फागुन १३ देखि रुपन्देहीमा दादुरा–रुबेला खोप – Nepal Press

फागुन १३ देखि रुपन्देहीमा दादुरा–रुबेला खोप

रुपन्देही । रुपन्देहीमा यही फागुन १३ गतेदेखि दादुरा रुबेला खोपको अभियान सञ्चालन गरिने भएको छ । यहाँ पहिलो चरणमा ९ वटा पालिका र दोश्रो चरणमा बाँकी ७ वटा पालिकामा गरी सबै १६ वटा पालिकामा अभियान सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले रुपन्देहीमा २ चरणमा खोप कार्यक्रम सञ्चालन  गर्न लागिएको र त्यसको आवश्यक तयारीका कामबारे जानकारी दिए । यही फागुन १३ गतेदेखि १७ गतेसम्म पहिलो चरणमा ९ वटा पालिकामा अभियान सञ्चालन हुने भएको छ ।

पहिलो चरणमा बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन पालिकामा अभियान सञ्चालन गरिने भएको छ । त्यस्तै दोश्रो चरणमा ७ जटा पालिकामा अभियान सञ्चालन गरिदै छ । दोश्रो चरण यही फागुन २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । दोश्रो चरणमा गैडहवा, कञ्चन, सैनामैना, सम्मरिमाइ, मर्चवारी, कोटहीमाइ र मायादेवीमा खोप अभियान सञ्चालन हुने शर्माले बताए ।

खोप अधिकृत चिन्तामणि ज्ञवालीले खोपका बारेमा सकारात्मक सन्देश प्रवाहको आवश्यकता रहेको बताए । ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने छ । यहाँ ३ लाख १४ हजार ७ सय ३८ जना लक्षित बालबालिकाका लागि ११ सय खोप केन्द्र तय गरिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार यहाँ खोप दिनका लागि २२ सय स्वास्थ्यकर्मी परिचालित गरिँदै छ । त्यस्तै खोप ब्यवस्थित रुपमा सम्पन्न गर्न ३३ सय स्वय्सेवक पनि खटिने भएका छन् । प्राविधिक प्रभास पन्थी, केदार शाहले खोप लगाएर अन्य बिरामी परिन्छ भन्ने त्रास हटाउन सबैले सचेतना फैलाउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर