पूर्वराजा र राजावादीको बढ्दो सक्रियता- के गणतन्त्रमा खतरा मडारिँदै छ ? – Nepal Press

पूर्वराजा र राजावादीको बढ्दो सक्रियता- के गणतन्त्रमा खतरा मडारिँदै छ ?

काठमाडौं । संयोग मान्नुपर्छ, राजतन्त्रको अन्त्य गर्न बन्दुक उठाएका नेकपा माओवादीको केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सक्रियता बढाएका छन् ।

निरंकुश राजतन्त्रको अन्त्यसँगै अहिलेको व्यवस्था ल्याउनका लागि जनयुद्धले निर्णायक भूमिका खेलेको दाबी गर्ने प्रचण्डले सत्ताको नेतृत्व गरिरहेको बेलामा पूर्वराजा शाहले बढाएको सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । जसकारण अहिले प्रचण्ड दबाबमा छन् । पूर्वराजा ज्ञानेन्द्रको पक्षमा बढ्दो क्रेज देखिएपछि प्रचण्डले मंसिर पहिलो साता १२ बुँदे पक्षधरको बैठक राखेर एकै ठाउँमा रहेको सन्देश दिए ।

तर, पूर्वराजा शाहको आफ्नै सक्रियता र त्यसमा व्यवस्था उल्ट्याउने भन्दै राप्रपा, दुर्गा प्रसाईंसहित राजावादी शक्तिहरूको गतिविधिपछि गणतन्त्रवादीहरूलाई चस्का परेको छ । जुन स्वभाविक हो । अहिले जनतामा राजनीतिक दलप्रति विश्वास गुम्दै गइरहेको बेलामा पूर्वराजाको पक्षमा माहोल देखिन थालेको छ ।

देशभर विभिन्न कार्यक्रममा हिँडे पनि पूर्वाराजा शाह सार्वजनिक कार्यक्रममा खासै बोल्दैनन् । बेलाबेलामा वक्तव्य दिँदै देशप्रति चिन्ता देखाउँछन् । तर, दुई साताअघि वीरगन्ज पुगेर नारायणहिटी दरबार हत्याकाण्डको प्रसङ्ग कोट्याए । जुन गणतन्त्रवादीहरूका लागि अनपेक्षित थियो ।

उनको भनाइ थियो, ‘…हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ, असत्यको विजयी कहिल्यै हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिइरहेको छौँ । यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो ।’

पूर्वराजाको बढ्दो देश दौडाहा मन नपराएका राजनीतिक दलहरूमा उनको यो अभिव्यक्तिले ठूलै तरंग पैदा गर्‍यो । त्यसपछि पछिल्लो उदाहरण हो प्रचण्डको गत सोमबारेको अभिव्यक्तिले संकेत गर्छ ।

ज्ञानेन्द्रले बोल्न नहुने कुरा बोलेको भन्दै असन्तुष्टि जनाउँदै ०५८ जेठ १९ गते राति नारायणहिटीमा भएको तत्कालीन राजा वीरेन्द्रको वंश नाशको छानबिन गर्ने घोषणा गरे । तर, प्रचण्डको यो घोषणा पहिलो भने होइन ।

ज्ञानेन्द्रको अभिव्यक्तिको दुई दिनपछि बारा पुगेका प्रचण्डले भनेका थिए, ‘पूर्वराजाले बोल्नै नहुने कुरा बोलेका छन् । दरबार हत्याकाण्डबारे फेरि एकचोटी छानबिनतिर सरकार अगाडि बढ्दैछ ।’

आफूहरूले लडेर ल्याएको व्यवस्थाविरुद्ध प्रश्न उठाउने प्रश्न गरेको भन्दै प्रचण्डले सबैलाई एकजुट हुन आह्वान गर्दै आइरहेका छन् । प्रचण्ड मात्रै होइन पूर्वराजाप्रति धेरै आक्रोशित हुनेमध्येमा एमाले अध्यक्ष केपी ओली पनि पर्छन् । पूर्वराजाको त्यो अभिव्यक्तिबाट झस्किएका शीर्ष नेताहरूको पछिल्लो अभिव्यक्ति हेरौँ ।

केपी ओली- ज्ञानेन्द्र शाह भनेको राजा होइन । बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन् । अब यस्ता कुरामा के बहस गरिरहने बेकार । पार्टी खोल्ने सुर होला । आधार बनाउन खोजेको होला, त्यसको लागि कोसिस गरेको होला ।

शेरबहादुर देउवा- कसैले चाहँदैमा अब राजतन्त्र फर्किँदैन । सार्वभौम संविधान सभाको निर्णयले गणतन्त्रको स्थापना गरिसकेको छ । संविधान सभाले गरेकाले अब राजतन्त्र फर्किँदैन, सबै मिलेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र मजबुत बनाउन पर्छ ।

माधव नेपाल- अब मुलुकमा राजतन्त्र फर्किने सम्भावना छैन । केही मान्छेले खुट्टा उचालिरहेका मात्रै हुन्, राजतन्त्र इतिहास भइसकेको छ अब त्यो फर्केर आउन सम्भव छैन । एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन, फेरी दास बनाउने गरी कोही आउन थालेको छ भने त्यो स्वीकार्य हुँदैन ।

यो शीर्ष नेताहरूको पछिल्लो अभिव्यक्ति हो । तर, यो अभिव्यक्ति आफ्नो असफलताको हताश मनस्थितिको उपज भएको टिप्पणी गर्छन् राप्रपा प्रवक्ता मोहन श्रेष्ठ ।

उनी भन्छन्, ‘राजनीतिक दलको नेताहरूको अभिव्यक्तिलाई आफ्नो असफलताको हताश मनस्थितिको उपजको हो । आफ्नो असफलता र अकर्मण्यता ढाकछोप गर्नको लागि जनताले विकास सुशासन र सेवा प्रवाह सही ढंगबाट हुन नसकिरहेको दोष राजा अथवा राजसंस्थावादी शक्तिलाई दिएर उम्कन पाउँदैनन् ।’

ज्ञानेन्द्रले सक्रियता बढाउँदै गर्दा राजसंस्थाको लिगेशी बोकेको राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नवराजावादी दुर्गा प्रसाईँलगायतको बाटो अलग छ । तर, पछिल्लो समय राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि नजिकिन प्रयासरत छन् भने पूर्वराजा ज्ञानेन्द्र सबैलाई बेग्लाबेग्लै भेटेर नाडी छाम्दैछन् ।

अहिले विभाजित जस्तो देखिएपछि कुनै न कुनै बिन्दुमा राजावादीहरू एकै ठाउँमा आउने प्रवक्ता श्रेष्ठले दाबी गरे । उनले थपे, ‘आन्दोलन गति अगाडि बढ्दै गएपछि राजावादी शक्तिहरू पनि एकै ठाउँमा आउँछन् । हिजो कांग्रेस, एमाले, माओवादीहरूले बेग्लाबेग्लै आन्दोलन गरे पनि पछि ७ दलको रूपमा विकास भयो त्यसै गरी राजवादीहरू पनि सहकार्य र मोर्चा गर्ने बिन्दुमा पुग्छ ।’

पछिल्लो समय राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापा, नवराजावादी दुर्गा प्रसाईँलाई बेग्लाबेग्लै भेटेर सहकार्यबारे छलफल अघि बढाइसकेका छन्।

‘राज्य विप्लवको मुद्दा पनि चल्न सक्छ’

राजनीतिक विश्लेषक हरि रोक्का पूर्वराजाले सक्रिय नै हुन नपाउने भन्ने नभएको तर्क गर्छन् ।

उनी भन्छन्, ‘उहाँले अब फेरि राजा हुनको लागि सक्रियता देखाउनुभएको हो की पोलिटिक्स गर्नलाई भन्ने कुरामा भर पर्छ । उहाँले स्वतन्त्र ढंगले पार्टी खोल्न पनि पाउनुहुन्छ, निर्वाचन लड्न पनि पाउनुहुन्छ त्यही अनुसार वातावरण तयार गर्न पाउने उहाँको अधिकारकै कुरा हो । तर, राजा नै हुन उहाँले फेरि सक्रियता बढाउनुभएको भए राज्य विप्लवको मुद्दा पनि चल्न सक्छ ।’

विश्लेषक रोक्का अनुसार पूर्वराजा ज्ञानेन्द्रले राजनीति गर्नको लागि विकल्प खोजेको हुनसक्छ ।

उनले थपे, ‘पहिलो राजाको छोरा भएर राज सिंहासनको कुरा गर्नुभएको थियो गणतन्त्र आइसकेपछि अब उहाँ राजा रहनुभएन । राजा नरहेपछि अब प्रजातन्त्रमा उहाँले सामान्य नागरिकको हिसाबले प्राप्त अधिकार प्रयोग गर्नुभएको छ । विकल्पमा अब राजा नहुने भन्ने भएपछि पार्टी खोलेर राजनीतिमा आउन सक्नुहुन्छ । त्यो अभ्यास कम्बोडियाका तत्कालीन राजा नरोद्दम सिंहानुक गर्नुभएको थियो ।’

के भन्छन् गणतन्त्रवादी नेता ?

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी लोकतन्त्रमा सबैको आफ्नो भूमिका खोज्न पाउने बताउँछन् ।

उनी भन्छन्, ‘पूर्वराजाको सक्रियता देश भ्रमणजस्तो देखिन्छ ठाउँ ठाउँमा भ्रमण गरिराख्नुभएको छ । जनताको बिचमा जाँदा जनताले पनि स्वागत गरेको देखिन्छ त्यो उहाँको व्यक्तिगत स्वतन्त्रताभित्रको कुरा हो । लोकतन्त्र भनेकै जनमतको सम्मान हो जनताको भावनाको कदर गर्नु हो जनताले चाहेको कुरालाई स्थापित गर्न पनि सक्छन् ।’

जनताले चाहेमा जुनसुकै निर्णय हुनसक्ने र स्वीकार्य हुने उनको भनाइ छ । उनको भनाइमा नेकपा एसका सचिव जीवनराम श्रेष्ठ सहमति छैनन् ।

उनी भन्छन्, ‘पूर्वराजाको सक्रियता नै असंवैधानिक काम हो । संविधान विरोधी क्रियाकलाप भइरहेको छ । उहाँलाई फेरि सत्ता सञ्चालन गर्ने इच्छा भए नेपालको संविधान अनुसार आउन बाटो खुला छ । स्वतन्त्र उठे पनि हुन्छ पार्टी बनाएर आए पनि भयो । त्यो प्रक्रियाबाट प्रधानमन्त्री बन्न सक्नुहुन्छ ।’

पूर्वराजाको कार्यक्रममा आउनेहरु राजवंश नाश गर्ने मान्छे कस्तो रहेछ भनेर हेर्न आएको टिप्पणी गरे ।

‘पहिले दल खराब भयो म गर्छु भन्दै निरंकुशता लाद्ने मान्छे हेर्न आएका हुन् । आफूले शासन गरेर दरबारभित्र तलवभत्ता बढाउने, जग्गा हडप्ने काम गरेका छन् । परिवारभित्रै पनि हत्या हिंसा गरेर राजा बनेको मान्छे हेर्न आएकाहरू पनि छन् । आफू लोकप्रिय भएर संवैधानिक बाटोबाट आउन सकिन्छ’ सचिव श्रेष्ठले भने ।

पूर्वराजाले धार्मिक र व्यक्तिगत काममा हिँड्नु स्वभाविक भएको माओवादी केन्द्रका सचिव गणेश शाहले बताए ।

उनले भने, ‘पछिल्लो समय जस्तो अभिव्यक्ति दिँदै हिँड्न थाल्नुभएको छ त्यो गम्भीरतापूर्वक र आपत्तिजनक छ । पूर्वउत्थानवादी र लोकतन्त्रवादीको बीचमा नयाँ कन्फेक्स जन्माउन सक्छ पनि । यसको विरोधमा २०६२÷६३ को जनआन्दोलन र त्यसपछिको समझदारीको समीक्षा गर्नुपर्छ भन्ने प्रारम्भिक रूपमा कुरा भएको थियो । तर, अहिले पार्टीमा छलफल भएको छैन ।’

उनले पूर्वराजाको गतिविधिलाई गम्भीर रूपमा लिएको बताए । सचिव शाहले थपे, ‘उहाँहरूले जसरी लागे पनि हामीले ल्याएको व्यवस्थाको विकल्प अरू छैन । अब राजतन्त्र फर्किने सम्भावना छैन ।’

उनी मात्रै होइन एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि राजतन्त्र ब्युँतिन्छ भन्ने मिथ्या बाँडेर जुन शक्तिले पूर्वराजालाई अगाडि ल्याउँछ खोन्दैछन् त्यो सम्भव नभएको तर्क गरे ।

उनले भने, ‘देश पछाडि फर्किँदैन अगाडि बढ्ने हो । लोकतन्त्रको विकल्प लोकतन्त्र, गणतन्त्रको विकल्प गणतन्त्र नै हो । त्यसको विकल्प राजतन्त्र हुन सक्दैन । अहिलेको संविधानमा राजा छैन । उहाँले सक्रियता बढाउनुभएको भए पहिलो राजनीतिक दल खोल्नुपर्‍यो संविधान अनुसार । त्यसपछि मात्रै जनताको बहुमत ल्याएर सत्ता चलाउन जानुपर्‍यो ।’

हरेक क्रान्तिपछि प्रतिक्रान्तिका सम्भावनाहरू हुने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनपछि राजनीतिक दलहरूले कमीकमजोरीलाई सुधार गरेर अगाडि बढ्नुपर्ने बताए ।

नेता गौतमले थपे, ‘राजासहितको परिकल्पना गर्ने दलविशेषका पनि केही व्यक्तिहरूको प्रयास छ । यो प्रयासको औचित्य छैन । राजतन्त्र सामन्तवादको नाइके हो त्यो एकपटक पराजित भइसकेपछि फेरि राजतन्त्रको पुनरागमन असम्भव हो ।’

‘अब राजसंस्थाको विकल्प छैन’

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ जनता उकुसमुकुस भएको अवस्थामा भरपर्दो विकल्प राजसंस्था नै भएको दाबी गरे । जनताले समीक्षा गर्दै हरेक दश वर्षमा जनताले विकल्प खोजेको इतिहास रहेको उनको बुझाइ छ ।

त्यसबारे उनको भनाइ:

२०६२/६३ पछि देशले तय गरेको मार्गचित्रलाई समीक्षा गर्ने बेला भइसकेको छ । नेपालको इतिहासमा हरेक दश दश वर्षमा ठूला परिवर्तन भइरहेका छन् । ००७ सालपछि ०१७ मा अर्को परिवर्तन भयो । त्यसपछि ०२८ मा राजा महेन्द्रको देहान्त भयो त्यसपछि ०३६ सालमा त्यसको समीक्षा गर्‍यो । त्यसपछि जनमत संग्रहमा देश गयो, ०४८ मा जनआन्दोलन भयो । त्यसपछि ०५२ सालमै माओवादीले हिंसात्मक विद्रोह थालेपछि ६२ सालमा जनताले विकल्प खोजे । ०७२ सालमा नयाँ संविधान बन्यो यसरी हेर्दा हरेक दश वर्षमा जनताले समीक्षा गरेको इतिहास छ ।

गणतन्त्र घोषणा भएको १५ वर्ष र संविधान घोषणा भएको एक दशक पूरा हुन लाग्दै गर्दा जनताले विकल्प खोज्न थालेका छन् । १५ वर्षसम्म जनताको आकांक्षा पूरा हुन सकेको छैन । राजनीति नेतृत्व र नीतिकै असफलताको कारणले देश अप्ठ्यारो स्थितिमा छ । यही निरन्तरता अब देशले धान्न सक्दैन । नेतृत्व र प्रणाली नै असफल भएको निष्कर्षसहित हरेक जनता उकुसमुकुस भएको अवस्थामा भरपर्दो विकल्प राजसंस्था नै हो भन्ने जनताको ठम्याइ छ ।

स्वभाविक रूपमा राजाले पनि आफ्नो गतिविधि बढाइराख्नुभएको छ । राप्रपासहित राजावादी संघ संस्थाहरूले पनि आफ्नो गतिविधि अगाडि बढाइरहेका छन् । स्वभाविक रूपमा यो नेतृत्व र प्रणाली नै असफल भएपछि विकल्प दिने शक्ति अगाडि आउँछन् । हिजो २०५२ सालमा माओवादीले आफूलाई एउटा विकल्पसहित प्रस्तुत गरेर ६२ मा अगाडि आएको हो ।

आन्दोलन गति अगाडि बढ्दै गएपछि राजावादी शक्तिहरू पनि एकै ठाउँमा आउँछन् । हिजो कांग्रेस, एमाले, माओवादीहरूले बेग्लाबेग्लै आन्दोलन गरे पनि पछि ७ दलको रूपमा विकास भयो त्यसै गरी राजवादीहरू पनि सहकार्य र मोर्चा गर्ने बिन्दुमा पुग्छ ।

राजनीतिक दलको नेताहरूको अभिव्यक्तिलाई आफ्नो असफलताको हतार मनस्थितिको उपजको रूपमा लिन सकिन्छ । आफ्नो असफलता र अकर्मण्यता ढाकछोप गर्नको लागि जनताले विकास सुशासन र सेवा प्रवाह सही ढंगबाट हुन नसकिरहेको दोष राजा अथवा राजसंस्थावादी शक्तिलाई दिएर उम्कन पाउँदैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर