कर्णाली एक्स्पो सञ्चालन नगर्न उच्च अदालत सुर्खेतको अन्तरिम आदेश – Nepal Press

कर्णाली एक्स्पो सञ्चालन नगर्न उच्च अदालत सुर्खेतको अन्तरिम आदेश

सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालन हुन लागेको तेस्रो कर्णाली एक्सपो महोत्सव उच्च अदालत सुर्खेतले नगर्न अन्तरिम आदेश दिएको छ । यही फागुन १४ गते देखि २२ गतेसम्म सञ्चालन हुने तेस्रो कर्णाली एक्सपो महोत्सव विद्यालय नजिकै मेला सञ्चालन हुन लागेको भन्दै नगर्न अन्तरिम आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीश माधव धितालकाे इजलासले बालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानूनी अधिकारलाई मध्यनजर गर्दै मेला सम्बन्धी नगर्नु/नगराउनु भनी आदेश दिएकाे हाे ।

मेला आयोजक सुर्खेत उद्योग वाणिज्य संघ, अनुमति दिने वीरेन्द्रनगर नगरपालिका लगायतका नाममा अदालतले अन्तरिम आदेश दिएको हो ।

मेला लाग्ने स्थानबाट १० मिटरको दुरीमा रहेको बाल मन्दिर विद्यालय रहेको छ । साथै, चैत १ गतेदेखि विद्यालयको वार्षिक परीक्षा हुन लागेको छ । जसका कारण पनि मेला सञ्चालनमा रोक लगाइएको छ ।

रिट निवेदनमा न्यायाधीश धितालको आदेशमा भनिएको छ, ‘बालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानुनी अधिकारसमेतलाई मध्यनजर गर्दै फागुन १३ गतेसम्मका लागि कर्णाली एक्सपो सञ्चालन सम्बन्धी कार्य नगर्नु÷नगराउनु, यथास्थितिमा राख्नु भनी विपक्षीका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’

अदालतले फागुन १३ गते दुबै पक्षलाई अन्तरिम आदेशमाथि छलफलका लागि बोलाएको छ । ‘दुबै पक्षको भनाई सुनी निष्कर्षमा पुग्न उचित देखिँदा फागुन १४ गते पेशी तारेख तोकी अन्तरिम आदेश छलफलका लागि विपक्षीहरूसमेतलाई जानकारी दिई नियमानुसार गरी पेश गर्नु,’ आदेशमा भनिएको छ।

अधिवक्ता प्रकाशबाबु ऐडीले विद्यालय नजिकै मेला सञ्चालन हुन लागेको र यसले बालबालिकाको शान्त वातावरणमा पढ्न पाउने अधिकार हनन् भएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *