अभिभावक गुमाएकी खेलाडी रियाको आर्थिक अभावले उच्च शिक्षा प्राप्तिको चाहना अधुरै
कञ्चनपुर । कराँते खेलाडी रिया पुजाराले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सात महिना भए पनि ‘प्लस टू’को प्रमाणपत्र भने लिन सकेकी थिइनन् । उनका सहपाठी स्नातक तहमा भर्ना भइसकेका छन् तर उनी भने घरमै थन्किएकी छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी रियाले स्थानीय डायमण्ड पब्लिक ऐकेडेमीबाट ‘प्लस टू’ उत्तीर्ण गरेकी हुन् । उनी उक्त विद्यालयमा कक्षा ३ देखि पढ्न थालेकी हुन् ।
कक्षा ३ देखि हालसम्मको शुल्क तिर्न नसक्दा रियाले स्नातक तह पढ्न नपाएकी हुन् । यसबीचमा शैक्षिक प्रमाणपत्रका लागि उनी पटक–पटक विद्यालय धाइन् तर धेरै शुल्क रकम तिर्न बाँकी रहेकाले विद्यालयले शैक्षिक कागजात दिन मानेन ।
केही दिनअघि कराँतेका पूर्वप्रशिक्षक मकेन्द्रबहादुर सिंहले रियाको हालसम्मको शुल्क तिरिदिएपछि प्रमाणपत्र उनको हातमा परेको छ तर स्नातक तह पढ्न बाटो खुले पनि उनको कमजोर आर्थिक अवस्थाका कारण हालसम्म क्याम्पस भर्ना हुन सकेकी छैनन् । उच्च शिक्षा हासिल गर्न उनी आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् ।
‘कक्षा ३ देखि ‘प्लस टू’सम्मको तीन लाख ६१ हजार रुपैयाँ शुल्क तिर्न बाँकी थियो’, रियाले भनिन्, ‘आर्थिक अवस्था कमजोर हुँदा शुल्क तिर्न सकेकी थिइनँ ।’ पूर्वप्रशिक्षक सिंहले विद्यालयको दुई लाख ५० हजार रुपैयाँ शुल्क तिरेपछि रियाले सात महिनापछि विद्यालयबाट एसइई र ‘प्लस टू’ को प्रमाणपत्र पाएकी छन् । अब उनी स्नातक तह पढ्नेबारे योजना बुन्दैछिन् ।
पछिल्लो समय अमेरिकामै बस्दै आएका पूर्वप्रशिक्षक सिंह यही फागुन पहिलो साता महेन्द्रनगरमा आयोजना गरिएको सुदूरपश्चिम प्रदेशस्तरीय सितोरियो कराँतेको दीक्षान्त समारोहमा भाग लिन आएका थिए ।
त्यही क्रममा रियाको सिंहसित भेट भयो । उनको आर्थिक अवस्थाका बारेमा कराते प्रशिक्षक बिमल खडायत, मदन नाथ र दीपक चन्दले कराते महासङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहेका सिंहलाई अवगत गराए ।
‘मकेन्द्र गुरु मेरो बारेमा जान्न बुझ्न घरमै आए’, रियाले भनिन् । अवस्था अवगत भएपछि पूर्वप्रशिक्षक सिंहले विद्यालयमै पुगेर रियाको दुई लाख ५० हजार रुपैयाँ शुल्क तिरिदिए ।
विद्यालयले अढाइ लाख शुल्कमै शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको उनले बताइन् । बाँकी एक लाख ११ हजार रुपैयाँ शुल्क उनको विद्यालयले मिनाहा गरिदियो ।
अठार वर्षीया रिया कराँतेकी पदकधारी खेलाडी हुन् । शुल्क तिर्न बाँकी रहेको कुरा उनले साथीभाइ र प्रशिक्षकहरुलाई अवगत गराएकी थिइन् तर कहीँकतैबाट पनि सहयोग जुटेन ।
