६ करोडबाट शुरू भएको शाइनले १६ वर्षमा बनायो ६ अर्बको पूँजी कोष – Nepal Press

६ करोडबाट शुरू भएको शाइनले १६ वर्षमा बनायो ६ अर्बको पूँजी कोष

रूपन्देही । ६ करोड लगानीबाट लुम्बिनीको तीन जिल्लालाई कार्यक्षेत्र बनाएर शुरू गरेको शाइन बैंकले १६ वर्षमा ६ अर्बको पूँजी कोषसहितकाे राष्ट्रिय बैंक बनेको छ ।

मोफसलमा केन्द्रीय कार्यालय राखेर राष्ट्रिय बैंक बन्ने शाइन यस क्षेत्रको पहिलो विकास बैंक हो । बुटवलमा प्रधान कार्यालय भएको शाइन र गुल्मी जिल्ला कार्यक्षेत्र भएको रेसुंगा विकास बैंक मिलेर शाइन रेसुंगा डेभलपमेन्ट बैंक बनेको थियाे ।

शाइन रेसुंगा बनेपछि तत्कालीन अवस्थामा नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई आत्मसात गर्दै अन्य तीन बैंक गाभेर शाइन रेसुंगा राष्ट्रियस्तरको विकास बैंक बनेकाे थियाे । शाइन रेसुंगाले प्यूठान जिल्ला कार्य क्षेत्र रहेको गौमुखी विकास बैंक, तीन जिल्ला कार्य क्षेत्र रहेको पूर्णिमा विकास बैंक र पाँच जिल्ला कार्य क्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको थियो ।

शाइन रेसुंगाले राष्ट्र बैंकबाट २०७६ मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकको रुपमा कारोबार गर्ने स्वीकृति पाएको थियो ।

‘राष्ट्र बैंकको नीतिअनुसार हामीले आफूलाई अर्थन्त्रको जिम्मेवार अंगको रुपमा मनन् गरेर सबल र सुदृढ वित्तीय संस्था बन्न मर्जरमा जानुपर्छ भन्ने निर्णयमा पुग्यौं र पार्टनर बैंकहरुको विश्वास जित्दै राष्ट्रियस्तरमा स्तरोन्नति भएका थियौं’, बैंकका अध्यक्ष थानेश्वर पौडेलले भने, ‘हामीले सुरुदेखि नै इथिकल बैंकिङ, संस्थागत सुशासन र पारदर्शितालाई अंगाल्यौं, जसले गर्दा मर्जर सफल भयो र अहिले राष्ट्रियस्तरको विकास बैंकका रुपमा पहिचान कायम गरेका छौं ।’

लुम्बिनी प्रदेशमा मात्रै बैंकका ७२ शाखा कार्यालय छन् । संघीय राजधानी काठाडौंका नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा नयाँ शाखा कार्यालय सञ्चालनमा छन् ।

बैंकले स्थापनाकालदेखि नै इथिकल बैकिङको अभ्यास र आर्थिक सुशासन कायम गर्दै अघि बढेकाले विकास बैंकहरुमा अग्रणी र सेवाग्राहीको रोजाइको बैंक बन्न सफल भएको नायब कार्यकारी अधिकृत लोकराज पनेरूले बताए ।

५ अर्ब अधिकृत पूँजी र ४ अर्ब २८ करोड चुक्ता पूँजी भएको बैंकका देशभर ८८ शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् । बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।

बैंकले शुक्रबार एक कार्यक्रमबीच आफ्नाे १६औं वार्षिकाेत्सव मनाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर