चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक सार्वजनिक
काठमाडौं। चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरेको हो। पूर्वी नेपालमा ‘एथलेटिक्स’ को महाकुम्भ मानिने ‘धरान रन’ को १२औं संस्करणको अवसरमा धरानबासी दर्शकलाई साक्षी राखी पोस्टर सार्वजनिक गरिएको हो।
‘धरान रन’ मा बोल्दै धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ्गले आफुले पनि अभिनय गरेको र धरानमा नै छायाँकन गरिएको चलचित्रले दर्शक मन जित्ने बताए। सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख ४ जना पात्रलाई चलचित्रकै गेटअपमा प्रस्तुत गरिएको छ। पोस्टरको डिजाइन रोयल भिमसेनले गरेका हुन्।
आगामी वैशाख २८ गते प्रदर्शन हुने यो चलचित्रको मुख्य भूमिकामा रेअर राई, महेश त्रिपाठी, नीति शाह र नवीन मानन्धर रहेका छन् । धरान पुगेर पोस्टर र प्रदर्शन मिति सार्वजनिक गर्दा धरानका दर्शकलाई सम्मान पुगेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए। अभिनेत्री नीतिले आफ्नो डेब्यु चलचित्रको छाँयाकन सकेर प्रदर्शन मिति समेत सार्वजनिक हुँदा निकै खुसी लागेको बताईन्। धरान संग आफ्नो साइनो जोडिएको र खजुरेको कथाले आफुलाई छोएकोले चलचित्र ‘खजुरे ब्रो’ आफ्नो लागी विशेष रहेको लेखक तथा निर्देशक सुरज सुनुवारले बताए।
चलचित्रको टिमले मेयर हर्क साम्पाङको श्रमदान अभियानमा सहयोग गर्नुको साथै श्निर्माण भईरहेको श्रम संस्कृती पार्कमा पुगेर औजारहरुसमेत हस्तान्तरण गरेको छ। उक्त अभियानमा चलचित्रका निर्माता, लेखक तथा निर्देशक सुरज सुनुवार, कलाकार तथा निर्माता नवीन मानन्धर, कलाकार रेयर राई, पुस्कर कार्की तथा धरानका स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो।
पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित चलचित्र ‘खजुरे ब्रो’ मा सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको छ। चलचित्रमा प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय देख्न सकिनेछ। त्यस्तै, चलत्रिमा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ भने चलचित्रमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई पनि विशेष भूमिकामा देख्न सकिनेछ।
‘खजुरे ब्रो’ नीति शाहको डेब्यु चलचित्र हो । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । शिशिर बिसंखेले छायांकन गरेको चलचित्रमा अनमोल गुरुङको संगीत रहेको छ । चलचित्रको सह–निर्मातामा अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् भने चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।