लेखक घिमिरेको ‘गाउँले दशैँ-तिहार, चौरासी व्यञ्जन र सोमरस’ बजारमा
काठमाडाैं । खाद्य तथा औषधि विज्ञको रूपमा विगत १७ वर्षदेखि क्यानडालाई आफ्नो कर्म क्षेत्र बनाएका नेपाली मूलका क्यानेडियन वैज्ञानिक तथा अथर्ववेदाचार्य नारायण घिमिरेको वेद र विज्ञानको दृष्टिकोणबाट लेखिएको पुस्तक ‘गाउँले दशैँ–तिहार, चौरासी व्यञ्जन र सोमरस’ हालै नेपाली बजारमा आएको छ ।
पुस्तकमा घिमिरेले दशैँको चमत्कारी मालश्री धुन र त्यसको मानव मनोविज्ञानमा हुने गहिरो प्रभावबारे लेखेका छन् ।
दशैँमा नारी, पुरुष र तेस्रो लिङ्गीलाई वेदको भावार्थले दिने आशिष मन्त्र र त्यसको चुरो भावनाबारे चर्चा छ । हालसम्म हामीमा नारी र पुरुषलाई मात्र दशैँ–मन्त्र रहे जस्तो गरी चर्चा हुने गरेकोमा तेस्रो लिङ्गी लाई वेदमा व्यवस्था भएको दशैँ–मन्त्र समेत पुस्तकले उजागर गरेको छ ।
पुस्तकले वैदिक खानपान र तिनका रहस्य उजागर गर्दै दशैँ र तिहारमा हाम्रो परम्परामा रहेका मुख्य खानाको पोषण लगायत औषधीय मूल्यको मात्र नभएर त्यसको आध्यात्मिक मूल्यबारे पनि कुरा गरिएको छ । दशैँ र तिहार पर्व कसरी हरेक व्यक्तिको लागि फगत पर्व मात्र नरहेर आफैँलाई पुनः आविष्कार गर्ने अवसर हो भन्ने बारे पुस्तकले गहिरो अवधारणा अघि सारेको छ ।
प्रसन्नता, मौसम र मेजमानी; सेल रोटी झ्वाइँ पार्ने घ्यू; खसीको मासु किन खाने ? वा नखाने आदि बारे चर्चा भएको यो पुस्तकमा पुर्खाले चिनेको सयपत्री, सयपत्री र मखमलीको माला आदि बारे उल्लेख गर्दै हाम्रा दशैँ–तिहारमा उपयोग हुने हरेक वनस्पतिको गुण औषधीय र मानसिक स्वस्थ प्रवर्धन गर्ने बस्तुको रूपमा रहेको रहस्य खोल्न सफल देखिन्छ ।
पुस्तकले तिहारको सन्दर्भमा वैदिक सूर्य सिद्धान्तको गहिरो व्याख्या गर्दछ । हाम्रो तिहार सूर्य सिद्धान्तको महिमा गर्न स्थापित भएको गोप्यता खोल्दै पुस्तकमा सूर्य सिद्धान्त अन्तर्गत कसरी हाम्रो सम्पूर्ण शरीर सञ्चालनका ११+२ प्रणालीहरूको सूर्य सिद्धान्त व्याख्या भएको छ सोबारे प्रस्ट दृष्टिकोण दिइएको छ ।
अथर्ववेदमा आधारित तिहार; मानव स्वास्थ्यमा प्रकाशको किरणको भूमिका, पौराणिक कथामा यम पञ्चक, वैदिक दीपावली उत्सव, तिहारको दियोले के भन्छ ? र तिहारको देन छपन्न भोग व्यञ्जन भन्ने व्यवहारिक अवधारणाले वैदिक ज्ञानबारे हाम्रो समाजलाई चुरो विषय बस्तु बुझ्ने अवसर दिने गरेको छ ।
त्यसमा पनि तिहार पर्व कसरी र किन योगको अभ्यास र तालिमको दृष्टिमा महत्त्व पूर्ण छ, दिदी भाइ हरुको नाता कसरी पवित्र छ मात्र नभएर वेदमा सोमरस तथा सोमरस र जीवन विज्ञान वारेको परम्परागत ज्ञान पुस्तौँ पुस्ता हस्तान्तरणमा तिहार पर्व कसरी सहायक हुन पुग्यो भन्ने चर्चा निकै घोचक र रोचक छ ।
दशैँ आफैंमा आफ्नो अहङ्कार आफैले पहिचान गरेर नष्ट गर्ने अनि आफूले आफैलाई सुधार्ने अवसर रुपी महान् यज्ञको रूपमा रहेको छ भन्ने प्रस्ट्याउँदै गर्दा दशैँ जस्ता हाम्रा परम्परा र संस्कृति कसरी सम्पूर्ण मानव तथा लिङ्ग मैत्री छ सो बारे प्रस्ट गर्छ । मानव उत्थानको लागि प्रेरक प्रकृति मैत्री अवधारणा हाम्रो समाजको भित्री तहसम्म पुर्याउन दशैँको भूमिकाबारे चर्चा गर्दै पुस्तकले दशैँको देनको रूपमा आएको चौरासी व्यञ्जन तथा खानपानका वैदिक विधिबारे चर्चा गर्दछ ।
प्रवासमा रहेर नेपालका हर्बल, वैदिक खानपान बारे बुझ्ने, त्यसलाई वेद र विज्ञानको अवधारणा अन्तर्गत डिकोड गरी आयुर्वेदिक हिलिङ्गमा वैदिक खानपान तथा आयुर्वेदिक औषधिमूलोको समायोजन बिन्दु पहिल्याउने र त्यही ज्ञानको आध्यात्मिक ज्ञान मार्फत सुखको वैज्ञानिक व्याख्या गर्ने क्वान्टम हिलिङ्ग इनोभेसन प्रविधिमा जुरेका घिमिरेको यो पुस्तक पड्दै गर्दा पुस्तकले सोम रस र मनोवैज्ञानिक हिलिङ्ग अन्तर्गतको क्वान्टम हिलिङ्ग बारे अझ धेरै ज्ञान लिने भोक जन्माउने गर्दछ ।
सानो पुस्तकमा धेरै कुरा अट्न सम्भव नरहे पनि नेपाली समाजमा त्यो पाटोमा अझै गहिरो ज्ञान आएको छैन । आशा गरौँ आगामी अङ्कमा त्यो पाटो समेत समावेश हुनेछ ।
शिखा बुक्सले बजारमा ल्याएको यस पुस्तकको मूल्य ५२५ रुपैयाँ रहेको छ ।