नृत्यकार भैरवबहादुर थापाको ९२ औँ जन्मदिन मनाउन निवास पुगे मन्त्री किराती  – Nepal Press

नृत्यकार भैरवबहादुर थापाको ९२ औँ जन्मदिन मनाउन निवास पुगे मन्त्री किराती 

उनले भने- माओत्सेतुङसँग मिलाएको हातसँग के मैले पनि हात मिलाउन सक्छु ?

काठमाडौं । आइतबार बिहान नृत्यकार भैरवबहादुर थापाको ९२ औँ जन्म दिनको शुभकामना दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती थापाको निवास पुगेका छन् ।

बिहान ८ बजे कालोपुलस्थित थापाको निवास पुगेका मन्त्री किरातीले थापालाई ढाका टोपी र दोसल्ला ओडाउनको साथै नटरज नृत्यंगनाको उपहार दिएका छन् ।

जन्मदिनको शुभकमना दिँदै मन्त्री किरातीले थापा ज्युँदो सम्पदा भएको बताए । साथै आफ्नो समयमा विदेशमा नेपालको तर्फबाट कला प्रस्तुत मात्रै नगरेर कलामार्फत् कूटनीतिक सम्बन्ध पनि स्थापित गरेको उल्लेख गरे ।

मन्त्री किरातीले माओत्सेतुङको प्रसंग निकाल्दै भने, ‘माओत्सेतुङसँग त्यो समयमा प्रत्यक्ष भेट गर्ने तपाईं एउटा दुर्लभ पात्र हुनुहुन्छ । माओत्सेतुङसँग मिलाएको हात के मैले पनि मिलाउन सक्छु !’

वरिष्ठ नृत्यकार थापालाई नेपाली कलाकारहरूले नृत्य क्षेत्रको पिता मान्दै आएका छन् । विंसं. १९८८ फाल्गुन ६ गते कमलपोखरीमा बुवा पदम बहादुर थापा र आमा ताम्बुला देवी योञ्जनको कोखबाट जन्मेका थापाको जन्मदिनलाई नृत्य दिवसको रुपमा कलाकर्मीहरुले मनाउदै आए पनि सरकारबाट भने यसको औपचारिक निर्णय भएको छैन । यसलाई प्रक्रियामा लाने थापालाई मन्त्री किरातीले आश्वासन दिएका छन् ।

नृत्य गरेर नै देश विदेश घुमेका थापा हाल उनका छोरा संगितकार महाराज थापासँग कालोपुलस्थित भाडाको घरमा बस्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *