अपुतालीको सम्पत्ति हडप्न नक्कली कागजात तयार, सर्वोच्चले गर्‍यो स्थानीय तहको हुने निर्णय – Nepal Press

अपुतालीको सम्पत्ति हडप्न नक्कली कागजात तयार, सर्वोच्चले गर्‍यो स्थानीय तहको हुने निर्णय

काठमाडौं । सप्तरीको तत्कालीन नेगडा गाविस- ४ का रामसुन्दर यादवले ५ वर्ष पुरानो ८० हजार रुपैयाँ ऋण र त्यसको ब्याज चुक्ता नगरेको भन्दै सोही ठाउँ बस्ने अनारवती यादवनीविरुद्ध २०६० सालमा जिल्ला अदालतमा लेनदेनको मुद्दा हाल्छन् । जिल्ला अदालतले पठाएको अनारवतीको म्याद तत्कालीन गाविस सचिव हरिनारायण यादवको रोहबरमा २०६० माघ ५ गते विपक्षीको घरमा टाँसेर म्याद तामेल हुन्छ ।

विपक्षीबाट कुनै लिखित जवाफ नआएपछि २०६१ भदौ ३ गते जिल्ला अदालतले रामसुन्दरको पक्षमा फैसला गर्छ । तर, उक्त म्याद तामेल हुनुअगावै अनारवतीको मृत्यु भएको भन्दै आफूलाई देवरका रुपमा अपुताली हकदाबी गरेर महेन्द्रप्रसाद यादवले फैसलाबारे २०६१ भदौ ९ गते थाहा पाएको बताएर प्रत्युत्तर पत्र निवेदनसहित अदालत पुग्छन् ।

महेन्द्रले पुस्तावली उल्लेख गरी नाता प्रमाणपत्र र गाविसबाट सर्जिमिन गराई नामसारी सिफारिससमेत निकालेको प्रमाण पेश गर्छन् । अनारवतीका सन्तान हुँदैनन् र श्रीमानको पनि २०५५ सालमै मृत्यु भइसकेको हुन्छ ।

अदालतले महेन्द्रले पेश गरेको पत्र दर्ता गरेर त्यसबारे रामसुन्दरलाई जानकारी गराउनू भन्ने आदेश गर्छ ।

यो निर्णयले छक्क परेका रामसुन्दर जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत राजविराज पुग्छन् । राजविराजले जिल्ला अदालतको आदेश बेरितको नभएको ठहर गर्छ । रामसुन्दरको चित्त बुझ्दैन । उनी कीर्ते कागज तयार गरेर अपुतालीको सम्पत्ति हडप्न खोजेको आरोप लगाएर तत्कालीन गाविस सचिव र महेन्द्रसहितविरुद्ध फेरि अदालत पुग्छन् ।

महेन्द्रले २०६१ जेठ २७ गते निकालेको अनारवतीको मृत्यु दर्ता प्रमाणपत्र, नाता सम्बन्धको सर्जिमिन मुचुल्का, जग्गा नामसारी सिफारिस र नाता प्रमाणपत्र सबै कीर्ते भएको रामसुन्दरको जिकिर हुन्छ । २०६२ जेठ २२ गते जालसाजीको मुद्दा दायर हुँदा महेन्द्रले आफू मृतकको देवर नै भएको, कुनै जालसाजी नगरेको र अनारवतीको मृत्यु २०६० कात्तिक ८ गते भएको दाबी गर्दै जवाफ पेश गर्छन् ।

विपक्षीका अनुसार रंगी धुरझारका दुई छोरा जेठा मिठु र कान्छा गोवर्धन हुन्छन् । मिठुका दुई छोरामध्ये एउटा सुनर र उनकै छोरा महेन्द्र भएको दाबी गरिन्छ । गोवर्धनका एक मात्र छोरा पुरन र उनकै छोरा ठकाई धुरझार जो अनारवतीको श्रीमान भएको विपक्षीको जिकिर हुन्छ । तर, वादी पक्षले रंगीका एकमात्र छोरा गोवर्धन रहेको र गोवर्धनको छोरा ठकाई भएको उल्लेख गर्छन् । वंसि धुरझारको एक मात्र छोरा मिठु, उनको एक मात्र छोरा सुनर र उनकै तीन सन्तानमध्ये एक जना महेन्द्र भएको वादी पक्षको दाबी हुन्छ ।

लेनदेनको म्याद तामेल हुँदा अनारवती जीवित रहेको र उनको २०६१ बैशाख १५ गते मृत्यु भएको उनीहरुले दाबी गर्छन् । तत्कालीन पुनरावेदन अदालत राजविराजका न्यायाधीश दीपककुमार कार्कीको इजलासले २०६६ असार ११ गते रामसुन्दरले दायर गरेको मुद्दा दाबी नपुग्ने भन्दै खारेज हुने फैसला गर्छ ।

यसपछि रामसुन्दर मिठुका बुबा रंगी नभएर बंशी भएको दाबीसहित पुनरावेदन लिएर सर्वोच्च अदालत पुग्छन् । उनी महेन्द्रका बुबा सुनरका हजुरबुबा बंशी हुन् भन्ने प्रमाणका रुपमा २०५० साउन ५ को बन्डापत्र, २०२८ सालको नापीमा सुनरले आफ्नो बाजे बंशी धुरझार देखाई तयार गरेको फिल्डबुकसहित विभिन्न मितिमा तयार भएको राजीनामा बंशीलाई बाजे उल्लेख गरेको प्रमाण रामसुन्दरले पेश गर्छन् ।

सर्वोच्च अदालतले २०७० असोज १ गते पुरानवेदन अदालत राजविराजको फैसला फरक पर्न सक्ने भन्दै विपक्षीलाई झिकाएर छलफलमा पेश गर्न आदेश गर्छ ।

सर्वोच्चले २०७३ माघ २६ गते मेलमिलापका लागि अर्को आदेश गर्छ भने २०७४ मंसिर १० गते जिल्ला अदालतमा लेनदेनको मुद्दामा महेन्द्रले निवेदन दिएपछि भएको आदेश सक्कल मिसिल झिकाउन अर्को आदेश गर्छ । २०७७ चैत ८ गते सर्वोच्चले अनारवतीविरुद्ध भोलाई यादवले दायर गरेको लेनदेनकै अर्को मुद्दामा महेन्द्रले फर्काएको जवाफ र पछि अदालतले गरेको फैसलाको सक्कल मिसिल झिकाउन पनि आदेश गर्छ।

२०७९ जेठ २७ गते महेन्द्रले जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्राप्त गर्दा भरेको फारम र सोसम्बन्धी रजिस्टरको प्रमाणित प्रतिलिपि पनि झिकाउने आदेश हुन्छ। जिल्ला प्रशासन कार्यालयले महेन्द्रले नागरिकता लिँदा पेश गरेको अनुसूचीलगायत कागजपत्र फेला नपरेको उल्लेख गर्दै उनले २०७९ साउन ९ गते इलाका प्रशासन कार्यालयबाट नागरिकता प्रतिलिपि लिने बेला पेश गरेको जग्गाधनी प्रमाणपत्र तथा अनुसूचीलगायत कागजातहरु समावेश गरेर अदालतलाई २०८० जेठ २ गते पत्र पठाउँछ ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँल र नहकुल सुवेदीको संयुक्त इजलासमा भएको सुनुवाइमा वादी पक्षबाट शम्भु थापा र सतिषकृष्ण खरेल तथा विपक्षीको तर्फबाट महादेवप्रसाद यादव र हरिहर दाहाललगायतले बहस गर्छन् । यसमा इजलासले अनारवतीविरुद्ध लेनदेनको मुद्दामा रामसुन्दरको म्याद तामेली र भोलाई यादवको म्याद तामेलीलाई आधार मानेर तत्कालीन गाविस सचिव हरिनारायण यादवको भूमिकामाथि प्रश्न उठाउँछ ।

भोलाई यादवले दायर गरेको मुद्दामा २०६० साल पुस २५ गते विपक्षी अनारवतीको घरमा म्याद तामेली हुँदा गाविस सचिव यादवले निज अनारवती यादवको मिति २०६० मंसिर १० गते स्वर्गबास भएको भनेर सहीछाप गरेको तर रामसुन्दरले दायर गरेको मुद्दामा २०६० माघ ५ गते अनारवतीको घरमा म्याद तामेली हुँदा उनै सचिव यादवले विपक्षीको मृत्यु भएको सम्बन्धमा कुनै कैफियत नलेखिइ सहीछाप गरेको पाइएको थियो ।

उनै सचिव यादवले महेन्द्रका लागि जग्गा नामसारी सिफारिसपत्र, सर्जिमिन मुचुल्का र अनारवतीको मृत्यु दर्ता प्रमाणपत्रमा उनको मृत्यु २०६० कात्तिक ८ गते भएको भनी सहीछाप गरेका थिए ।

‘यसरी एक पटक निज गाविस सचिव हरिनारायण यादवले २०६० पुस २५ गते तामेल भएको म्यादमा अनारवतीको मृत्यु मिति २०६० मंसिर १० गते भनी आफैं रोहबरमा बसी सहीछापसमेत गरी पछि सोही अदालतबाट जारी भएको अर्को म्यादमा निज अनारवती यादवनीको मृत्यु सम्बन्धमा कुनै व्यहोरा उल्लेख नगरिनु र मुद्दा परेपछि आफूले गरेको कामको प्रतिकूल हुने गरी फरक मिति कायम गरी मृत्यु दर्ता प्रमाणपत्रलगायत अन्य सर्जिमिन र सिफारिस प्रमाणित गरेको देखिन्छ’, इजलासको ठहर छ ।

अंशबन्डा लिखतमा महेन्द्रका बुबा सुनर भएको, सुनरको बुबा मिठु भएको र मिठुको बुबा बंसी भएको देखिएको साथै महेन्द्रले नागरिकताको प्रतिलिपि लिँदा मिठु उनका बाजे भएको देखिएको भन्दै अनारवतीको उनी देवर हुन् भन्ने आधार कहीँ नभेटिएको इजलासले निष्कर्ष निकाल्यो ।

‘यस अवस्थामा प्रतिवादी महेन्द्रप्रसाद यादवको स्वर्गीय अनारवतीसँग नाता रहेको भन्ने खुल्न सकेको देखिँदैन । साथै मिसिल संलग्न रहेको कागजातबाट स्वर्गीय ठकाई धुरझार यादवको पत्नी अनारवती यादवनीबाहेक अन्य केही पुस्तेवारी उल्लेख भएको पाइँदैन । यसबाट प्रतिवादी महेन्द्रप्रसाद यादवको मूल पुर्खा बंशी रहेको देखिए पनि स्वर्गीय अनारवती यादवको मूल पुर्खा को हुन् र महेन्द्रप्रसाद यादवसँग के नाता रहेको छ भनी कुनै लिखत प्रमाणबाट स्पष्ट तथा वस्तुपरक रुपमा खुल्न आएको नदेखिएको र निजले समेत आफ्नो पुस्तेवारी अनारवती यादवनीको पुस्तेवारीसँग मिल्ने, भिड्ने भनी कुनै कागजात प्रमाण पेश गर्न सकेको नदेखिँदा गाविस कार्यालयबाट बनाइएका विवादास्पद कागजका आधारमा मात्र महेन्द्रप्रसाद यादव र स्वर्गीय अनारवती यादवनी नाता सम्बन्धका व्यक्ति हुन् भन्ने देखिएन’, हालै सार्वजनिक भएको फैसलाको पूर्ण पाठमा उल्लेख छ ।

इजलासले महेन्द्रले सृजना गरेका नाता प्रमाणपत्र, सर्जिमिन मुचुल्का, जग्गा नामसारी सिफारिस र मृत्युदर्ता प्रमाणपत्रका कागजात जालसाजीपूर्ण रहेको पनि निष्कर्ष निकालेको छ । फुँयाल र सुवेदीको इजलासले त्यसरी जालसाजीपूर्ण तरिकाले उक्त कागजातहरु तयार गर्ने कार्यमा संलग्नहरु महेन्द्रप्रसाद यादव, हरिनारायण यादव, विन्दीप्रसाद यादव, रामप्रित यादव, सुखदेव यादव, राजेन्द्रप्रसाद यादव, योगेन्द्र यादव, उपेन्द्रकुमार यादव, रामआशिष यादव, झडिलाल यादव, रामेश्वर यादव र घुरखेल यादवलाई मुलुकी ऐनअनुसार २०० रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ ।

यस्तै मृतक अनारवतीको नाममा रहेको करिब १७ कठ्ठा जग्गाबाट साहुको रकम तिरी बाँकी रहेको सम्पत्ति सम्बन्धित स्थानीय तहको नाममा कायम हुने फैसला पनि सुनाइएको छ ।

अपुतालीको सम्पत्ति हकवाला नभएमा वा भए पनि निजले अपुताली नलिएमा मृतकको सदगत तथा किरिया गर्दा लागेको खर्च कटाई र निजका साहु भए साहुको रकम भुक्तानी गर्दा पनि सम्पत्ति बाँकी रहेकोमा त्यस्तो सम्पत्ति सम्बन्धित स्थानीय तहको हुने भन्ने मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ (१) लाई टेकेर उक्त फैसला भएको हो ।


प्रतिक्रिया

One thought on “अपुतालीको सम्पत्ति हडप्न नक्कली कागजात तयार, सर्वोच्चले गर्‍यो स्थानीय तहको हुने निर्णय

  1. फैसला जे भए पनि दुबै पक्षका वकिलले कुस्तसँग धुतेर दुवै पक्षलाई नाङ्गेझार पारेको हुनुपर्छ । १० ओैं वर्षसम्म पनि फैसला नगरेर झगडियासँग पैसा असुल्ने वकिल र अदालत मिलेर जनता लुटेको उदाहरण हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर