सुनकोशी गाउँपालिकाको स्थायी केन्द्र विवाद : चार दिन पछि तालाबन्दी खुल्यो – Nepal Press

सुनकोशी गाउँपालिकाको स्थायी केन्द्र विवाद : चार दिन पछि तालाबन्दी खुल्यो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको स्थायी केन्द्र सुनकोशी–५ सुनखानीमा नै बनाउनु पर्ने माग राख्दै स्थानीय संघर्ष समितिले गाउँपालिकामा लगाएको ताला चार दिनपछि खुलेको छ ।

स्थानीय सरकार र संघर्ष समितिबीच हिजो भएको वार्तामा २ बुँदे सहमति भएसँगै चाला खुलेको हो ।

वार्तामा माघ २९ गते सम्पन्न कार्यपालिकाको बैठकले गाउँपालिकाको केन्द्र सुनकोशी–३ कालिकाको देविडाँडामा बनाउने गरेको निर्णय तीन महिनासम्म गाउँभामा पेश नगर्ने दुई पक्षबीच सहमति भएको छ । सहमतिसँगै आन्दोलनमा रहेका स्थानीय संघर्ष समितिले ताला खोलेको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

स्थानीयहरू फागुन १ गतेदेखि गाउँपालिकामा तालाबन्दी गरेर निरन्तर आन्दोलन गरिरहेका थिए ।

आफूहरूका माग सम्बोधन गर्न गाउँपालिका तयार भएपछि आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरिएको संर्घष समितिका संयोजक छिरिङ लामाले जानकारी दिए । गाउँपालिकामा लगाएको तालाबन्दी खुलेसँगै आइतबारदेखि सबै काम नियमित रूपमा हुने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

केन्द्र अझै अनिश्चित

सिन्धुपाल्चोकको १२ स्थानीय सरकार मध्ये प्रायः सबैले आफ्नो पालिकाको केन्द्र तोकेर प्रशासनिक भवन समेत निर्माण गरिसकेका छन् । १२ मध्ये नौ पालिकाले आफ्नै सुविधा सम्पन्न भवनबाट स्थानीयलाई सेवा दिन सुरु गरे पनि सुनकोशी गाउँपालिकाले भने अहिलेसम्म गाउँपालिकाको केन्द्र नै तोक्न सकेको छैन ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले सुनकोशी–३ को सियाँलेमा केन्द्र तोकेर भवन समेत त्यही निर्माण गर्ने निर्णय गरे पनि जग्गा अभावमा भवन निर्माण सुरु नगरी नै पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरू बिदा भएका थिए ।

स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आएपछि केन्द्र तोकेर प्रशासनिक भवन निर्माणको सुरुवातको प्रक्रिया सुरु गरे पनि स्थानीयले आफूहरूको भूगोल नै गाउँपालिकाको सेन्टर भएकाले यही नै भवन बनाउन माग गर्दे आन्दोलन गरेपछि प्रशासनिक भवन निर्माण कार्य अन्योल भएको छ ।

गाउँपालिकाले प्रशासनिक भवनका लागि निःशुल्क जग्गा दिन सबै वडावासीमा अनुरोध गर्दै सूचना प्रकाशित गरेपछि वडा नम्बर ३,४ ,५ र ७ बाट मापदण्ड अनुसार ६ रोपनी जग्गा गाउँपालिकालाई दिन सहमति गरेर स्थानीयले जग्गा उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए ।

आएका जग्गा मध्ये उपयुक्त स्थानमा भवन निर्माणका लागि कार्यपालिकामा पेश हुँदा बहुमत सदस्यहरूले सुनकोशी–३ मा सहमति गरेको गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

बहुमत सदस्यहरूले निर्णय गरेपछि हामी त्यही निर्णय गाउँसभामा लगेर यही वर्ष भवन बनाउने प्रक्रिया सुरु गर्ने योजनामा थियौ तर स्थानीयले आफूहरूको ठाउँमा नै भवन बनाउन माग गर्दै आन्दोलन गरेपछि प्रशासनिक भवन बनाउन समस्या भएको अध्यक्ष तिमिल्सिनाले बताए ।

‘हामीले चुनावको पहिलो एजेण्डा नै भवन निर्माण गर्ने भन्ने थियो, तर बहुमतबाट अन्यत्र नै भवन निर्माण गर्ने निर्णय भयो,बहुमतको निर्णय एक पक्षले स्वीकार नगर्दा समस्या भयो’, तिमिल्सिनाले भने ।

स्थानीय संघर्ष समितिसँग कार्यपालिकाले गरेको निर्णय तीन महिनासम्म गाउँ सभामा पेश नगर्ने निर्णय भएको छ, तीन महिनापछि गाउँ सभाले जे निर्णय गर्छ त्यही अनुसार हामी अगाडि बढ्छौँ’, तिमिल्सिनाले भने ।

कार्यपालिकाबाट निर्णय भएपछि गाउँसभाको दुई तिहाइ मतबाट पालिका केन्द्र निर्धारण हुने र त्यो निर्णय प्रदेश र केन्द्र सरकारबाट स्वीकृत भएपछि मात्रै भवन निर्माण प्रक्रिया सुरु हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।

‘पाँच वर्षसम्म भवन निर्माण हुन सकेन, अहिले हामीले सुरुवात गर्न प्रक्रिया अगाडि बढाएका थियौ, अहिले पनि समस्या सुरु भयो’, तिमिल्सिनाले भने ।

विवाद कायमै रहे आफ्नो कार्यकालमा पनि भवन निर्माण हुन नसक्ने चिन्ता उनले व्यक्त गरे ।

सकेसम्म सहमति गरेर सबैलाई पायक पर्ने स्थानमा प्रशासनिक भवन निर्माणका लागि आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले बहुमत आफूहरूसँग नभएकाले समस्या भएको बताए । गाउँपालिकामा उपाध्यक्ष सहित नेपाली कांग्रेसको बहुमत रहेको छ ।

राज्य पुनर्संरचना समितिले गाउँपालिका निर्धारण गर्दा अस्थायी केन्द्र सियाले/पाँग्रेटारलाई तोकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *