मुक्तिको लडाइँ लडिरहेको प्यालेस्टाइन, धर्मको रङ दिइरहेका इजरायल र पश्चिमाहरु
सन् २०२३ अक्टोबर ७ देखि इजरायलद्वारा प्यालेस्टाइनमाथि नरसंहार भइरहेको छ । यो नरसंहारको कारक मुद्दा आखिर के हो ? हाल इजरायलले गरिरहेको नरसंहार कुन दिशातर्फ गइरहेको छ भन्ने सवाल अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ । इजरायलले नरसंहार नै निम्त्याएर विध्वंस मच्चाइरहेको यो मुद्दाको जरामा पुग्न हामीले केही भ्रम चिर्न आवश्यक छ । भ्रमहरु चिर्न इजरायल-प्यालेस्टाइनको विषयमा रेडिमेट उत्तर दिनु अथवा एआईको भाष्य बोल्नुभन्दा एक कदम पछि हटेर केही प्रश्नलाई पुनर्परिभाषित गर्न आवश्यक छ । किनकि प्रश्नै गलत भए सही उत्तर सायदै भेटिन्छ !
पहिलो कुरा त, हामीले इजरायल र प्यालेस्टाइनको अहिलेको भूगोलको रुपरेखा हेरौं । प्यालेस्टाइनको दक्षिण-पश्चिममा गाजा क्षेत्र छ, पूर्वमा वेस्ट बैंक छ । वेस्ट बैंक जोर्डन नदीसँग जोडिएको छ, गाजा क्षेत्र समुद्रसँग । गाजा र वेस्ट बैंकको बीचमा छ इजरायल । भौगोलिक हिसाबले प्यालेस्टाइन पूर्ण रुपमा इजरायलको नियन्त्रणमा छ । भौगोलिक हिसाबले मात्रै होइन, राजनीतिक हिसाबले पनि इजरायलको अनुकूलतामा छ प्यालेस्टाइन । यही सुविधाको फाइदा उठाउँदै इजरायलले अहिले प्यालेस्टाइनमा विध्वंस मच्चाइरहेको छ ।
गाजा क्षेत्रमा हमासको प्रभाव छ, वेस्ट बैंकमा प्यालेस्टाइनी अधिकारीहरुको । तर, कुनै समय अहिलेको इजरायल-प्यालेस्टाइनको भूभागभरि फैलिएका प्यालेस्टाइनीहरुलाई आप्रवासी यहुदीहरुले लखेट्दै लखेट्दै यही सानो क्षेत्रभित्र सीमित गरेका छन् । सँगै लाखौं प्यालेस्टाइनीहरुको जग्गा, जमिन, घर हडपेर उनीहरुलाई विभिन्न देशमा शरणार्थी बनाइएको छ ।
इजरायलले पश्चिमी मुलुकको आडमा भनिरहे जस्तो यो युद्ध हमासविरुद्ध नभएर सर्वसाधारण प्यालेस्टाइनी जनताविरुद्ध हो । बीसौं हजारको संख्यामा निहत्था प्यालेस्टाइनी जनताको कत्लेआमले यसको पुष्टि गर्छ । त्यसैले यो लडाइँ प्रचार गरिए जस्तो धार्मिक नभएर नितान्त आप्रवासी यहुदीहरु र मूलबासी अर्थात् प्यालेस्टाइनी जनताबीचको हो ।
यो आलेख तिनै निहत्था प्यालेस्टाइनी जनताले भोगिरहेको दु:खलाई सरल ढंगबाट केलाउन खोजिएको हो । पश्चिमा मिडियाले प्रचार गरे जस्तो इजरायल-प्यालेस्टाइनको मुद्दा जटिल छैन । इजरायल-प्यालेस्टाइन युद्ध धार्मिक होइन, यो उपनिवेशवादी परियोजनामा आधरित द्वन्द्व हो । यस आलेखमा यिनै विषयलई केलाउने प्रयास गरिएको छ ।
प्यालेस्टाइन-इजरायल युद्ध पश्चिमाले व्याख्या गरिरहे जस्तो धार्मिक होइन
इजरायल-प्यालेस्टाइन युद्धमा देखिएको धर्म त आवरणमात्रै हो । अहिलेको मेडिटेरियन समुद्रदेखि जोर्डन नदीको किनारसम्मलाई हालको इजरायल-प्यालेस्टाइन भूभाग भनिन्छ । त्यहाँ ईसाई, इस्लाम र यहुदी धर्मावलम्बीहरु बसोबास गर्दै आएका छन् । यस क्षेत्रमा सातौं शताब्दीयता मुसलमानको बाहुल्य रहे तापनि प्राचीनकालदेखि नै ईसाई र यहुदीहरु पनि शान्तिपूर्ण तवरले बसोबास गर्दै आएका छन् । गाजा क्षेत्रमा नेतृत्व गरिरहेको हमासका प्रवक्ता अबु उवैदाले भनेका छन्, ‘अरु कोही मुस्लिमहरुले नै हाम्रो जग्गा कब्जा गरेर हामीलाई शरणार्थी बनाएको भए पनि हामी उनीहरुको विरुद्ध उत्रिने थियौं, जसरी आज इजरायलको विरोध गरिरहेका छौं ।’
परबाट हेर्दा इजरायलले मुस्लिमहरुलाई निशाना बनाएको देखिए पनि गाजाका क्रिश्चियनहरुको चर्चमा पनि लगातार वमबारी गर्ने गरेको छ । यसकारणले पनि यो लडाइँ यहुदी र मुस्लिमबीचको हुँदै होइन । तर, पश्चिमा उदारवादी समाज, युरोपलगायत पूर्वसाम्राज्यवादी शक्तिहरुले यही धार्मिक भाष्यमा जोडतोड गरिरहेका छन् । पश्चिमाको यो नीतिले एकातिर गैरमुस्लिमबाट सहानुभूति पाउन सजिलो हुन्छ भने अर्कातिर हमासलाई आतंकवादी ट्याग लगाउन सहज भएर जान्छ । सँगै पश्चिमा उपनिवेशवादको प्रश्न ओझेलमा पर्छ भने धर्मको भाष्य मुखर रुपमा अगाडि आउँछ ।
यसर्थ इजरायल-प्यालेस्टाइन मामलामा तीन हजार वर्ष पुरानो ‘ओल्ड टेस्टामेन्ट’ (पुरानो बाइबल) पनि जोड्ने गरिएको छ । ओल्ड टेस्टामेन्टले यहुदीहरुको थातथलो र उनीहरुले पाएको सास्तीलाई उल्लेख गरेको छ । तर, ओल्ड टेस्टामेन्टको प्रसंग हजारौं वर्ष पुरानो भए तापनि अहिले यसलाई गलत अभिप्रायले जोड्ने गरिएको छ । इजरायलका यहुदीहरु बिब्लिकल यहुदीहरु हुन् । यी यहुदीहरुले तीन हजार वर्ष अगाडि कठोर सास्ती भोगेका थिए । जुन सास्ती गैरयहुदीहरुले दिएका थिए । यस प्रसंग ओल्ड टेस्टामेन्टमा उल्लेख छ । सँगै अर्काथरिका आस्कानाजी यहुदीहरु निकै पछि पूर्वी युरोपमा देखापरे । यिनीहरुको मध्यपूर्वका बिब्लिकल यहुदीहरुसँग कुनै किसिमको साइनो थिएन । आस्कानाजीहरुले आफूलाई इजरायलकै यहुदी दाबी गरे पनि अहिलेसम्म वैज्ञानिक प्रमाण भेटिएको छैन (Sholom Sand, The invention of the jews people) ।
प्यालेस्टाइनको दुवै क्षेत्रलाई इजरायलले घेरेको छ । भौगोलिक हिसाबले इजरायलको घेराबन्दीमा परेको प्यालेस्टाइन सम्पूर्ण रुपमा इजरायलमा भर पर्नुपर्छ । इजरायलको नियन्त्रणमा रहेका प्यालेस्टाइनी जनताले नूनदेखि पानीसम्ममा इजरायलको भर पर्नुपर्छ । हिँडडुल गर्नलाई इजरायली सेनाले पास दिनुपर्छ । नत्र प्यालेस्टानी जनता बाँच्नसक्ने अवस्था नै रहँदैन । उनीहरुको यही निरीह अवस्थाको फाइदा इजरायलले उठाइरहेको छ ।
जेनेटिक साइन्सले पनि उनीहरुको पुर्खा पूर्वी युरोपकै भएको संकेत गर्छ । सोलम स्याण्ड जस्ता यहुदी विज्ञहरुले आस्कानाजीहरुलाई युरोपको खजार राज्यसँग जोडेर हेर्ने गर्छन् । आस्कानाजी यहुदीहरु इजरायल आउनुअघि युरोपका विभिन्न मुलुकहरुमा छरिएर रहेका थिए । तर, यदि उनीहरु बिब्लिकल समयमा त्यहीको हुन्थे भने पनि तीन हजार वर्षपछि आएर प्यालेस्टाइनी जनताले भोगचलन गरिरहेको क्षेत्र दाबी गर्न सुहाउँदैन ।
प्यालेस्टाइनी जनतामाथि इजरायलको नरसंहार र हमासको उदय
सन् १९८७ मा इजरायलको उपनिवेशवादविरुद्ध उदय भएको प्रतिरोधी शक्ति हो हमास । सन् २००६ को निर्वाचनमा गाजाका जनताले हमासलाई अनुमोदन समेत गरेका थिए । प्यालेस्टाइनी जनताको एउटा पकड क्षेत्र हो गाजा । यहाँ हमासको दरिलो प्रभाव थियो । त्यसैले यिनीहरुले सन् २००६ को निर्वाचन जितेका थिए । हमासले प्यालेस्टाइनको एउटा भूगोलमा आफ्नो प्रभुत्व जमाए पनि प्यालेस्टाइनी जनता र आप्रवासी यहुदीहरुको युद्ध सन् १९३० देखि नै चलिरहेको थियो । पछि सन् १९४८ मा आप्रवासी यहुदीहरुले कब्जा गरेको भूगोल इजरायल देशको रुपमा घोषणा भयो । यसपछि इजरायली र प्यालेस्टाइनीबीचको युद्ध झनै सघन बनेर गयो । यही क्रममा हमासको जन्म भएको हो ।
अहिले इजरालले प्यालेस्टाइनमा गरिरहेको हमला हमास विरुद्ध हो भन्ने भाष्य निर्माण गरिरहेको छ, यो सरासर गलत हो । जब कि हमासको प्रभाव शून्यप्राय भएको प्यालेस्टाइनको ‘वेस्ट बैंक (पश्चिमी किनारा)मा पनि इजरायलले नरसंहार गरिरहेको छ । यस क्षेत्रमा प्यालेस्टाइनी अधिकारीहरुले नेतृत्व गरिरहेका छन् । उनीहरु राजनीतिक रुपमा हमासभन्दा फरक शक्ति हुन् । त्यसैले इजरायलले पश्चिमी मुलुकको आडमा भनिरहे जस्तो यो युद्ध हमासविरुद्ध नभएर सर्वसाधारण प्यालेस्टाइनी जनताविरुद्ध हो । बीसौं हजारको संख्यामा निहत्था प्यालेस्टाइनी जनताको कत्लेआमले यसको पुष्टि गर्छ । त्यसैले यो लडाइँ प्रचार गरिए जस्तो धार्मिक नभएर नितान्त आप्रवासी यहुदीहरु र मूलबासी अर्थात् प्यालेस्टाइनी जनताबीचको हो ।
प्यालेस्टाइनको दुवै क्षेत्रलाई इजरायलले घेरेको छ । भौगोलिक हिसाबले इजरायलको घेराबन्दीमा परेको प्यालेस्टाइन सम्पूर्ण रुपमा इजरायलमा भर पर्नुपर्छ । इजरायलको नियन्त्रणमा रहेका प्यालेस्टाइनी जनताले नूनदेखि पानीसम्ममा इजरायलको भर पर्नुपर्छ । हिँडडुल गर्नलाई इजरायली सेनाले पास दिनुपर्छ । नत्र प्यालेस्टानी जनता बाँच्नसक्ने अवस्था नै रहँदैन । उनीहरुको यही निरीह अवस्थाको फाइदा इजरायलले उठाइरहेको छ । इजरायलद्वारा वेस्ट बैंकको तुलनामा गाजा क्षेत्रलाई धेरै नै कडाइ गरिएको छ । सन् २००६ देखि पर्खाल नै लगाएर अघोषित नाकाबन्दी गरिएको छ । इजरायलले प्यालेस्टाइनी जनतालाई कति हदसम्म दमन गरेको छ भन्ने बुझ्न सन् ९० को दशकको उत्तरार्द्धमा इजरायलका प्रधानमन्त्री यहुद बारकले दिएको अभिव्यक्ति नै काफी हुन्छ । उनले गाजा क्षेत्रलाई २१ औं शताब्दीको खुला कारागारको संज्ञा दिएका थिए । त्यसैले अहिले अन्तर्राष्ट्रिय कानूनको धज्जी उडाउँदै इजरायलले प्यालेस्टाइनी जनतामाथि गरिरहेको नरसंहार प्यालेस्टाइनी जनताविरुद्ध नै हो भन्ने पुष्टि गर्छ ।
प्यालेस्टाइनी जनता यसकारण राष्ट्रविहीन बनिरहे
प्यालेस्टाइनमाथि इजरायलको आरोप छ- धेरै पटक राज्य दिइँदा पनि प्यालेस्टाइनले लिएन । तर, यो इजरायलले बनाएको गलत भाष्य हो । कुनै समय प्यालेस्टाइनभरि १० प्रतिशतमात्रै बिब्लिकल यहुदीहरु थिए । प्यालेस्टाइनी जनता र यहुदीहरु मिलेरै बसिरहेका थिए । तर, बीचमा युरोपतिरबाट आस्कानाजी यहुदीहरुको लगातार प्रवेश भयो । मुख्य कारण युरोपियन समाजमा हुने यहुदीप्रतिको घृणा हो । तर, युरोपबाट लागातार छिरिरहेका यहुदीहरुले प्यालेस्टानमाथि प्रभुत्व जमाउँदै गए । युरोपबाट आएका आस्कानाजी यहुदीहरुको प्रवेशको कथा भने सन् १९१७ मा गएर जोडिन्छ ।
आस्कानाजी यहुदीहरुको प्रभावलाई राम्रोसँग चिनेको बेलायतले उनीहरुलाई आफू अनुकूल प्रयोग गर्ने कोसिस गर्यो । यसैको परिणाम हो, सन् १९१७ को बेलफोर घोषणापत्र । आफूसँग हुँदै नभएको भूगोल आस्कानाजी यहुदी र अरबी जनतालाई बाँडेर अटोमन साम्राज्यलाई हराउन बेलायत सफल भयो ।
सन् १९१७ मा बेलायती विदेशमन्त्री बेलफोरले आस्कानाजी यहुदीहरुका नेता रोथ चायल्डलाई एक पत्र लेखेका थिए । उक्त पत्रमा उनीहरुलाई प्यालेस्टाइनको क्षेत्र प्रदान गर्ने उल्लेख गरिएको थियो । यसलाई इतिहासमा बेलफोर घोषणा भनिन्छ । बेलायतले आस्कानाजी यहुदीहरुलाई प्यालेस्टाइन दिनुको कारण थियो- प्यालेस्टाइनमाथि बेलायतको औपनिवेशिक कूटनीति ! तत्कालीन समयमा प्यालेस्टाइन अटोमन साम्राज्यभित्र पर्थ्यो । अटोमन साम्राज्यप्रति अरबी जनता रुष्ट थिए । यसको फाइदा उठाउँदै बेलायतले अरबीलाई अटोमनबाट मुक्त गर्ने सर्तमा प्रयोग गर्यो । यसवेला अटोमन र पश्चिमा गठनबन्धनबीच युद्ध भइरहेको थियो ।
अर्कातिर युरोपका आस्कानाजी यहुदीहरुले सन् १८९६ देखि आफ्नो छुट्टै राज्यको परिकल्पना गर्दै अभियान चलाइरहेका थिए । यसको नेतृत्व थियोडर हर्जेल भन्ने अष्ट्रियन नागरिकले गरिरहेका थिए । हर्जेलले अन्य धनी तथा व्यापारमा प्रभाव जमाएका आस्कानाजी यहुदीहरुमार्फत् राज्य पाउनलाई लबिइङ गरिरहेका थिए । यहुदीहरुको यो अभियानले युरोपको भौगोलिक राजनीतिमै असर गरिरहेको थियो । यसको कारण हो, एकातिर यहुदीहरु प्रभावशाली छँदै थिए, अर्कातिर युरोपका क्रिश्चियन समाजले उनीहरुलाई रुचाइरहेका थिएनन् ।
आस्कानाजी यहुदीहरुको प्रभावलाई राम्रोसँग चिनेको बेलायतले उनीहरुलाई आफू अनुकूल प्रयोग गर्ने कोसिस गर्यो । यसैको परिणाम हो, सन् १९१७ को बेलफोर घोषणापत्र । आफूसँग हुँदै नभएको भूगोल आस्कानाजी यहुदी र अरबी जनतालाई बाँडेर अटोमन साम्राज्यलाई हराउन बेलायत सफल भयो । एक हिसाबले हेर्दा बेलफोर घोषणापत्रलाई बेलायतको सफल कूटनीति मान्न सकियो । तर, बेलायतको त्यही कूटनीतिक स्वार्थका कारण अहिले हजारौं प्यालेस्टाइनी महिला, बालबालिका अनाहकमा मर्नु परिरहेको छ ।
बेलायतको दोहोरो नीतिले गर्दा युरोप र अमेरिकाबाट यहुदीहरु प्यालेस्टाइनमा प्रवेश गर्नेहरुको लर्को लाग्यो । दिन दुगुणा, रात चौगुणाले लाखौंको संख्यामा बसाइसराइ भयो । सन् १९१८ देखि १९२९ सम्ममा प्यालेस्टाइनमा १० प्रतिशतबाट यहुदीको संख्या २५ प्रतिशत हुन पुग्यो । यसवेलासम्म इजरायल भन्ने देश संसारको मानचित्रमै थिएन । थियो त केवल बेलायत शासित प्यालेस्टाइन । तर, यहुदीहरुलाई बेलायतले दिएको छुट्टै राज्यको आश्वासन उसले पूरा गर्न सकेन । न अरबी जनतालाई दिएको मुक्तिको आश्वासन नै पूरा गरिदियो । अटोमनबाट शासित अरबी जनता अब बेलायतको उपनिवेश र यहुदी आप्रवासीहरुको चपेटामा परे । यसले धेरै श्रृंखलाबद्ध युद्धहरु निम्त्याइरह्यो ।
बेलायतले दुई जातबीचको युद्धलाई समाधान गर्न नसकेपछि सन् १९४७ मा आफूले सृजना गरेको समस्या संयुक्त राष्ट्रसंघलाई हस्तान्तरण गर्यो । राष्ट्रसंघले समस्या समाधानको नाममा प्यालेस्टाइनको भूगोललाई विभाजन गरिदियो । यस विभाजनमा पनि पश्चिमी मुलुकका आफ्नै स्वार्थहरु थिए । राष्ट्रसंघले प्यालेस्टाइनको भूगोललाई दुई टुक्रामा विभाजन गरिदियो । ५६ प्रतिशत भूभाग केही वर्षअघि मात्रै प्रवेश गरेका आस्कानाजी यहुदीहरुलाई दिइयो । जतिवेला यहुदीहरुको संख्या ३० प्रतिशत पुगिसकेको थियो । तर, ७० प्रतिशत मूलबासी प्यालेस्टाइनी जनतालाई राष्ट्रसंघले ४४ प्रतिशतमात्रै भूभाग दियो । त्यो पनि कमसल भूभाग ! उर्बर र सामरिक भूभाग चाहिँ यहुदीहरुको पोल्टामा गयो ।
यहुदीहरुले राष्ट्रसंघको निर्णय स्वीकार गरे, इजरायल घोषणा गरे । तर, यो अन्यायपूर्ण तरिकाको भूगोलको वितरण प्यालेस्टाइनी जनतालाई अस्वीकार्य थियो । यहुदीहरुले इजरायल घोषणा गरे पनि प्यालेस्टाइनी जनताले पाएको भूभाग अतिक्रमण गर्न सुरु गरे । सन् १९६८ सम्म आइपुग्दा त पूरा प्यालेस्टाइन इजरायलको कब्जामा पुग्यो । यो बीचमा आप्रवासी यहुदीहरुको आक्रमण र प्यालेस्टाइनी जनताको प्रतिरोध जारी रह्यो । अर्कातिर आप्रवासीहरु आउने क्रम रोकिएको थिएन ।
रोबिनको हत्यापछि पनि प्यालेस्टाइनी जनतालाई राज्य दिने विषयमा संयुक्त राष्ट्रसंघमा पटक पटक प्रयास भए । हरेक प्रयासमा इजरायल र अमेरिकाले साथ दिएनन् । अमेरिकाले आफ्नो भिटो नै प्रयोग गर्यो । तसर्थ अमेरिकाको नीति भनेको जसरी हुन्छ, प्यालेस्टाइनी जनतालाई राष्ट्रविहीन बनाउनु हो । इजरायल त सधैं यही नै चाहन्छ ।
सन् १९९३ मा आएर ओस्लो सम्झौता भयो । प्यालेस्टाइनी जनताको नेतृत्व र इजरायली प्रधानमन्त्री रोबिनबीच नर्वेको मध्यस्थतामा सम्झौता भयो । सम्झौताअनुसार इजरायल र प्यालेस्टाइनबीच राज्यसहितको भूभागको अवधारणा अगाडि सारिएको थियो । तर, यो सम्झौतालगत्तै इजरायली प्रधानमन्त्री रोबिनको उग्रवादी जायोनिस्टद्वारा हत्या गरियो । जायोनिस्ट तिनै थिए, जसको सुरुवाती नेतृत्व हर्जेलले युरोपमा गरेका थिए । हत्याको कारण एकै थियो, रोबिनले प्यालेस्टाइनलाई पनि राज्य दिने सम्झौता गरेका थिए । तर, उग्रवादी जायोनिस्ट प्यालेस्टाइनी जनतालाई एक टुक्रा जमिन पनि दिन तयार थिएनन् ।
अहिलेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उदय पनि रोबिनको हत्यापछि उग्र जायोनिस्टको तर्फबाट भएको देखिन्छ । नेतान्याहुको एक गोप्य भिडियो सार्वजनिक भएको छ, जहाँ ओस्लो सम्झौतालाई लागू हुनै नदिने प्रण गरेका छन् । रोबिनको हत्यापछि पनि प्यालेस्टाइनी जनतालाई राज्य दिने विषयमा संयुक्त राष्ट्रसंघमा पटक पटक प्रयास भए । हरेक प्रयासमा इजरायल र अमेरिकाले साथ दिएनन् । अमेरिकाले आफ्नो भिटो नै प्रयोग गर्यो । तसर्थ अमेरिकाको नीति भनेको जसरी हुन्छ, प्यालेस्टाइनी जनतालाई राष्ट्रविहीन बनाउनु हो । इजरायल त सधैं यही नै चाहन्छ ।
इजरायल-प्यालेस्टाइन मुद्दा प्रचार गरिए जस्तो जटिल छैन
बजारमा एउटा भ्रम छ, इजरायल-प्यालेस्टाइन मुद्दा संसारकै जटिल विषय हो । यो इजरायलको पक्षपोषणका लागि पश्चिमा मिडियाले निर्माण गरेको भाष्य हो । तर, यथार्थमा यस्तो होइन । यो एक खालको प्रोपोगाण्डामात्रै हो । पश्चिमा मिडियाले इजरायल-प्यालेस्टाइन मुद्दालाई धार्मिक रङ दिँदै जटिल देखाए पनि यथार्थमा आप्रवासी यहुदीहरुद्वारा प्यालेस्टाइनी जनताको घर, गोठ, खलियान, ओलिभ वृक्षको बगैंचा खोसेर युरोपियन आस्कानाजी यहुदीहरुकोे राज्य खडा भएको हो ।
सन् १९४८ मा इजरायल राष्ट्र घोषणा हुँदै गर्दा नक्बा(अरबी भाषामा ठूलो तवाही) मच्चाएर प्यालेस्टाइनी जनताको ५०औं शहर खाली गराइएको थियो । यतिमात्रै होइन, नरसंहार नै मच्चाइएको थियो । यसवेला शान्तिको ठेक्का लिने अन्तर्राष्ट्रिय संघसंस्था र मुलुकहरु मूकदर्शक बनेका थिए । पछि आएर अमेरिकाले उल्टै इजरायललाई काखी च्यापेर हिँडेपछि इजराइल-प्यालेस्टाइन मुद्दा झनै पेचिलो बनेर गएको हो ।
इजरायल सरकारकै प्रतिनिधिहरुले बेलाबेलामा दिने अभिव्यक्ति हो- ‘हामी कुनै पनि हालतमा प्यालेस्टाइनलाई राज्य दिँदैनौं ।’ आफू त्यहाँको आदिवासी भएको प्रमाणस्वरुप कथित मुसा, जुडिया अनि डेबिड-गोलियातका कपोकल्पित कथाहरु भट्याउने गरेका छन् । यथार्थमा मुसाले नेतृत्व गरेको पौराणिक यहुदीहरु अहिलेका गोरा वर्णका इजरायलीहरु नभएर खासमा अरबी मूलकै मानिसहरु(क्यानानाइट) हुन् भन्ने कुरा मानवशास्त्रले नै प्रमाणित गरिसकेको छ (Rapael Falk,- Jeruselem university) ।
यी ऐतिहासिक घटनाहरुले के पुष्टि गर्छ भने बाहिर प्रचार गरिए जस्तो इजरायल-प्यालेस्टाइन मुद्दा जटिल छैन । यसलाई जटिल बनाउने काम इजरायली संस्थापन, अन्तर्राष्ट्रिय मिडिया र पश्चिमा शक्तिहरुको करामत हो । यो मुद्दालाई धार्मिक रङ दिने काम इजरायल स्वयंले गरेको हो । सन् १९८७ मा हमासको उदय भएसँगै इजरायलको संस्थापनले यसलाई एउटा अवसरको रुपमा लियो । हमास मुस्लिम थियो । अर्कातिर प्यालेस्टाइनको पक्षमा सन् १९६० देखि लडिरहेको पीएलओ भने धर्म निरपेक्ष प्रतिरोधी शक्ति थियो । पीएलओ इजरायलविरुद्ध लडिरहेको थियो ।
इजरायलका कारण युरोप र अमेरिकालाई अरबी भूमिमा हालीमुहाली गर्न र अन्तर्राष्ट्रिय भूराजनीति आफ्नो पक्षमा पर्न सहज भइरहेको छ । तसर्थ पश्चिमा गोराहरुको लागि यो उपनिवेश एक काम दुई पन्थ हो । स्मरण रहोस्, ९० को दशकको अन्त्यतिर हालका अमेरिकी राष्ट्रपति जो वाइडेनले भनेका थिए- ‘यदि इजरायल थिएन भने पनि हामीले बनाउनैपर्ने हुन्थ्यो ।’
त्यसैले इजरायलले प्यालेस्टाइनलाई फुटाउ र राज गरको नीतिअनुरुप हमासलाई नेतान्याहुले नै कतारमा गोप्य दूत पठाएर सहयोग गरेको प्रमाणित भइसकेको छ । यसमा इजरायली संस्थापनको एकै स्वार्थ थियो- इजरायल-प्यालेस्टाइन टकरावलाई धर्मको रङ दिनु । किनभने धर्मको रङ दिनासाथ यो मुद्दा जटिल बनेर जान्थ्यो । मुद्दा जति जटिल बनेर जान्थ्यो, इजरायललाई उति नै फाइदा हुन्थ्यो । यसकारण विश्व भूराजनीतिमा यो मुद्दा सबैभन्दा सहज मुद्दा हो । यहाँ एक पक्ष मूलबासी छ भने अर्को पक्ष उपनिवेशवादी गोरा आप्रवासी छन् । बरु जटिल मुद्दा त कश्मिर, नोर्गानो कार्वेच, युक्रेन जस्ता मुद्दा हुन् । किनकि यहाँ दुवै पक्ष मूलबासी देखिन्छन् ।
फाँसीवादी चरित्रको कट्टर राष्ट्रवादले जन्माएको इजरायल
अरेबियन शब्दकोषमा इजरायल भन्ने शब्द प्रवेश गरिएको छ । यस शब्दको अर्थ हुन्छ- कसैको सम्पत्ति चोरेर आफ्नो बनाउनु । यस्तो काम कसले गर्छ ? कि त डाँकुले गर्छ कि आतंकवादीले । इजरायलको उपनिवेशवादी नीतिको मार्ग निर्देशक सिद्धान्तलाई जायोनिजम भनिन्छ । धेरैले यसलाई आतंकवादी नीतिसँग जोडेर हेर्ने गरेका छन् । एक हिसाबले जायोनिजम उग्रराष्ट्रवादी आतंकवाद नै हो । यसले अरुको विनासमा आफ्नो विकास देख्छ ।
यो आतंकवादी सिद्धान्तअनुसार अन्य जात, समुदायलाई मान्छे नै मान्दैन । आफूलाई भने भगवानले नै छनोट गरेको भन्ठान्छ । त्यसैले आजको इजरायली सरकार नै जायोनिस्ट हर्जेलको सपनाको मूर्त रुप हो । यसरी धार्मिक अतिवादी राज्य चाहने यहुदीहरुले इजरायलमा शासन गरिरहेका छन् । अर्कातिर यहुदीहरुलाई धार्मिक कारणले सधैं लखेट्न खोज्ने युरोपेली क्रिश्चियन राष्ट्रहरु पनि इजरायललाई मध्यपूर्वमा ठेल्न पाएकामा खुशी छन् ।
इजरायलका कारण युरोप र अमेरिकालाई अरबी भूमिमा हालीमुहाली गर्न र अन्तर्राष्ट्रिय भूराजनीति आफ्नो पक्षमा पर्न सहज भइरहेको छ । तसर्थ पश्चिमा गोराहरुको लागि यो उपनिवेश एक काम दुई पन्थ हो । स्मरण रहोस्, ९० को दशकको अन्त्यतिर हालका अमेरिकी राष्ट्रपति जो वाइडेनले भनेका थिए- ‘यदि इजरायल थिएन भने पनि हामीले बनाउनैपर्ने हुन्थ्यो ।’
सबै यहुदीहरु इजरायलको पक्षमा छैनन्
अर्को बिर्सनै नहुने तथ्य के हो भने संसारका सबै यहुदीहरु इजरायलको पक्षमा छैनन् । आज लाखौंको संख्यामा युरोप र अमेरिकामा आस्कानाजी यहुदीहरुले नै प्यालेस्टाइन मुक्त गर्नू भनेर प्रदर्शन गरिरहेका छन् । उनीहरु इजरायललाई राज्य दिनु अन्याय थियो, इजरायल आतंकवादी जायोनिष्टहरुको चंगुलमा फसेको र जुन यहुदी धर्मको मान्यताविरुद्ध भएको रबाइ डोबिड वेसजस्ता यहुदी धर्मगुरु तर्क गर्छन् ।
इजरायलभित्र पनि यस्ता यहुदीहरु टोरा लिएर प्रदर्शन गरिरहेका छन् । तर, जेरुसेलम यहुदीको कब्जामा गए यशु फेरि आउनेछन् भन्ने अनौठो मान्यता बोक्ने ईसाई धर्मको एभान्जिकल(एउटा हांगो) चाहिँ इजरायलको नि:शर्त समर्थन गरिरहेको छ । पश्चिममा भन्ने गरिन्छ कि- ‘यहुदीहरुभन्दा ईसाईहरुमा जायोनिस्टहरु धेरै छन् । उनीहरु गोरावाद र पश्चिमी साम्राज्यवादको पनि कट्टर पक्षपाती छन् ।’
(अन्तर्राष्ट्रिय भूराजनीतिमा चासो राख्ने लेखक दिवस एक्स उपत्यकाका विभिन्न क्याम्पसहरूमा प्राध्यापनरत हुनुहुन्छ ।)