प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले पनि ‘क्यालेण्डर’ बनाउने
काठमाडौं । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले पनि क्यालेण्डर बनाएर आफ्नो कामलाई अघि बढाउने भएको छ ।
शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकमा समिति सभापति विमला सुवेदीले क्यालेण्डर बनाएरै समितिको कामलाई व्यवस्थित र प्रभावकारी बनाएर लैजाने जानकारी गराएकी हुन् ।
संघीय संसदले पनि क्यालेन्डर बनाएर आफ्नो कामलाई अघि बढाएकाले समितिले पनि त्यसैअनुसार अघि बढ्न कुनै समस्या नहुने उनको भनाई थियो ।
उनले भनिन्, ‘क्यालेण्डरका विषय पनि माननीयज्यूले गर्नुभएको छ । हामीले कामै गर्ने हो, क्यालेन्डर बनाएर अगाडि बढ्दा हामीलाई केही समस्या हुन्न । यसै कारणले गर्दा अब संसदले पनि आफ्नो क्यालेन्डर बनाई सकेको स्थितिमा हामीले पनि कामलाई व्यवस्थित गरेर जानेछौँ ।’
समितिले आफ्नो कार्यक्षेत्र भित्रका विविध विषयमा पनि छलफललाई अघि बढाउने समिति सभापति सुवेदीले प्रतिबद्धता व्यक्त गरिन् । विगतमा विधेयक केन्द्रित विषयले मात्रै प्राथमिकता पाएको र अब भने कार्य क्षेत्र भित्रका अन्य विषयमा पनि छलफललाई अघि बढाउने उनको भनाई छ ।
समितिको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले समितिको बैठक क्यालेण्डरअनुसार चलाउन माग गरेका थिए । उनले समितिको बैठक समिति सभापतिलाई मन लागेको दिन बोलाउने काम भएको भन्दै आपत्ति जनाए ।
उनले समितिको बैठक सञ्चालन सम्बन्धी क्यालेण्डर सांसदलाई दिनैपर्ने बताए । उनले नेपाली नागरिकको पक्षमा कानून बनाउने हो भने महिनामा कति दिन काम गर्ने निश्चित गरेर बैठक बोलाउन माग गरे । सांसद शर्माले सांसद समितिको बैठक कति बेला बस्छ भनेर कुरेर बस्न नसक्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले समितिको बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि ध्यान दिन सभापति सुवेदीको ध्यानाकर्षण गराएकी थिईन । उनले गौतमले कार्य क्षेत्र भित्रका अन्य विषयमा पनि समितिमा छलफल चलाउने कुरामा पनि केन्द्रित हुनुपर्नेमा जोड दिएकी थिइन् ।