अर्थतन्त्रले ‘रिफर्म’ खोजिरहेको विज्ञहरूको भनाइ – Nepal Press

अर्थतन्त्रले ‘रिफर्म’ खोजिरहेको विज्ञहरूको भनाइ

काठमाडौं । विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स लगायत बाह्य क्षेत्र सुधार हुँदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै विज्ञहरूले चिन्ता जनाएका छन् ।

महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह-आयोजनामा भएको नीतिगत बहसमा उनीहरूले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएपनि अझै आन्तरिक क्षेत्रमा किन समस्या ? भन्दै प्रश्न गरे ।

अर्थविद् प्रा.डा. शिवराज अधिकारीले अब बाह्य क्षेत्र मात्र सहज छ भनेर ढुक्क हुने अवस्था नभएको बताए ।

उनले भने, ‘बाह्य क्षेत्र ठीकठाक छ भनेका छौं । तर, खै त अर्थतन्त्र चलायमान भएको ? अर्थतन्त्रले अब रिफर्म खोजिरहेको छ ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक क्षेत्रमा अझै समस्या रहेको सही भएको बताए । यद्यपि २ वर्षअघि भन्दा अहिले केही सुधार भएको पाटोलाई भुल्न नहुने उनको भनाइ छ । आन्तरिक मागमा कमी आउँदा अर्थतन्त्र गतिशील हुन नसकेको श्रेष्ठले बताए ।

श्रेष्ठले भने, ‘सरकारको वित्त व्यवस्थापनमा कमजोरी भइरहेको छ । वित्तीय नीति ७६१ वटा र मौद्रिक नीति एउटामात्र छ । मौद्रिक नीतिले धेरै सम्बोधन गरेको छ अब वित्तीय नीतिले पनि बुझेर आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । ’

डा. श्रेष्ठले मौद्रिक नीतिले गेयर परिवर्तन गरिसकेको बताए ।

नेपाल बैंकर्स एसोशियसनका अध्यक्ष सुनिल केसीले बैंकहरू ट्याकल गर्नै नसक्ने अवस्थाबाट बाहिर आइसकेको बताए । तरलताको हिसाबले नेपाली बैंक सबैभन्दा उत्तम अवस्थामा रहेको केसीको दाबी छ ।

उनले भने, ‘बैंकहरूले ४० वर्षको अवधिमा अधिकांश समय केही न केही चुनौतीको सामना गरिरहनु पर्‍यो । तैपनि बैकिङ क्षेत्रले गरेको वित्तीय समावेशिताको योगदान उच्च छ । विश्वका शक्तिशाली बैंकहरूमा नकारात्मक संकेत देखिरहेको भएपनि नेपालका बैंकहरू सहज अवस्थामा छन् । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर