प्रमाणमुखी अनुसन्धान कार्यमा प्रभावकारी बन्दै नेपाल प्रहरीको डिजिटल फोरेन्सिक ल्याब
अहिलेसम्म साढे चार हजार भन्दा बढी मुद्दाका साढे २१ हजार भन्दा बढी सबुद परीक्षण
काठमाडौं । नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग पुर्याउन प्रभावकारी माध्यम साबित हुँदै गएको छ । डिजिटल फरेन्सिक कम्प्युटर विज्ञानको एउटा शाखा हो ।
ल्याबले कम्प्युटर, डिजिटल उपकरण, डिजिटल स्टोरेज मिडिया वा डिजिटल कम्प्युटिङ इक्युपमेन्टमा स्टोर हुने डाटालाई अदालत वा न्यायिक प्रक्रियामा मान्य हुने तवरले पहिचान गरी डाटाको आवश्यक विश्लेषण पश्चात् आएको नतिजालाई रिपोर्टिङ गर्ने काम गर्दछ ।
ल्याब स्थापनादेखि अहिलेसम्म चार हजार ५५३ वटा मुद्दाका जम्मा २१ हजार ४१५ वटा सबुद परीक्षण सम्पन्न गरेको छ । यसै अवधिमा पाँच हजार ११३ वटा मुद्दाका २४ हजार ४२५ वटा सबुद परीक्षणका लागि ल्याबमा दर्ता भएका थिए । ती मध्ये ५६० मुद्दाका ३ हजार १० सबुद परीक्षणको क्रममा छन् ।
चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा मात्रै ४४० वटा मुद्दाका २ हजार १६२ वटा सबुद परीक्षण सम्पन्न भएका छन् । यसै अवधिमा ७५८ वटा मुद्दाका ३ हजार ९१३ वटा सबुद परीक्षणका लागि ल्याबमा दर्ता भएका थिए । ती मध्ये ५६० मुद्दाका ३ हजार १० सबुद परीक्षणको क्रममा छन् ।
ल्याब परीक्षण कार्यलाई प्रभावकारी बनाउन डीजीटल इभिडेन्स टीवाईएफ डीजीटल फरेन्सिक विषयमा तालिम प्रदान गर्ने गरिएको छ । अपराध अनुसन्धानकर्तामा डीजीटल इभिडेन्स सम्बन्धी क्षमता अभिवृद्धि गर्ने प्रयास गरिएको प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) भीमप्रसाद ढकालले जानकारी दिए ।
उनले भने, ‘प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग गर्ने र सहजता ल्याउने भूमिका ल्याबको रहन्छ । आजकल अपराधीले समेत कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेर अपराध गर्न थालेको देखिन्छ । त्यसैले प्रहरीले पनि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी उच्चतम प्रयोग गर्न थालेको हो । यसले घटनामा भेटिएका प्रमाण वा वस्तुको परीक्षण र विश्लेषण गरी अपराधी पत्ता लगाउन सहज भएको छ । परीक्षणले साइबर अपराधको अनुसन्धानमा समेत सहयोग पुर्याएको छ ।’
दक्ष जनशक्ति र साधन स्रोतको प्रयोगबाट प्राप्त हुने सबुदले अदालतलाई मुद्दाको अन्तिम किनारा लगाउन सहजता ल्याउने अपेक्षा गरिएको ढकालको भनाई छ ।
नेपालमा अपराध अनुसन्धानको क्रममा संकलित वैज्ञानिक प्रमाण संरक्षण, उत्खनन र विश्लेषण गर्न डिजिटल फरेन्सिक ल्याब स्थापना भई क्रियाशील रहेको ल्याबका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार मण्डलले जानकारी दिए ।
उनले भने, ‘हाल ल्याबबाट कम्प्युटर, मोबाइल, सोसियल मिडिया, मल्टिमिडिया, मालवयेर, मेमोरी, ड्रोन, जिपिएस र आईओटी डिभाइस लगायतका फोरेन्सिक परीक्षण र विश्लेषण गरी सम्बन्धित निकायलाई रिपोर्ट प्रदान गर्ने गरिएको छ ।’
अबको अपराध अनुसन्धान परम्परागत भन्दा फरक हुनुपर्ने प्रहरीको बुझाई छ । अपराधको प्रकृति र प्रवृत्तिमा डिजिटल प्रविधिको प्रयोगतर्फ ध्यान जानु आवश्यक रहेकोमा प्रहरीले जोड दिएको छ ।
अहिले अदालत, संवैधानिक आयोग, नेपाल सरकारबाट गठित समिति, नेपाल प्रहरी, नेपाली सेना, राजश्व अनुसन्धान विभाग, सम्पत्ती शुद्धीकरण विभाग, वन कार्यालयसमेत फरेन्सिक सेवा प्राप्त गरिरहेका प्रहरी प्रवक्ता डीआईजीपी ढकालले बताए ।
उनले भने, ‘विश्वव्यापीकरण र विज्ञान प्रविधिको विकासले अपराधमा आएको नयाँ प्रवृत्तिसँग जुध्न सक्ने गरी सेवा विस्तार गर्दैछौं । ल्याब सेवालाई प्रदेशस्तरमा विस्तार गर्ने लक्ष्य नेपाल प्रहरीको छ ।’
२०७२ मंसिर २० गते ल्याबको स्थापना भएको हो । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत रहेर ल्याबले काम गर्दै आएको छ ।
प्रहरी संगठनमा अपराध अनुसन्धानको नवीन आवश्यकता अनुरूपको प्रमाणमुखी वैज्ञानिक अनुसन्धान कार्यलाई स्थापित गराउने ल्याबको उद्देश्य छ ।