क्यानद्वारा प्रधानमन्त्री दैवि प्रकाेप राहत काेषमा २० लाख जम्मा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर क्यानका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा जम्मा गर्न हस्तान्तरण गरेका हुन् ।
आईसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गतनेपाल र ओमान बीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम कोषमा सहयोग गरेको क्यानले जनाएको छ ।
क्यानले गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्याएको भुकम्प पीडितको क्षतिको सहयोगार्थ आईसीसी टी२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमानबीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम बाचा गरे अनुरुप आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको बताएको छ ।
साथै क्यानले सम्पुर्ण घाइते भूकम्प पीडितको स्वास्थ्य लाभको कामनासहित भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धान्जली अर्पण गरेको छ।