बलम्बुमा इन्सपेक्टरको पेस्तोलको गोली लागेर दुईजना घाइते
काठमाडौं । काठमाडौंको चन्द्रागिरीस्थित प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’ बाट गोली चल्दा दुईजना घाइते भएका छन् ।
ड्युटी सकेर हतियार बुझाउने क्रममा पेस्तोलबाट एक राउन्ड गोली चलेपछि गोली लागेर प्रहरी निरीक्षक श्रेष्ठका अङ्गरक्षक घाइते भएका काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।
अंगरक्षकको खुट्टामा गोली लागेको छ । उक्त घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन् । दुवैजनाको अवस्था खतरामुक्त रहेको थापाले बताए ।
नियतवस घटना भएको नभई केही लापरबाही देखिएको उल्लेख गर्दै एआइजी थापाले घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिइसकेको बताएका छन् ।
-रासस