एमाले कैलाली अधिवेशन : बलियो देखियो तेस्रो शक्ति – Nepal Press
टिप्पणी

एमाले कैलाली अधिवेशन : बलियो देखियो तेस्रो शक्ति

रावल कमजोर बन्दा भट्ट, थापासँगै पकड बढाउँदै भण्डारी

कैलाली । नेकपा एमाले कैलाली जिल्ला अधिवेशन सुरु हुनु भन्दा केही समय अघिदेखि कैलालीमा दुई अध्यक्षको दाबी रहने चर्चा रहेको थियो । पूर्वसचिव डेजी पाण्डे र प्रदेशका सचिवालय सदस्य यज्ञ ढुङ्गाना चुनावी दौडमा रहने अनुमान गरिएको थियो ।

कार्यवाहक अध्यक्ष दुर्गा जोशी पनि चुनावी दौडमा रहेका थिए । तर, उनी सर्वसम्मत हुँदा अगाडी बढ्न सक्ने निर्वाचन हुँदा प्रतिस्पर्धा नगर्ने धेरैको बुझाइ रहेको थियो । तर, त्यसो भएन सबैभन्दा पहिले टीम घोषणा जोशीले नै गरे ।

पूर्व माओवादीलाई साथमा दिएका जोशीले सुखडस्थित नवरत्न होटेलमा घोषणा गरिएको टीमका कुनै पनि पदाधिकारी विजयी हुन सकेनन् । एमाले केन्द्रीय सचिव समेत रहेका कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टको समर्थन रहेको बताइएको जोशी टिमका अध्यक्ष दुर्गा जोशीले ६३ मत मात्रै पाए । ५७७ खसेका मतमा उक्त मत निकै काम हो ।

उनका टीमका सचिव दानबहादुर विकले टिममा सबैभन्दा धेरै १४७ मत पाउँदा पनि जित भने निकाल्न सकेनन् । विक पूर्व माओवादी हुन् । यस अघिको आठौँ जिल्ला अधिवेशनमा पनि उनी पराजित भएका थिए । विकलाई पराजित गर्दै आठौँ जिल्ला अधिवेशनमा सचिव भएका डेजी पाण्डेले नवौँ अधिवेशनमा जित निकाल्न सकेनन् ।

एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य नारमुनी राना, केन्द्रीय सदस्य झपट रावल सहितको समर्थन रहेको भनिएको पाण्डे टिमबाट उपाध्यक्ष र सचिव निर्वाचित भए पनि अध्यक्ष भने पराजित भए ।

टीम पाण्डेबाट सचिवमा ममता प्रसाद चौधरीले २४३ मत प्राप्त गरेर विजयी हुँदा उक्त टिमकै उपाध्यक्ष लोकेन्द्र बहादुर शाहीले १९३ मत पाउँदै विजयी भए । उनीसँग निकट प्रतिस्पर्धी रहेका दलबहादुर विष्टले १८८ मत प्राप्त गरे ।

विष्ट एमाले पोलिट ब्युरो सदस्य लीला भण्डारी, पूर्व प्रदेश अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य दामोदर भण्डारी लगायतको समर्थन रहेको भनिएको टिमबाट उपाध्यक्षमा उम्मेदवार रहेका थिए । उक्त टिमको नेतृत्व यज्ञराज ढुङ्गानाले गरेका थिए ।

अध्यक्षसहित बहुमत पदाधिकारीमा लेखराज भट्ट र कर्ण थापाको समर्थन रहेको भनिएको टीम भन्दा लीला भण्डारीको समर्थन रहेको भनिएको टीम बलियो देखियो । ढुङ्गाना २८७ मतसहित विजयी हुँदा सोही टीममा खुल्ला उपसचिव पदका उम्मेदवार चूडामणि भट्ट २५१ मत पाएर विजयी भए । महिला उपसचिव पदमा पनि ढुङ्गाना प्यानलकै उपसचिव महिलातर्फ गङ्गाकुमारी चौधरी १९६ मतसहित विजयी भएकी छन् ।

जोशीलाई सर्वसम्मत अध्यक्ष बनाउन लेखराज भट्टले पहल गरेका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन र प्रदेश सभा निर्वाचनमा निराशाजनक नतिजा नआएको भन्दै जोशीलाई अध्यक्ष बनाउने विषयमा ग्रिन सिंग्नल दिएका थिएनन् । पाण्डे र ढुङ्गानाका विषयमा पनि ओली सर्वसम्मत वा निर्वाचनका विधिबाटै चाँडै टुङ्गो लगाउनु पर्ने बताउँदै आइरहेका थिए ।

ओलीले उद्घाटन समारोहमा पनि एकले जित्ने र अर्कोले हार्ने गरि निर्वाचन नगर्न सुझाव दिएका थिए । उनले हार्नु भन्दा उम्मेदवारी फिर्ता गर्नु उपयुक्त हुने बताएका थिए ।

ओलीले एउटा बलियो र अर्काे कमजोर रहेको साङ्केतिक भाषण उद्घाटन सभामै दिएका थिए । उनले भनेका थिए, ‘उठ्ने जतिले जित्दैनन् हार्नु पर्छ । हार्नुभन्दा छोडिदिन राम्रो है । त्यस कारण सहमति कायम गर्नुहोस् नभए चुनाव गर्नुहोस् । एउटाले जित्नुहोस् बाकी त जित्न पाइँदैन, मैले हार्नुहोस् भनेर किन भन्नु ?’

आइतबार सुरु भएको एमाले अधिवेशनको छैटौँ दिन मतदान भएर सातौँ दिनमा पदाधिकारीको नेतृत्व चयन भएको हो । शनिवार बिहानै आएको पदाधिकारीको परिणामले सुदूरपश्चिममा एमाले भित्र भीम रावल कमजोर हुँदा पनि तीन शक्ति भएको देखिएको छ ।

शुक्रबार रातिसम्म पनि पाण्डे नेतृत्वको टीममा सक्रिय रहेका झपट रावल मतगणना स्थलमै रहेका थिए । पदाधिकारीमा बहुमत गुमेपछि उनी १०० समत गणना पछि निस्किए । उनले सार्वजनिक रुपमा पाण्डेले २८१ मत प्राप्त गर्ने बताएका थिए । त्यो भन्दा केही बढी मत ढुङ्गानाले पाए । पाण्डेले भने २१८ मत पाए ।

जोशी टीमको लागि लेखराज भट्टले निर्वाचन सुरु भएपछि मतगणना स्थलमै बसेर जोड दिएनन् । उनका भाइ गोकर्ण भट्ट र हितेश ओझाले उक्त टिमको नेतृत्व गरेका थिए । यता पाण्डे टिमलाई झपट रावलले अन्तिम समय सम्म नेतृत्व गरे ।

ढुङ्गाना टीमलाई भने दामोदर भण्डारीले बाहिर रहेर र लीला भण्डारीले मतदान स्थल नजिकै रहेर नेतृत्व गरेका थिए । पदाधिकारीको परिणामले प्रदेशमा एमाले भित्रै तेस्रो शक्ति स्थापित भएको देखिएको हो । अहिले सदस्यहरूको पनि मतगणना जारी छ यहाँ पनि मिश्रित परिणाम आइरहेको छ ।

यस अघि सम्म भट्ट र थापाको टीम तयार भइरहँदा एमालेमा प्रदेश अधिवेशनबाट भण्डारी टीम पनि तयार हुन थालेको हो । प्रदेश अध्यक्षको लागि अध्यक्षमा कर्ण थापाले कृष्ण प्रसाद जैसीलाई अघि सारेका थिए भने लीला भण्डारी तथा दामोदर भण्डारीले कमल तिमिल्सेनालाई अगाडी सारेका थिए ।

सर्वसम्मति गर्दा अध्यक्षमा थापा समूहबाट जैसी र भण्डारी टीमबाट रणबहादुर चन्दलाई सचिव बनाइएको थियो । त्यसपछि यहाँ यी तीन शक्ति आमने सामने भएका हुन् । कैलाली पछि अन्य जिल्लामा पनि यो सिनारियो देखिन सक्ने आकलन गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर