शेखरको प्रश्न- कांग्रेसको भोट घट्दो छ, कहिलेसम्म कम्युनिष्टहरूको पछि लाग्ने ? (भिडिओ) – Nepal Press

शेखरको प्रश्न- कांग्रेसको भोट घट्दो छ, कहिलेसम्म कम्युनिष्टहरूको पछि लाग्ने ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूहरू सधैँ कम्युनिष्टहरूको पछि लागेर हिँड्ने हो ? भन्दै पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् ।

महासमिति बैठकको पूर्वसन्ध्यामा कार्यकर्तामाझ आयोजित चियापानमा उनले जिल्ला-जिल्लामा पार्टीका साथीहरूले आफूलाई सो प्रश्न गर्ने गरेको र यसको जवाफ भोलिदेखि सुरू हुने महासमिति बैठकमा दिन ध्यानाकर्षणसमेत गराए ।

कांग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरूको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी गम्भीर रूपमा छलफल हुनुपर्ने उनको भनाइ छ । जनमत घटिरहेका बेला सरकारमा बसेका छौं भनेर पार्टीले खुसी हुनुपर्ने कुनै कारण नभउको उनले दोहोर्‍याए । निर्वाचन प्रणालीमा सुधार ल्याउने विषयमा पनि महासमिति बैठकमा छलफल गर्नुपर्ने उनको भनाइ छ ।

नेता कोइरालाले भने, ‘ यसपटकको दस्तावेजनमा पनि के छ भने हामीले स्थानीय तहमा, प्रदेशमा र केन्द्रमा हामी सरकारमा छौं । बहुमतमा छौं चारैतिर । तर, हाम्रो भोट प्रतिशत घट्दै गइरहेको अवस्था छ । त्यो किन घट्यो ? भन्ने कुरा अत्यन्त गम्भीर छ । आज यो ठीक लाग्ला हामीलाई । के भने सरकारमा छँदैछौं भनेर ठीक लाग्ला । तर, भोलि हाम्रा सन्ततिले हामीहरूलाई सोध्ने छन् कि छैनन् भन्ने पनि हामीले बुझ्न जरुरी छ । भोट प्रतिशत ३४/३५ प्रतिशतबाट घट्दैघट्दै २७ प्रतिशतमा आएको छ क्यारे हाम्रो । साढे ७ प्रतिशत भोट घटेको छ । यो किन घटिराखेको छ भनेर हामीले विश्लेषण गरिराखेका छैनौं । हामी के मा रमाइराखेका छौं भने केन्द्रमा सरकारको नेतृत्व त हामीले गरेको छैन । तर १० वटा मन्त्रालय त हामीसित छ । यो कुरालाई तपाईँ महासमितिका साथीहरुले अत्यन्तै गम्भिर रुपले छलफल गर्नुहोला ।’

मुलुकको अर्थतन्त्रको सूचकांक राम्रा छ भनेर प्रधानमन्त्री स्वयंले भने पनि जनताले त्यस्तो अनुभूति गर्न नसकेको उनको जिकिर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर