गणेश लामा र सहदेव कक्षपतीले अपहरण गरेर फिरौतीवापत करोडौं लेनदेनको कागज गराएको आरोप
गैरआवासीय नेपाली ज्ञानेन्द्र खड्कालाई ८ घण्टा बन्धक बनाएर फिरौती कागज गराइयो, ललितपुर प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं । नेपालमा होटल तथा रियल स्टेट व्यवसायमा लगानी गरेका गैरआवसीय नेपाली ज्ञानेन्द्र खड्काले आफूलाई कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गुण्डा नाइके गणेश लामा र सहदेव कक्षपतीले अपहरण गरेर कराेडौंको फिरौती रकमबापत कागज गराएको भन्दै गुहार मागेका छन् ।
अमेरिकामा बस्ने गैरआवासीय नेपाली खड्काले गत पुस २३ गते भएको उक्त घटनाबारे प्रहरी प्रशासनलगायत सबै ठाउँमा उजुरी गरेर परिवारलाई सुरक्षित स्थानमा राखेपछि मात्र आज प्रेस विज्ञप्तिमार्फ सार्वजनिक गरेको बताएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘डकैतहरुलाई पैसामोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन । यहाँबाट निस्केर घरपरिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ । पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानूनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो । त्यसैले आज सबै कानूनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु ।’
आफूलाई गणेश लामा र सहदेव कक्षपतीलगायतले ललितपुर ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लण्डन हाउस होटलमा लगेर ८ घण्टा बन्धक बनाएको र त्रासमा पारेर करकापमा फिरौतीस्वरुप करोडौं लेनदेनको कागज गराएको खड्काको दाबी छ ।
खड्काले उपत्यका अपराध महाशाखामा माघ २८ गते जाहेरी दिएको बताएका छन् । उक्त जाहेरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको महाशाखाका प्रवक्ता रवीन्द्र रेग्मीले नेपाल प्रेसलाई बताए ।
जाहेरीपछि मुद्दा कमजोर बनाउन खोजिएको र एक सातासम्म पनि कारबाही अघि नबढेको भन्दै खड्काले अहिले आएर फिरौतीस्वरुप लिएको २५ लाख फिर्ता गरेर मिलापत्र गर्न दबाब दिइरहेको बताएका छन् ।
आफूलाई बन्धक बनाएर गरिएको कागज उनीहरुले नै वडा कार्यालयमा दर्ता गराएको तर आफ्नो मञ्जुरी नरहेको समेत खड्काले बताएका छन् ।
खड्काले अपहरणको आरोप लगाएका गणेश लामा र सहदेव कक्षपती घरजग्गा व्यवसायमा पार्टनर रहेको बताइएको छ । खड्काले पनि उनीहरुसँग कुनै कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
यसैबीच ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले महाशाखाबाट आएको उक्त जाहेरी दर्ता भएको र थप अनुसन्धानकै क्रममा रहेको बताएका छन् । गणेश लामा अपराधको दुनियाँमा चिर परिचित डन हुन् भने सहदेव चेक अनादर मुद्दामा जेल परिसकेका र विभिन्न आपराधिक क्रियाकलापमा विवादमा आइरहने व्यक्ति हुन् ।
नेपाली कांग्रेस वरिपरिका नेता कार्याकर्ताले यसरी नै जनता ठग्ने हुन।