बैंकिङ कसुर र सजाय विधेयक समयानुकुल नभएको सांसदहरूको टिप्पणी – Nepal Press

बैंकिङ कसुर र सजाय विधेयक समयानुकुल नभएको सांसदहरूको टिप्पणी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० समयानुकुल हुन नसकेको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले सो विधेयकको क्षेत्राधिकार साँघुरो भएको बताएका हुन् । डिजिटल प्रणालीलाई विधेयकले समेट्न नसकेको भन्दै उनले पुरानो कागजी प्रणालीलाई सम्बोधन गर्नेगरी मात्रै ल्याइएको बताए ।

त्यस्तै, नेकपा (एमाले) की सांसद विद्या भट्टराईले क्रिप्टो करेन्सी र विट क्वाइनमार्फत भइरहेको ठगीको कुरालाई विधेयकले समेट्न नसकेको बताइन् । नागरिकहरूमा वित्तीय साक्षरताको कमीले ठगी हुने गरेको भन्दै उनले विद्यालय र विश्वविद्यालयको औपचारिक पाठ्यक्रममा नै वित्तीय साक्षरतालाई समेटेर शिक्षा दिनुपर्ने औंल्याएका छिन् ।

नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले डिजिटल भुक्तानीलाई विधेयकले समेट्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘डिजिटल भुक्तानी पेपर भुक्तानी भन्दा बढी मात्रामा भइराखेको हुँदा यसलाई समेट्न अत्यावश्यक छ । यसलाई समेटेर लानुपर्छ । सहकारी क्षेत्रमा देखिएको समस्या छ । बैकिङ समस्या र चेक अनादरको समस्या त्यहाँभित्र पनि पर्छ । यसलाई सहकारी क्षेत्रलाई समेट्नुपर्छ र यसले समग्र वित्तीय क्षेत्रलाई नै समेट्नुपर्छ भन्ने मेरो आग्रह हो ।’

छलफलमा भाग लिने अधिकांश सांसदहरूले विधेयकमा डिजिटल भुक्तानीको विषय समेटिनुपर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर