नक्खु कारागारको विपश्यना ध्यान केन्द्रको उपप्रधानमन्त्री श्रेष्ठद्वारा उद्घाटन – Nepal Press

नक्खु कारागारको विपश्यना ध्यान केन्द्रको उपप्रधानमन्त्री श्रेष्ठद्वारा उद्घाटन

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागार कार्यालय नक्खुमा निर्मित विपश्यना केन्द्र ‘धम्मासय’को उद्घाटन गरेका छन् ।

कारागार कार्यालय नक्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंद्वारा आयोजित उद्घाटन कार्यक्रमसँगै यहाँ ४८ कैदीबन्दीका लागि १२ दिनसम्म ध्यान शिविर सञ्चालन हुनेछ ।

यससँगै नेपाल विपश्यना केन्द्रले देशभरी १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ। नक्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि सञ्चालनमा आएको हो ।

ध्यान केन्द्रको उद्घाटन गर्दै उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताए । आफूलाई फेर्ने, स्वजागृत हुने र समाज रूपान्तरण गर्ने चिन्तन ध्यानबाटै प्राप्त हुने उनको भनाई छ ।

अग्रज रूपचन्द्र विष्टले आफूसँगको कुराकानीमा ‘मानिस सिद्धार्थ गौतम नबनी एकैचोटी बुद्ध बन्न खोजेको,’ बताएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई बदलेर मात्रै बुद्ध बन्न सकिने बताए ।

कानुन लागू गर्ने वा सेवा दिने मान्छे स्वयंमा असल हुनुपर्ने र ध्यानले मानिसलाई असल बन्न मद्दत गर्ने भएकोले आफूले गृह मन्त्रालय र अन्तर्गतका निकायमा ध्यान संस्कृति निर्माण गर्ने प्रयास गरेको उनले बताए ।

कैदी बन्दीलाई सम्बोधन गर्दै उनले भने, ‘एक पटक गल्ती गर्नभयो, अपराध गर्नुभयो । ध्यानले अब म असल बन्छु, फेरिन्छु, बदलिन्छु भन्ने सोच तपाईँहरूमा आउनेछ ।’

कार्यक्रममा विपश्यना ध्यान केन्द्रका क्षेत्रीय आचार्य डा.रुप ज्योतिले मन शुद्ध भए मात्रै शरीर स्वस्थ हुने र विपश्यनाले मनलाई शुद्ध बनाउने बताए । केन्द्रले १६ देशका कारागारमा शिविर सञ्चालन गरिसकेको र उपप्रधानमन्त्री श्रेष्ठले ध्यानको महत्त्व बुझेकै कारण नक्खु कारागारमा समेत केन्द्र र शिविर सञ्चालन भएको बताए ।

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, कारागार व्यवस्था विभागका महानिर्देशक काशिराज दाहाल, सशस्त्र प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) नारायणदत्त पौडेल, विपश्यना ध्यान केन्द्रका आचार्य तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीकोसमेत उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर