ब्याक टु लाइफबाट वीरेन्द्रनगरमा अस्पताल भवन निर्माण र आवश्यक सामग्री हस्तान्तरण – Nepal Press

ब्याक टु लाइफबाट वीरेन्द्रनगरमा अस्पताल भवन निर्माण र आवश्यक सामग्री हस्तान्तरण

सुर्खेत । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ब्याक टु लाइफको आर्थिक सहयोगमा वीरेन्द्रनगरस्थित नगर अस्पताल परिसरमा महिला तथा बालबालिकाको लागि ५ शय्याको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ । भवनमा आवश्यक सामग्री तथा उपकरण जडानसमेत गरिएको छ ।

१८ महिनाअघि सुरु भएको उक्त परियोजना सम्पन्न भएपश्चात् आइतबार ब्याक टु लाइफ ईभी जर्मनीका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासकीय निर्देशक अच्युतप्रसाद पौडेलले एक कार्यक्रमबीच वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाललाई अस्पताल भवन र उपकरण हस्तान्तरण गरेका छन् ।

मानव अधिकार तथा विकास केन्द्रका अध्यक्ष जगबहादुर कार्कीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा ब्याक टु लाइफका मेनेजर अनुप पौडेलले ५ करोड ७० लाख रुपैयाँ बराबरको ५ शय्याको भवन निर्माणसहित मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने महत्वपूर्ण उपकरण र नवजात शिशुको सघन कक्ष सञ्चालन गर्न आवश्यक सम्पूर्ण सामग्री जडान गरिएको जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिकाको २०७८ साल मङ्सिर २२ गतेको कार्यपालिका बैठकले नगरपालिकामा महिला तथा बालबालिका अस्पताल निर्माण गर्नुपर्ने भएको हुँदा नगरपालिकाको तर्फबाट ब्याक टु लाइफलाई अस्पताल भवन निर्माण तथा सोको लागि आवश्यक क्लिनिकल सामग्रीहरु उपलब्ध गराउन अनुरोध गरेको थियो ।

नगरपालिकाकी मेयर मोहनमाया ढकालले ब्याक टु लाइफको आर्थिक सहयोगबाट निर्माण भएको अस्पताल भवन र प्राप्त उपकरणहरुले वीरेन्द्रनगर र कर्णाली प्रदेशमै मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी सेवा प्रदान गर्न अति सहज र उपयोगी हुने विश्वास व्यक्त गरिन् ।

सन् २००९ देखि ब्याक टु लाइफले नेपालमा शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ । हाल कर्णाली प्रदेश र विकासका दृष्टिकोणले पछि परेका बागमती प्रदेशका केही जिल्लामा स्वास्थ्य सहयोगका कार्य गर्दै आएको छ ।

संस्थाले मुगुमा १५ वटा बर्थिङ सेन्टर सञ्चालन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर