कमलामा बन्यो नेपालकै लामो झोलुङ्गे पुलः उद्घाटन गर्दै प्रचण्डले गरे पुलको बखान (भिडिओ) – Nepal Press

कमलामा बन्यो नेपालकै लामो झोलुङ्गे पुलः उद्घाटन गर्दै प्रचण्डले गरे पुलको बखान (भिडिओ)

स्थानीयको गुनासो- रुपैयाँ मात्रै बर्बाद भयो

जनकपुरधाम । धनुषा-सिरहा जोड्ने कमला नदीमा बनेको कठाल मल्हनिया बहुतरी झोलुङ्गे पुलको शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे ।

पुल निर्माण भएर दुई साता अघिदेखि सञ्चालनमा छ । तर आज ठूलो तामझामसहित रिवन काटेर पुलको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गरे । उनी औपचारिक रुपमा उद्घाटन गर्ने भएकाले आज बिहानैदेखि पुलमा आवतजावत गर्न सर्वसधारणलाई सुरक्षाकर्मीले रोकेको थियो ।

पुलको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सेनाको हेलिकप्टर चढेर कठाल पुगेका थिए । उनीसंगै शहरी विकास मन्त्री सिता गुरुङ, माओवादी नेता मातृका प्रसाद यादव र काँग्रेस साँसद रामकृष्ण यादव पनि उद्घाटन समारोहमा सहभागी बने ।

हुलाकी राजमार्गभन्दा करिब ४ किलोमिटर दक्षिणमा बनेको यो पुल धनुषाको जनकनन्दनी गाउँपालिका ६ कठाल र सिरहाको सिरहा नगरपालिका ३ मल्हनियालाई जोड्छ । १५ सय दशमलव ४४ मिटर लामो यो झोलुङ्गे पुल नेपालकै सबभन्दा लामो हो ।

यो पुलको चौडाई १ दशमलव २ मिटर रहेको छ । तीन हजार ८८६ मानिसको भार थेग्ने पुलको क्षमता रहेको शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले बताए । उनका अनुसार २५ करोड ८० लाखको लागतमा पुल निर्माण भएको छ ।

झण्डै २६ करोड खर्चिएर बनाएको यो झोलुङ्गे पुलको बखानमा प्रधानमन्त्री प्रचण्डले धेरै शब्द खर्चिए । उनले पुलले सिरहा र धनुषाबासीलाई प्रत्यक्ष रुपमा ठूलो राहत÷फाइदा पुर्याउने दाबी गरे । उनले भने, ‘वर्षायाममा सिरहा–धनुषाका बासिन्दालाई भारतको जयनगर भएर आउने÷जाने बाध्यता थियो, अब त्यसको अन्त्य भएको छ ।’

नेपालकै लामो झोलुङ्गे पुल बनेकाले सिरहा र धनुषाका लागि पर्यटन व्यवसायको विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउने दावी गरे प्रधानमन्त्री प्रचण्डले गरे । उनले पुलको बखान गरिरहँदा उद्घाटन समारोहमा सहभागी बनेका त्यस भेगका सर्वसधारणहरु असन्तुष्ट देखिए ।

एक वृद्धले भन्दै थिए, ‘नेताहरु सब भ्रष्ट छन् । भाषण गर्न मात्रै जानेछन् । यहाँ पुल त कामै नलाग्ने बनायो ।’ उनले पुलमा खर्चिएको रकम बालुवामा पानी पोखे जस्तै बर्बाद भएको बताए ।

पटेर्वाका काशिन्द्र मोरबैताले पनि झोलुङ्गे पुलले आफूहरुलाई कुनै फाइदा नहुने गुनासो पोखे । उनले पुलको चौडाइ कम भएकाले आवतजावत गर्न कठिन हुने र मान्छे खसेर मर्ने जोखिम रहेको सुनाए ।

‘कोही बिरामी पर्यो भने पुलमा कसरी लग्छौं ? चौडाई मात्र तीन फिट छ । मान्छे त बग्लिन सक्दैनन्’, उनले भने, ‘पुलको चौडाई कम्तिमा ५ फिट हुनुपर्थ्यो ।’

मखनाहाका रामविलास दासले पनि पुलको नाममा रुपैयाँ उडाइने काम मात्र भएको बताए । मान्छेलाई आवत जावत गर्न त सहज भयो नी ? भन्ने जिज्ञासामा उनले भने, ‘एउटा सिंगल मान्छे जान सक्छन् । कम्तिमा गाडीघोडा जाने हुनुपर्थ्यो नी । कोही विरामी पर्यो भने एम्बुलेन्स जान सक्छ ? सक्दैन । अनी के फाइदा भयो ?’

हेलिकप्टरबाटै भाँसिएको कमला पुलको अवलोकन

प्रधानमन्त्री प्रचण्डले हेलिकप्टरबाटै हुलाकी राजमार्गमा भासिएको कमला पुलको अवलोकन गरेका छन् । झोलुङ्गे पुलको उद्घाटन पश्चात कमला नदीमै अर्का पक्की पुलको शिलान्यास गर्न जाने क्रममा हेलिकप्टरबाटै उनले भासिएको कमला पुलको अवलोकन गरेका हुन् ।

तीन वर्षमा निर्माण गर्नुपर्ने सम्झौता भएपनि कमला पुलको निर्माणमा १२ वर्ष लाग्यो । तर उद्घाटन नहुँदै दुईवर्ष अगाडि पुलको तीनवटा पिलर भासियो । पिलर भासिएपछि पुल कामै नलाग्ने बनेको छ ।

उक्त पुल पुनःनिर्माण अविलम्ब गराउन स्थानीयले पटक पटक आन्दोलन पनि गरेका छन् । कैयौं मन्त्री र नेता आए । तर पुलको अवस्था ज्यूकोत्यूँ छ । सरकारले पुल पुनःनिर्माणमा ध्यान दिएको छैन ।

झोलुङ्गे पुलको समुद्घाटन गर्न आएका प्रधानमन्त्री प्रचण्डलाई हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादव कमला पुलको पुनःनिर्माण गर्न ज्ञापनपत्र बुझाए । उद्घाटन समारोहमा बोल्दै धनुषा २ बाट निर्वाचित काँग्रेस साँसद रामकृष्ण यादव पनि कमला पुल पुनः निर्माण नहुँदा आवतजावतमा सिरहा र धनुषाबासी ठूलो समस्या झेल्नुपरेको भन्दै पुनःनिर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले हुलाकी सडक अन्तर्गतको कमला नदीमा भत्केको पुलबारे गम्भीर ध्यानाकर्षण भएको बताए । उनले कमला पुलबारे अगामी नीति तथा कार्यक्रम र बजेटमा उचित व्यवस्थापन गरिने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *