राम धुनीमा महन्त र मन्दिर व्यवस्थापन समितिबीच विवाद : ३ सय वर्षदेखि निरन्तर हुँदै आएको पूजा रोकियो
विराटनगर । तीन सय वर्ष अगाडिदेखि निरन्तर पूजा आराधन हुँदै आएको भनेर विश्वास गरिने सुनसरीको राम धुनी मन्दिरमा चरम विवाद उत्पन्न भएको छ ।
मन्दिर गुठी व्यवस्थापन समिति र मन्दिरका महन्तबिचको विवादले पूजा आराधनामा समेत अवरोध उत्पन्न भएको छ । राम धुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समिति र बाबा बनखण्डी उदासीन आश्रमका बिचमा भएको विवादका कारण फागुन १ गते देखि ३ दिन सम्म पूजा आराधन हुन नसकेको हो ।
विवाह पञ्चमीका दिन मन्दिरमा ताला लगाएपछि तीन दिन दैनिक पूजापाठ रोकिएको मठाधीश कालिदास उदासीले बताए । मन्दिरको पूजा आराधना नै रोकिएपछि प्रहरी र स्थानीय तहले समन्वय गरेर मन्दिरमा लगाएको ताला खोलिएको छ ।
मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले मन्दिरमा ताला लगाएपछि पूजा रोकिएको मन्दिरका पुजारी महन्त कालीदास उदासीले बताए।
उनले भने- कार्कीले मन्दिरमा ताला लगाइदिनु भयो, उदासीले भने ताला लगाएपछि पूजा समेत हुन सकेन ।
गुठीबाट मन्दिर सञ्चालन हुने स्पष्ट कानुनी व्यवस्था हुँदा हुँदै पनि गैर कानुनी रूपमा गठन भएको मन्दिर व्यवस्थापन समितिको नाममा हुल हुज्जत गर्ने गरेको महन्त उदासीले बताए ।
कार्कीले धम्काउने, मन्दिरका लागी आवश्यक दूध, धुनी बाल्ने दाउरा लगायतका सामाग्री नदिने काम भइरहेको आरोप लगाए ।
यस अघि पनि मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिरमा आएका साधु सन्त अतिथि, र भक्तजनहरूको लागि आवश्यक दूध नदिएको भन्दै भूमि सुधार तथा मालपोत कार्यालय सुनसरीले दूध दिन निर्देशन दिएको थियो ।
उदासीले मन्दिरको पूजाआजा र रेखदेख २०२५ सालदेखि गर्दै आएका छन् । उनलाई २०८० साल वैशाख ३१ गते भूमि सुधार तथा मालपोत कार्यालयले महन्तको रूपमा नियुक्ति गरेको छ ।
गुठी संस्थानको धार्मिक तथा संस्कृती व्यवस्थापन शाखाको पत्र अनुसार उनलाई नियुक्ति गरिएको नियुक्ति पत्रमा देखिन्छ ।
उनलाई महन्त नियुक्त गरिएसँगै विभिन्न १२ वटा अधिकार समेत दिइएको छ । उनलाई मन्दिरको नियमित पूजाआजा गर्ने, लिखत परम्परा र रित्ती थिति अनुसार मेला पर्व जात्रा आदी चलाउने, मठको सम्पत्तिको संरक्षण गर्ने लगायतका अधिकार सहित कार्य सम्पादन कबुलियतनामा गरिएको छ ।
गुठी अन्तरगत महन्तलाई मठको भेटीको लेखापरीक्षण गराई संस्थानमा पेस गर्ने सम्मको अधिकार उदासीलाई दिइएको छ ।
संस्थानले दिएको अधिकार अनुसार काम गर्दा गुठी व्यवस्थापनका नाममा दर्ता भएको गैर सरकारी संस्थाले आफूलाई पूजाआजा गर्नबाट वञ्चित गराएको उदासीले बताए ।
मन्दिरको आम्दानीमा आँखा
स्थानीय डिल्ली कार्कीको अध्यक्षतामा राम धुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समिति असोज १५ २०७२ सालमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा मा दर्ता भएको देखिन्छ ।
जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गराएपछि कार्कीले गुठी संस्थानमा समेत ७२ मङ्सिरमा संस्था दर्ता गरेका छन् । राजनीति दलका कार्यकर्ता समेत रहेका कार्की यस अघि रामु धुनी मन्दिरसँगै रहेको राम धुनी संरक्षित बनका अध्यक्ष समेत थिए ।
उनी बनखण्डी गुठी व्यवस्थापन समितिको अध्यक्ष भएर आएपछि केही वर्ष मन्दिरका महन्तसँगको सहकार्यमा मन्दिरमा भौतिक पूर्वाधारका काम समेत भएको छ ।
आफ्नो विधानमा आफैले मन्दिरको संरक्षण, आर्थिक सङ्कलन र व्यवस्थापनको अधिकार राखेका कार्कीले मन्दिरका आम्दानी खोज्न थालेपछि भने महन्तसँगको विवाद सुरु भएको स्थानीय बताउँछन् ।
कोशी प्रदेशकै प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको राम धुनीमा राम नवमी, कार्त्तिकको ठुली एकादशी, बालाचतुरदर्शी लगायतका अवसरमा मेला लाग्ने गर्छ ।
यहाँ नेपालबाट मात्रै नभई भारत र भुटानबाट समेत भक्तजनहरू आउने गरेका छन् । यो मन्दिरसँग त्रेता युगका रामसँग जोडिएका किंवदन्तीहरू सुन्न पाइन्छ ।
यही किंवदन्तीका आधारमा तीर्थालुहरु आउने गरेका छन् । उनीहरूले चढाएको भेटी र दानका विषयमा विवाद भएको हो । मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कार्कीले महन्तले मन्दिरको हर हिसाब नदेखाएको बताए ।
उनले मन्दिरमा राखिएको दान पेटिकामा पैसा उठाएर आफूखुसी चलाएको, भेटीको हिसाब नदेखाएको समेत बताए ।
महन्त उदासीले भने आफूले मन्दिरको भेटीबाटै पूजा सामाग्री खरिद गरेको बताए।
उनले कार्कीले मठ क्षेत्रको धार्मिक बनबाट विभिन्न प्रजातिका रुख काटेको समेत आरोप लगाए । उनले गौशालामा रहेका गाई गोरुहरू बेचेको भन्दै कार्कीलाई कारबाईको माग राखे ।
मन्दिर परिसरमा रहेको रुख काटेको भन्दै यस अघि कार्की विरुद्ध अदालतमा मुद्दा समेत परेको थियो । मुद्दाको विषयमा सुनुवाइ गर्दै कार्कीलाई ४० हजार धरौटी समेत माग गरेको थियो ।
राम धुनीको धुनी त्रेता युगमा भगवान् रामले जगाएका विश्वास गरिन्छ । यसै जनविश्वासमा यस स्थानलाई राम धुनी भनिन्छ ।
राम धुनीको पुनर्कायाकल्प गर्ने श्रेय वनखण्डीबाबालाई दिइन्छ । उनले वि.सं. १७६० मा योग साधनाबाट पुन रामले बालेको धुनी अर्थात् आगो जगाएको विवरण पाइन्छ । १७६० देखि राम धुनीमा बालेको आगो ननिभेको विश्वास रहँदै आएको छ ।