरिनु पर्ने, सञ्चालकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिनु पर्ने भन्दै परिवारहरूले शव पोष्टमार्टम गर्न दिएका छैनन् ।
डिएसपी खड्का यसअघि महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको इन्चार्ज रहेका बेला पनि ड्युटीमा लापरबाही र सेवाग्राहीसँग अनुचित व्यवहार गरेकोमा नसिहत पाएर कारबाहीमा परेका थिए ।
आत्महत्या गर्नुअघि न्यौपानेले सहकारी चोरी प्रकरणमा संलग्नहरुको नाम किटान गर्दै आफूलाई बदनाम गराउनेहरुलाई नछाड्न भाइलाई आग्रह गरेको सुसाइड नोट फेसबुकमा पोष्ट गरेका छन् ।
Neya paunu parxa
प्रहरी सेवा आवश्यक छ तर यो जनमुखी हुन सकिरहेको छैन । शारीरिक डण्ड, डर धम्की दिएर सावित बनाएर जेल पठाएका घटना धेरै छन् । आफै चोरेर पक्डेको नाटक गरेको पनि देखिएको छ । माथि एक प्रहरीको करतुत र एक इमान्दार व्यक्तिको अवसान देखाइएको छ । यस्ता चरित्रहीन र हिंस्रक व्यक्ति प्रहरी सेवामा धेरै छन् । जनपथ, सशस्त्र र अनुसन्धान भनी जथाभावी प्रहरी नियुक्त गरेर एकातिर राज्यको कोष खाली गराइएको छ भने अर्कोतिर जताततै पुलिसराज चलाएर राज्य आतङ्क मच्चाइएको छ । प्रहरी सेवालाई ठिक्क आकार बनाउन rightsizing गर्न जरुरी छ । एउटा मात्र प्रहरी विभाग हुनुपर्छ ।उनीहरुको क्रियाकलापको पनि छानबिन गर्ने अर्को निकाय हुनुपर्छ ।