ओभर कन्फिडेन्टले मलेसियासँग पराजित हुन पुग्यौंं : प्रशिक्षक कटुवाल
काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेट खेलेर नेपाली महिला टोली स्वदेश फर्किएको छ । सेमिफाइनलमा मलेसियासँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।
नेपाली महिला टोलीका प्रशिक्षक मनोज कटुवालले ओभर कन्फिडेन्ट हुँदा मलेसियासँग पराजित भएको बताए । सोमबार बिहान स्वदेश फर्किएका प्रशिक्षक कटवालले ओभर कन्फिडेन्ट र प्रेसर लिएर खेल्दा पराजित हुन पुगेको बताए ।
‘मलेसियासँगको खेल हामीले एकदमै ठूलो रूपमा लियौँ । सेमिफाइनल पुगेर फाइनल पुग्ने भन्दा पनि एसिया कप पुग्ने हाम्रो मेन्टालिटि बन्यो । सामान्य खेलकै रूपमा लिएको भए त्यसरी खेल्दैनथे हो । त्यो खेलमा धेरै नै ओभर कन्फिडेन्ट भयो,’ उनले भने ।
खेलाडीले प्रेसर लिएर खेल्दा पराजित हुन पुगेको प्रशिक्षक कटवालले सुनाए ।
‘हामीले यहाँबाट जित्ने गरी नै गएका थियौँ । जुन प्रकारको प्रशिक्षण भएको थियो । त्यो हिसाबले फाइनलमा जित्ने हिसाबले हामी गएका थियौँ,’ उनले भने, ‘मलेसियाविरुद्ध पेसर फिल भयो जस्तो मलाई लाग्यो । अगाडिको खेलमा जुन प्रदर्शन गरेका थियौँ । उक्त खेलमा भने स्लो सुरुवात गरे ।’
महिला क्रिकेटलाई विकास गर्न फिल्डिङ र फिटनेसलाई ध्यान दिनुपर्ने उनले बताए ।
‘थ्रो पनि कसरी फाल्नुपर्छ भनेर सिनियर टोलीलाई सिकाउनुपर्ने अवस्था छ । सिनियर टोलीमा आइसकेपछि यो कुराहरू सिकाउन नपर्ने हो । थ्रोदेखि फिल्डमा धेरै कुरामा ल्याक छौँ । महिला क्रिकेटलाई विकास गर्ने हो भने फिल्डिङ र फिटनेसलाई एकदमै ध्यान दिनुपर्छ,’ प्रशिक्षक कटवालले भने ।