‘शैक्षिक प्रमाणपत्र लिन पटक पटक विद्यालय धाए, तर विद्यालय प्रशासनले शुल्क नतिर्दा दिन नसकिने बतायो’, रिया भन्छिन्, ‘शुल्कका विद्यालयबाट फोन आउन थालेपछि दुई महिनासम्म मोबाइल बन्द गरेर बसेँ ।’
रिया कराँतेको ५० तौल समूहमा प्रतिस्पर्धा गर्दै आएकी छन् । उनले २०७४ माघदेखि करोत खेल्न थालेकी हुन् । यसबीचमा रियाले छवटा पदक प्राप्त गरेको बताइन् ।
उनी हाल मधेश प्रदेशको बर्दिबासमा यही फागुन १८ गतेदेखि आयोजना हुने मिथिला राष्ट्रिय कराँते प्रतियोगिताको तयारीमा जुटेकी छन् । त्यसलगत्तै फागुन २४ गतेदेखि चितवनमा हुने प्रदेशस्तरीय कराते प्रतियोगिताका लागि उनी गड्डाचौकी डोजोमा तयारी गरिरहेकी छन् ।
रियाको दैनिकी कष्टकर छ । उनका बुबा चञ्चलसिंहको डेढ वर्षअघि निधन भएपछि आर्थिक अवस्था नाजुक बनेको छ । उनका बुबा भारतमा सवारी चालक थिए । त्यही बापतको कमाइले चञ्चलसिंहका चार सन्तानको जीविका चलेको थियो । ‘सम्पत्तिका नाममा डेढ कट्ठा जग्गा छ’, उनले आफ्नो परिवारको अवस्थाबारे सुनाइन् ।
विद्यालयमा भर्ना भएदेखि नै विद्यालयको शुल्क बक्यौता रहँदा रियालाई अध्ययन गर्न सकस हुँदै आएको थियो । ‘मेरा साथीहरु स्नातक पढ्दैछन्, म भने कागजात जुटाउनमै रहेँ’, उनले भनिन् ।
डायमण्ड विद्यालयमा उनीसँगै उनका भाइको पनि शुल्क तिर्न बाँकी थियो । डायमण्ड पब्लिक ऐकेडेमीमा कक्षा १२ सम्मको मात्र पठनपाठन हुन्छ । अब उनीसित माथिल्लो कक्षा पढ्न अर्को क्याम्पस भर्ना हुनुबाहेक विकल्प छैन । ‘मसित स्नातक तह पढ्न खर्च छैन’, रियाले पीडा सुनाइन् ।
गड्डाचौकी कराँते डोजोबाट कराते खेल्दै आएकी रियाले हालसम्म राष्ट्रिय प्रतियोगितामा रजत र कास्य पदक प्राप्त गरेकी छन् । अब उनको धोको स्वर्ण पदक जित्नेछ । ‘बुबा बितेपछि खेलको नजिता आफ्नो पक्षमा पार्न सकिनँ’, उनले भनिन् ।
घरको आर्थिक अवस्था कमजोर हुँदा पढाइ मात्र होइन आफ्नो खेल पनि प्रभावित हुने गरेको रिया बताउँछिन् । कराते प्रशिक्षक मदन नाथ र दीपक चन्दको सहयोगले मात्र उनले खेललाई निरन्तरता दिन सकेकी छन् ।
‘बुबाले किनिदिएको खेल पोसाकका भरमा खेलिरहेकी छु’, रियाले भनिन्, ‘कक्षा ११ र १२ पढाइ साथिभाइहरुसँग पुस्तक मागेरै सिध्याए ।’ स्नातक तह पढ्नका लागि पूर्वप्रशिक्षक सिंहले सहयोग गर्ने आश्वासन दिएको उनले बताइन् ।
‘खेल अभ्यास र पढाइसँगसँगै गर्न सहज हुने क्याम्पसको खोजीमा छु, अहिले नै कहाँ पढ्ने भन्नेबारे सोच्न सकेकी छैन’, रियाले भनिन् ।
२०५१ देखि २०६३ सम्म कराँते प्रशिक्षकका रुपमा काम गरेका सिंहले रियालाई सक्दो सहयोग गर्ने बताए । उनले भने, ‘समस्यामा परेका खेलाडीलाई सहयोग गर्नु मेरो दायित्व हो, म उनलाई सक्दो सहयोग गर्छु ।’
कराँतेको अनुशासित र सङ्घर्षशील खेलाडीको परिचय बनाएकी रियाको विद्यालयको शुल्क तिर्ने समस्या टरेपछि अब भने स्नातक तह कसरी पढ्ने भन्ने समस्या छ । –रासस