प्रजातन्त्र दिवसमा पूर्व राजा ज्ञानेन्द्रको सन्देश–जनता जनार्दनले जे भन्छन् त्यो सुनौं र गुनौं – Nepal Press

प्रजातन्त्र दिवसमा पूर्व राजा ज्ञानेन्द्रको सन्देश–जनता जनार्दनले जे भन्छन् त्यो सुनौं र गुनौं

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहले नागरिकले भनेको कुरा सुनेर त्यसलाई मनन गरेर राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधी र व्यवहार झल्काउनुपर्ने बताएका छन् । ७४ औ राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्र पूजनीय भए पनि यसको पूजा शब्दले मात्र गरेर नपुग्ने भन्दै कर्म कर्तब्य, त्याग र उदारताले तथा निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने दाबी गरे ।

उनले शुभकामना सन्देश जारी गर्दै लेखेका छन् , ‘प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा कर्म कर्तब्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनार्दनले जे भन्दछन् त्यो सुनौं त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधी व्यवहार झल्काउनु पर्दछ।’

पूर्व राजा शाहले नेपाली दिदीबहिनी तथा दाजुभाइलाई दिवसका अवसरमा शुभकामना सन्देश दिदैँ सबै नागरिकले सबै कुरा नेपालमै प्राप्त गर्न सकेको अवस्थामा मात्रै प्रजातन्त्रको कार्यान्वयन भएको मानिने बताए । उनले लेखेका छन्, ‘प्रजातन्त्र भित्र अर्थतन्त्र पृथक हुन सक्दैन । आफ्नो श्रोत, साधन र शिप सबै यसमा समाहित हुनुपर्दछ । यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ । सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने, सबैलाई देश मै गतिलो शिक्षा र सबैको क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ ।’

दिवसकै पूर्व सन्ध्यामा उनले आफु राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागीरहने प्रतिबद्धता पनि जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *