गठबन्धन सरकारका कारण देश संकटमा पर्दै गएको अनेरास्ववियुको निष्कर्ष (भिडिओ) – Nepal Press

गठबन्धन सरकारका कारण देश संकटमा पर्दै गएको अनेरास्ववियुको निष्कर्ष (भिडिओ)

'राजनीतिक शुद्धीकरण' अभियान चलाउने निर्णय (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारले गरेका गलत कामका कारण देश थप संकटमा पर्दै निष्कर्ष निकालेको छ ।

केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले मुलुकको राजनीतिक अवस्थाको समीक्षा गर्दै संकटको निकासका लागि पहल गर्न आग्रह गरिएको अध्यक्ष समिक बडालले बताए । बैठकको निर्णय सार्वजनिक गर्दै उनले भागबन्डामा समय खर्च गर्नुपर्ने अवस्था र अर्कोतर्फ विकसित भइरहेको जटिल भू-राजनीति सन्तुलनलाई कायम गर्न नसक्दा आत्मसमर्पणकारी नीति अवलम्बन गर्नुपर्ने बाध्यता आएको टिप्पणी गरे ।

अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णयसमेत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । विभिन्न प्रकरणमा संलग्नहरूलाई जोगाउने, माफियाहरुलाई पोस्ने काम गरेको भन्दै आन्दोलन गर्ने निर्णय गरिएको बडालले बताए । त्यस्तै बैठकले शिक्षासम्बन्धी हकको पूर्ण कार्यान्वयनका लागि हाल संसदमा छलफलमा रहेको विधालय शिक्षासम्बन्धी विधेयकलाई सुझावसहित पारित गर्न माग गरेको छ ।

संगठनले विधानबमोजिम केन्द्रीय कमिटीमा दश प्रतिशत मनोनीत गर्दा ३० वर्षसम्मको उमेर समूहको मापदण्डलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ भने बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न पनि माग गरिएको छ ।

त्यस्तै अनेरास्ववियुले अखिल पाठशाला कार्यक्रम सञ्चालन गर्ने, स्ववियु कप राष्ट्रिय भलिवल प्रतियोगिता आयोजना गर्ने, कर्णाली प्रदेश लगायतका दुर्गम क्षेत्रमा हवाई भाडामा ३३ प्रतिशत विद्यार्थी छुटका लागि सरकारलाई दबाब दिनेलगायतका निर्णय पनि गरेको छ ।

देशबाट जवान र धन दुवै पलायन भइरहेको भन्दै यसको मूल कारण अस्थिर राजनीति, गतिहीन र भ्रष्ट सरकार रहेको अखिलको ठहर छ । सरकार ठूला आयोजना सम्पन्न गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अनेरास्ववियुले निर्माणाधीन राजमार्ग, सडक, सिचाई, जलविद्युत, खानेपानीलगायतका ठूला आयोजनाहरूको लागत अनावश्यक रुपमा बढाएर नीतिगत भ्रष्टाचार गरिएको दाबी गरेको छ ।

देशको अर्थतन्त्र केही सीमित दलालहरूको कब्जामा रहेको । केही दलाल व्यापारी, भ्रष्ट नेताहरू, कर्मचारी, मन्त्री र विचौलियाहरूको नेक्सस ठूला नीतिगत भ्रष्टाचारदेखि सानातिना नियुक्तिसम्म र मन्त्रीदेखि महानिर्देशक नियुक्ति सरुवा/ बढुवामा हावी भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्ववियुले राजनीतिक शुद्धीकरणको अभियान सञ्चालन गर्ने भन्दै विभिन्न कार्ययोजनासमेत अघि सारेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर