जेलबाहिरै बसेर पुनरावेदनको मुद्दा लड्न सन्दीपलाई उच्च अदालतद्वारा अनुमति (भिडिओ)
काठमाडौं । सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको मुद्दाविरुद्ध पुनरावेदन दिएसँगै उनी तत्काल जेल जानु नपर्ने भएको छ । कानूनी व्यवस्था अनुसार उच्च अदालत पाटनबाट सन्दीपले जेल बाहिर बस्न मुद्दा लड्न लिखित अनुमति पाएका छन् ।
उच्च अदालतमा केही बेरअघि सन्दीपको पुनरावेदन दर्ता भएको हो । मुद्दा दर्तासँगै उच्च अदालतका रजिस्टारले उनलाई जेल बाहिर बसेर मुद्दा लड्न अनुमति दिएको स्रोतले बतायो ।
मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार सन्दीपले यस्तो अनुमति पाएका हुन् । जसअनुसार १० वर्षभन्दा कम कैद सजायमा ‘थुनामा नबसी मुद्दाको पुनरावेदन गर्न पाउँ’ भनि निवेदन दिन सकिन्छ । पुनरावेदन सुन्ने अदालतका रजिस्टारले यस्तो अनुमति दिन सक्ने व्यवस्था छ ।
पुनरावेदनपछि सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले फैसला चित्त नबुझेर पुनरावेदनमा गएको बताए । जिल्ला अदालतले दोषि ठहर गरे पनि कुनै पनि तथ्य प्रमाणबाट यो पुष्टि हुन नसक्ने उनको भनाइ छ । उच्चले न्याय दिनेमा पूर्ण विश्वास रहेको उनले बताए ।