भैरहवा भन्सारबाट निर्यातमा सुधार, ७ महिनामा राजस्व संकलन ३५.६३ प्रतिशतमात्रै – Nepal Press

भैरहवा भन्सारबाट निर्यातमा सुधार, ७ महिनामा राजस्व संकलन ३५.६३ प्रतिशतमात्रै

रुपन्देही । रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट हुने निर्यातमा सुधार आएको छ । भारतमा सिमेन्ट बिक्री हुन थालेपछि निर्यातको अंक बढ्न थालेको हो ।

चालू आर्थिक वर्षमा झण्डै ६ अर्बको निकासी भएको हो । गत वर्षको तुलनामा यस वर्ष निर्यातमा राम्रो सुधार आएको भन्सार कार्यालयको भनाइ छ । चालू वर्षको ६ महिनाको अवधिमा ५ अर्ब ६७ करोड बराबरको निकासी भएको भैरहवा भन्सार कार्यालयले जनाएकाे छ ।

केही वर्ष अघिसम्म भारतकै भर पर्नुपर्ने अवस्था रहेको सिमेन्ट तथा क्लिङ्कर पछिल्लो समय भारततिर निकासी हुन थालेको छ । यहाँबाट सबैभन्दा धेरै सिमेन्ट तथा क्लिङकर निर्यात भएको हो । बेलहिया नाका हुँदै अर्घाखाँची, शुभश्री, जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारततर्फ निकासी हुँदै आएको छ ।

यस्तै खैरो सिमेन्ट निर्यात दोस्रो नम्बरमा छ । विभिन्न वनस्पति उत्पादन, पिना, अदुवा, सुठोलगायतका जडीबुटी, तयारी चाउचाउ, पास्ता तथा चोकर, भुससमेत यो नाकाबाट निकासी भइरहेको छ ।

भन्सार कार्यालयको तथ्यांकअनुसार माघ मसान्तसम्म ७५ करोड ३७ लाख रुपैयाँको १ लाख ३३ हजार टन सिमेन्ट तथा ९१ करोड ४३ लाखको १ लाख २० हजार टन क्लिंकर बेलहिया नाका हुँदै भारत निकासी भएको छ ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले निर्यात भएकामध्ये १० वटा वस्तु ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको  भएको बताए  ।

बेलहिया नाका हुँदै सबैभन्दा बढी निकासी हुने वस्तुमा सेन्थेटिक यार्न रहेको छ । यार्न भारत तथा टर्की निकासी हुने गरेको छ । भन्सार कार्यालय भैरहवाबाट १ अर्ब ५० करोडको सेन्थेटिक यार्न, ३८ करोड ४४ लाखको वनस्पति उत्पादन, ३३ करोड ८ लाखको पिना, २४ करोड ५४ लाखको अदुवा, सुठो तथा २३ अर्ब ३२ करोड चाउचाउ, नुडल्स, पास्तालगायतका वस्तु भारत तथा तेस्रो मुलुक निर्यात भएको छ ।

भैरहवा भन्सारबाट २० करोड ३१ लाखको प्लाइउड निर्यात भएको छ भने ४ अर्ब ८५ करोडको चोकर र भुस निर्यात भएको छ । आर्थिक वर्ष २०७९/०८० मा ३१ करोड ८६ लाखको सिमेन्ट निकासी भएकोमा चालू वर्षको ६ महिनामै दोब्बर निकासी भएको तथ्यांकले देखाएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सिमेन्टको आन्तरिक खपत कम भइरहेका बेला भारत निकासीमा देखिएको सुधारले उद्योगी तथा व्यवसायीहरुमा सकारात्मक सन्देश दिएको बताए ।

निर्यातजन्य वस्तुहरुमा दिने भनिएको सेवा सुविधा र सहुलियतलगायतका विषय सरकारले कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सिमेन्ट भारत निकासीमा देखिएको सुधारले उद्योगी तथा व्यवसायीहरूलाई राहत पुगेको र यसलाई अझै बढाउनेगरी योजना बनाउन सरकारलाई आग्रह गरे । रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्लामा रहेका उद्योगबाट उत्पादित सिमेन्टका साथै पाल्पा, अर्घाखाँची, प्युठानलगायतका जिल्लामा उत्पादित अदुवा यही भन्सार नाका हुँदै भारत तथा तेस्रो मुलुक जाने गरेका छन् ।

७ महिनामा लक्ष्यकाे ३५.६३ प्रतिशतमात्रै राजस्व संकलन

भैरहवा भन्सार कार्यालयले ७ महिनामा लक्ष्यको ३५.६३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म यस कार्यालयले ४५ अर्ब ५४ करोड १९ लाख २५ हजार राजस्व सङ्कलन गरेको हो ।

भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब २७ अर्ब ३ करोड ६६ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । लक्ष्य पूरा गर्न भन्सार कार्यालयले अबको ५ महिनामा ८२ अर्ब २९ करोड ४७ लाख ५४ हजार राजस्व उठाउनु पर्नेछ ।

भन्सार कार्यालयले साउन महिनामा ६ अर्ब ४९ करोड ५ लाख ३१ हजार, भदौमा ६ अर्ब ८६ करोड ५१ लाख ३३ हजार, असोजमा ९ अर्ब ३ करोड ८६ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । यस्तै कार्तिकमा ४ अर्ब ४९ करोड ४ लाख ३९ हजार, मङ्सिरमा ६ अर्ब ६ करोड ३ लाख ४४ हजार, पुसमा ६ अर्ब १९ करोड १७ लाख १३ हजार र माघ महिनामा ६ अर्ब ४० करोड ६ लाख ९२ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए ।

चालू आर्थिक वर्षको बाँकी ५ महिनामा लक्ष्य हासिल गर्ने उनको दाबी छ । अहिलेसम्म निर्धारित लक्ष्य पूरा नभए पनि विगतका वर्षको तुलनामा राजस्व सङ्कलनको अवस्थामा सुधार आएको उनले प्रस्ट पारे । गत वर्ष तोकिएको लक्ष्यभन्दा आधा राजस्व सङ्कलन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर