इटहरी उद्योग वाणिज्य संघको दादागिरी, जुत्ता चप्पल महोत्सव बन्द गर्न चेतावनी – Nepal Press

इटहरी उद्योग वाणिज्य संघको दादागिरी, जुत्ता चप्पल महोत्सव बन्द गर्न चेतावनी

विराटनगर । आफूहरूसँग समन्वय नगरेको भन्दै उद्योग वाणिज्य सङ्घ इटहरीले जुत्ता चप्पल व्यापार महोत्सव सञ्चालनमा अवरोध गरेको छ । इटहरीमा पहिलो पटक हुन लागेको जुत्ता चप्पल व्यापार महोत्सवले इटहरीको व्यापार खस्कने भन्दै महोत्सव सञ्चालनमा अवरोध गरेको हो ।

महोत्सवले स्थानीय व्यापारीलाई असर पर्ने भन्दै महोत्सव नचलाउन चेतावनी दिएको छ । वाणिज्य सङ्घको चेतावनीका कारण शुक्रवार हुने भनिएको उद्घाटन कार्यक्रममा स्थगित भएको छ ।

इटहरी उप महानगरपालिका, जिल्ला प्रशासन कार्यालयसँग स्वीकृत लिएर महोत्सवको स्टल समेत राखिसकेको अवस्थामा महोत्सव सञ्चालनका विषयमा अन्योल उत्पन्न भएको छ । शनिवार बिहान महोत्सव स्थलमा गएर उद्योग वाणिज्य सङ्घका प्रतिनीधिहरुले महोत्सव बन्द गर्न चेतावनी समेत दिएका छन् ।

‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ फागुन ११ गते देखि चैत २५ गतेसम्म ३५ दिनका लागि महोत्सव सञ्चालनको तयारी भएको छ ।

महोत्सव आयोजक समितिका आयोजक समितिका अध्यक्ष एवंम नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य नानीराज घिमिरेले सबै कानुनी कुरा पुरा गरेकाले महोत्सव सञ्चालन गर्न पाउनु पर्ने बताए ।

उनले प्रतिस्पर्धी बजारमा सामान बेच्न दिन्न भन्नु कानुनको बर्खिलाप भएको बताए । उनले भने, ‘कानुनको पालना गरेर व्यापार गर्न पाइँदैन भन्नु राम्रो कुरा नभएको बताए । करोडौँ रुपैयाँ लगाएर उद्योग सञ्चालन भएका छन् । बजारमा चोरी तस्करीका जुत्ता चप्पल छ्याप छ्यापी छन् । हामीले नेपाली उत्पादन सस्तो मूल्यमा उपभोक्तालाई बेच्न खोजेका हौ उनले भने हामीले महोत्सव लगाउन पाउनुपर्छ ।’

उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले भने इटहरीमा रहेका जुत्ता चप्पल व्यवसायी धराशायी हुने भएकाले महोत्सव सञ्चालन गर्न नदिने बताए । उनले भने, उहाँहरू सस्तो मूल्यमा जुत्ता बेचेर जानु हुन्छ । यहाँका व्यापारी के गरेर बस्छन् ? ‘फ्याक्ट्रीबाट सिधै ल्याएर उहाँहरू बेच्नु हुन्छ । उनीहरूकै फ्याक्ट्रीबाट ल्याएका जुत्ता चप्पल बजारमा छन् । यस्तो अवस्थामा यहाँका व्यापारी पलायन हुनुको विकल्प छैन ।’

आफूहरूसँग समन्वय नै नगरी महोत्सव सञ्चालन गर्न लागेको भन्दै आपति जनाए ।

महोत्सव संयोजक एवंम फुटवेयर मेनुफ्याक्चर एसोसिएसनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले स्थानीय व्यापारी व्यवसायीलाई धेरै असर पर्ने भएकाले महोत्सव बन्द गर्नुपर्ने उनीहरूको अडान सङ्कुचित मानसिकताको उपज भएको बताए ।

कानुनले दिएको अधिकार प्रयोग गरी स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुचि जगाउने उद्देश्य मुख्य राखिएको महोत्सव रोक्न खोज्नु न्यायसङ्गत नहुने उपाध्यायले बताए ।

महोत्सव सञ्चालनको लागि आन्तरिक राजश्व कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारबाट अनुमति पाइसकेको अवस्थामा रोक्न खोजेर उद्योग वाणिज्य सङ्घले कानुन हातमा लिन खोजेको उपाध्यायको आरोप छ ।

यसअघि बुटवल, जनकपुर, बिर्तामोड र काठमाडौँमा ४ पटक सञ्चालन गरिएको उनले जानकारी गराए । बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने महोत्सवमा नयाँ नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा उपलब्ध गराइने आयोजकले जनाएको छ ।

महोत्सव भरी १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने छ । महोत्सवमा नेपालका १० वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध रहेको आयोजकको भनाई छ । महोत्सव अवधिभरमा करिब ३ लाखले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *