सूचना चलखेल नियन्त्रणमा राजनीतिक दलहरुको भूमिका
सुसूचित जनता लोकतन्त्रका खम्बा हुन्, पहरेदार पनि हुन् । जनतामा चेतना जागृत गराउन लामो समयदेखि राजनैतिक दलले आफ्नो भूमिका निर्वाह गरेका छन् । जनतासम्म सूचना पुर्याउन उनीहरूका आफ्नै च्यानल थिए, मुखपत्र थिए, साप्ताहिक पत्रिका थिए र एउटा बफादार स्रोता पङ्क्ति थियो । हरेक कम्युनिकेटिभ इभेन्टको नेताले अर्थ लगाउँथे, हाम्रो समाजमा त्यसको सान्दर्भिकताबारे आफ्ना समर्थकलाई सुसूचित बनाउँथे । विशेषगरी नब्बेको दशकदेखि त्यो च्यानल विस्तारै मास मिडियामा सर्यो र वर्तमान दशकमा सोसल मिडियामा आइपुगे । यो यथार्थलाई हामी सबैले बुझेकै छौं ।
सुसूचित जनता लोकतन्त्रका खम्बा हुन् भनेर सूचनाको निर्वाध प्रवाहलाई प्रोत्साहन गरिएको हो । तर, प्रविधिको विकासको गति हेर्दा जनतामा जिम्मेवार व्यक्तिले छनोट गरेका, हानि नगर्ने, असल सूचनामात्रै पुग्ने वातावरण छैन । सूचनाको उत्पादन र प्रशारणमा आएको विविधताका कारण सूचनाको संसारमा दु:सूचना, खराब सूचना, मिथ्या सूचना सबै पस्ने नै भए र कुसूचित जनताको पङ्क्ति तयार हुने भयो । जनतालाई सुसूचित गर्ने भन्दा कुसूचित गर्ने प्रयास, प्रवृत्ति, पात्र र माध्यम बलियो भैदिँदा लोकतान्त्रिक पद्धति र लोकतान्त्रिक नेतृत्व विकासको ठाउँ लोक रिझ्याइँवाद वा एकल वैयक्तिक चमत्कारवादले लिने र जनताको आकर्षण पनि तिनैप्रति बढ्ने प्रस्टै छ । पहिले बन्दुकबाट त्रसित हुनुपर्ने लोकतन्त्र अहिले गोजी-गोजीका हाते फोनबाट त्रसित हुनुपर्ने अवस्थामा आइपुगेको छ ।
एउटा सामान्य जनताले आफूले देखेको कुरा व्यक्त गर्न पाउने, ऊ आफैं सामग्री उत्पादक बन्न पाउने अवस्था आफैंमा लोकतन्त्रको उन्नत अभ्यासभित्र पर्छ, ऊ सोझै शासकसँग जोडिन्छ, शासकको आलोचना गर्छ र शासकलाई जवाफदेही बनाउँछ । तर, ऊ आफैं आफ्नो कुरा अभिव्यक्त गर्छ कि कुनै संगठित समूहको, लोकतन्त्रको साख गिराएर आफ्नो रोटी सेक्ने समूहले पस्किने खुराकको बफादार उपभोक्ता बनिरहेको छ, त्यस्ता बदनियत भएका व्यक्ति वा समूहको उत्पादनको प्रशारणको माध्यममात्रै बनिरहेको छ भन्ने कुरा लोकतन्त्रको भविष्यसँग जोडिएको विषय हो ।
संगठित हिसाबले जनताको लोकतन्त्रप्रतिको निष्ठा हटाउने नियतबस उत्पादन र प्रशारण गर्ने सूचना लोकतन्त्रलाई बलियो बनाउनेमा पक्कै केन्द्रित हुन्नन् । बहकाउमा जनतालाई डोर्याउन पहिले तिनको आस्थामाथि चलखेल गर्नुपर्ने हुन्छ, आस्था डगमगाएका मान्छेलाई मात्रै खराब सूचनाको माध्यमबाट लोकतन्त्रको विरुद्ध, लोकतान्त्रिक नेतृत्वविरुद्ध उराल्न सकिन्छ । यो कुरा सूचनाको चलखेलमा संलग्न पात्रलाई राम्ररी थाहा छ । हिजोआज मलाई कता कता नेपालमा लोकतन्त्रप्रतिको आस्था डग्मगाएको जनमत तयार हुँदै गएको आभास हुन्छ । लोकतन्त्रले खराबमात्रै गरेको छ, योभन्दा पहिले नेपाल स्वर्ग थियो र यो लोकतन्त्रलाई फाल्न सक्यो भने नेपाल फेरि स्वर्ग बन्छ भन्ने भाष्य निर्माणको जबरजस्त गृहकार्य भैरहेको सङ्केत प्रशस्तै देखिन्छन् ।
जनतालाई सुसूचित गर्ने भन्दा कुसूचित गर्ने प्रयास, प्रवृत्ति, पात्र र माध्यम बलियो भैदिँदा लोकतान्त्रिक पद्धति र लोकतान्त्रिक नेतृत्व विकासको ठाउँ लोक रिझ्याइँवाद वा एकल वैयक्तिक चमत्कारवादले लिने र जनताको आकर्षण पनि तिनैप्रति बढ्ने प्रस्टै छ । पहिले बन्दुकबाट त्रसित हुनुपर्ने लोकतन्त्र अहिले गोजी–गोजीका हाते फोनबाट त्रसित हुनुपर्ने अवस्थामा आइपुगेको छ ।
लोकतान्त्रिक अभ्यासका क्रममा केही खराबी पनि देखिएका होलान्, विशेषगरी दलहरूको संकीर्णता, आत्मकेन्द्रित निर्णय प्रक्रिया, भ्रष्टाचार, लोकतान्त्रिक संस्थाहरूको दलीयकरण, कमजोर सुशासन आदिले जनतामा असन्तुष्टि पक्कै छन् । तर, पहिलेको व्यवस्थामा भन्दा अहिलेको व्यवस्थामा देश अधोगतिमा छ त ? पक्कै छैन । तर, अहिले भएका असल कामको प्रतिरक्षा गर्नुपर्ने ठाउँमा जो छन्, तिनले इमानदार भएर प्रतिरक्षा गरिरहेका छैनन् । आफ्नै धरातल कमजोर भएर हो कि विषयवस्तुको गाम्भीर्यलाई नजरअन्दाज गरिएको हो या नियतवस नै त्यस्तो भाष्य निर्माणमा आफ्नो भविष्य देखेकोले हो, उनीहरू जनता भड्काउने यस्ता संगठित अभियानका विरुद्ध मौन प्राय: छन् । बरू निहित स्वार्थका लागि हिलो छ्यापाछ्याप गरेर लोकतन्त्रका लागि ६०-७० वर्ष लोकतन्त्रका निम्ति लडेकाहरू सबै हिलाम्य हुँदै गएको देखिन्छ । त्यही हिलोको आडमा ‘सबै खराब’ भन्ने भाष्य नेपाली जनमानसमा बलियो बन्दैछ ।
सूचनाको प्राधिकार जनताको हातहातमा हुँदा लोकतन्त्रका पक्षमा आन्दोलन भएको हामीले देखेका छौं । खासगरी सन् २०१० को डिसेम्बरबाट सुरु भएको ‘अप्रिल स्प्रिङ’ले अरब जगतको राजनीतिमा तहल्का मच्चाइ लोकतन्त्रको लहर ल्यायो । ‘सोसल मिडिया’ त्यो आन्दोलनको मसिहाको रुपमा रह्यो । तर, सोसल मिडियाले आम नागरिकलाई सशक्त बनाउँदै मात्र लगेन, क्रमश: आफैं पनि बलियो बन्यो । मूलधारका मिडियाको कमजोरीबाट फाइदा उठाउँदै उसले जनताको अपनत्व पायो । सरकारको कमजोर डेलिभरी, बढ्दो बेरोजगारी र भ्रष्टाचार तथा राजनीतिक दल र खासगरी तिनको नेतृत्व तहमा देखिएको सत्तालिप्सालगायतका कुराले बढाएको जनआक्रोश र निराशालाई व्यक्त गर्ने माध्यमको रूपमा आफूलाई स्थापित गर्यो । अहिले त्यो निराशा अनि सामाजिक सञ्जालको निर्वाध र व्यापक पहुँच नै लोकतन्त्रका विरुद्ध प्रयोग हुने जोखिम टड्कारो बन्न पुगे । संगठित रूपमा लागेका अभियानीहरूले हातहातमा मोबाइल फोन भएका मान्छेको दिमागमाथि आधिपत्य जमाएर ‘सोसल मिडिया’लाई लोकतन्त्रलाई संकटमा पार्ने, विध्वंसात्मक सोच बढाउने, हिंसा बढाउने र आफ्नो राजनीतिक रणनैतिक अभिष्ट पूरा गर्ने औजारको रूपमा प्रयोग गरिरहेका छन् ।
केही अपवादलाई छाडेर नेपाललगायत संसारका कुनै पनि कुनामा रहेका दुई नेपालीको भेटमा ‘देश त खत्तमै भयो’ भन्ने भाष्यबाट कुरा सुरु हुन्छ । बिहान उठेदेखि नसुतुञ्जेलसम्म रेडियो, पत्रिका, टीभी वा सोसल मिडियामा आउने समाचार, चिन्तन, बहस वा प्रतिक्रियाहरूबाट प्रकारान्तरले मुलुक खत्तम भएकै भाष्य देखा पर्छन् । सामाजिक सञ्जालमा त झन ‘कसैले खत्तम मात्र भएको हैन, राम्रा कुरा पनि भएका छन्’ भनेर पोष्टिङ गरो भने उसको तत्काल राक्षसीकरण हुन्छ, भए-नभएका आरोप लगाएर नाङ्गो पार्ने प्रयास हुन्छ ।
प्रश्न छ कुन बाटोमा हामी जाँदैछौं ?
विश्वका १७३ देशको तथ्याङ्कका आधारमा इन्टरनेशनल आईडीएले जारी गरेको वल्र्ड डेमोक्रेसी रिपोर्ट २०२३ हेर्दा संसारभर प्रजातन्त्र कमजोर हुँदै गएको र अधिनायकवाद हावी हुँदै गएको अवस्था देखिन्छ । नेपालकै सर्वेक्षणहरू हेर्दा पनि राजनीतिक दल र यसको नेतृत्वहरुप्रतिको विश्वसनीयताको ग्राफ ओरालो यात्रामा छ । समस्या कहाँ छ ? राजनीतिक वृत्तले त्यति गम्भीर रुपमा लिएको भान हुन्न । सायद हामीले नबुझेको पनि हुन सक्छौं । लोकतन्त्रका विरुद्ध जनमत बन्दा पहिलो मार जो हुने हो, ऊ तातेको देखिन्न । हामी बाहिर गम्भीरताका साथ गफ गर्छौं, ताप्केभन्दा बिँड बढी तातेर खाना त पाक्दैन । प्रतिपक्षको त धर्म नै भयो सरकारलाई खबरदारी गर्ने र केही गरेन भन्ने ! तर, अचम्म छ । जो सरकारमै छ, ऊ पनि देश खत्तम भएको भाष्य बोल्छ ।
उनीहरू जनता भड्काउने यस्ता संगठित अभियानका विरुद्ध मौन प्राय: छन् । बरू निहित स्वार्थका लागि हिलो छ्यापाछ्याप गरेर लोकतन्त्रका लागि ६०-७० वर्ष लोकतन्त्रका निम्ति लडेकाहरू सबै हिलाम्य हुँदै गएको देखिन्छ । त्यही हिलोको आडमा ‘सबै खराब’ भन्ने भाष्य नेपाली जनमानसमा बलियो बन्दैछ ।
नकारात्मक बेसी बिक्री हुने समाजमा सकारात्मक कुरा बिक्तैन र टिक्तैन पनि । अझ समाजिक सञ्जालमा त लाइक बढाउने र इको च्याम्बर खडा गरेर भाइरल बन्ने होड नै हुन्छ । त्यसमा हालै एआई छिरेको छ । प्रयोगकर्ताहरुको उमेर, भूगोल, रुचि, राजनीतिक आवद्धता विश्लेषण गरी भावनात्मक पक्षलाई छुने र उत्तेजना बढाउने विषय फैलाउन अटोमेटेड मेसेजिङको प्रवृत्ति व्यापक भएको छ । विकसित देशमा समेत सोसल मिडिया प्लाटफर्महरुले गलत सूचना र प्रोपोगण्डा उत्पादन गरेका उदाहरण प्रशस्तै छन् । अमेरिकाको सन् २०१६ को राष्ट्रपतिको निर्वाचनको मुखैमा पोप फ्रान्सिसले एउटा उम्मेदवारलाई समर्थन गरेको, अर्को उम्मेदवारले आईएसआईलाई हतियार बेचेको झूटा कुरालाई हजारौं पटक रिट्विट वा फरवार्ड भएका थिए ।
हाम्रै सन्दर्भ यतिखेर सामाजिक सञ्जालमा बन्दै गरेको भाष्य सरसर्ती हेर्दा यी ७ खालका प्रवृत्ति देखिन्छन्:
१) सबैभन्दा बेसी प्रहार २०७२ सालको संविधान र यसबाट प्राप्त उपलब्धिका विरुद्ध नै केन्द्रित छ । अझ जे कुरामा पनि व्यङ्ग्य गर्नुपर्दा वा असहमत जाहेर गर्दा ‘गणतन्त्र’उपर आक्षेप लगाएकै हुन्छ,
२) भैरहेका वा यो परिवर्तन ल्याउन मूल भूमिका निर्वाह गरेका दल वा नेतृत्वलाई जसरी पनि डिस्क्रेडिट गर्नमा जोड छ,
३) गणतन्त्रका आधार स्तम्भहरुलाई कमजोर पार्ने वा डिस्क्रेडिट गरिने प्रयास छ,
४) २०७२ सालको संविधानले जुन जुन कुरालाई उपलब्धिको रुपमा लियो, तीमाथिको प्रहार केन्द्रित छ,
५) सरकार डेलिभरी दिन र शासन गर्न अयोग्य छ भन्ने देखाउने प्रवृत्ति छ,
६) नागरिक हिरो वा पपुलिष्ट नेतृत्वको सपोर्टमा छ भन्ने देखाउन खोजिएको छ र
७) समाजमा भएका सकारात्मक उपलब्धि र प्रयासका कुरालाई नगण्य ठाउँ दिएको छ ।
केही अपवादलाई छाडेर नेपाललगायत संसारका कुनै पनि कुनामा रहेका दुई नेपालीको भेटमा ‘देश त खत्तमै भयो’ भन्ने भाष्यबाट कुरा सुरु हुन्छ । बिहान उठेदेखि नसुतुञ्जेलसम्म रेडियो, पत्रिका, टीभी वा सोसल मिडियामा आउने समाचार, चिन्तन, बहस वा प्रतिक्रियाहरूबाट प्रकारान्तरले मुलुक खत्तम भएकै भाष्य देखा पर्छन् ।
प्रश्न आउँछ, किन यस्तो स्थिति आयो र यसका लागि को जिम्मेवार छ यो माहोल बनाउन ?
जानी नजानी यस्तो माहोल बनाउन हामी सबै लागेका छौं । यहाँ जम्मा भएका हामी सबैले यो स्थिति आउनुमा हाम्रो सामूहिक असफलता हो भन्ने कुरा स्वीकार गर्न हिचकिच्चाउनु पर्ने देख्दिनँ । विपक्षीलाई खुइल्याउन दलका नेतादेखि कार्यकर्तासम्म न्वारानदेखिको बल निकालेको देखिन्छ । साइबर सेना नै लगाएर गरिने एक-अर्कालाई खुइल्याउने अभ्यासले ती सबै खुइलिएको देख्छौं, हामी बाहिरबाट हेर्नेले । यसले मेडियालाई त खुराक दिने नै भयो । दलहरू एउटै जहाजमा सवार छन्, जहाज डुब्दा परिणाम के हुन्छ त्यस दिशातर्फ सोच्ने आवश्यक नै देखेका छैनन् । लोकप्रियताका लागि आफैंले बाँडेका पूरा हुन नसक्ने सपना निराशाका जड हुन् र गरिएका केही राम्रा कामलाई समेत ओझेलमा पार्ने ठूला हतियार पनि हुन् । तिनैका आडमा यो ‘पपुलिजम’ बढेको छ, छट्टु र गफाडीका गफ जनताले पत्याइदिँदा जनताको भावनात्मक जनमत कुसूचना, मिथ्या सूचना, खराब सूचनामा भर पर्दैछ ।
देशमा केही भएको छैन, देश खत्तम भयो, यो देशमा भविष्य छैन, देशमा लूट, असुरक्षा, नातावाद, कृपावाद, भ्रष्टाचार, घुसखोरीमात्र छ भन्ने भाष्य निर्माण गरेर देशको विषाक्त वातावरण बनाउन एउटा सामान्य नागरिकभन्दा दलका कार्यकर्ता र सचेत नागरिक नै अगुवा देखिन्छन् । अर्थात खुराक तिनै जिम्मेवार नेता र सचेत भनिएका नागरिकले नै दिन्छन् । त्यसैका जगमा निराशाको खेती फस्टाएको छ ।
हामीले सुशासन र सेवाको प्रवाहमा आमनागरिकले बुझ्ने गरी सुधार गर्न सकेको भए सायद यस्तो स्थिति यति छिट्टै आउने थिएन । सत्ता स्वार्थका लागि कुनै नेताले गर्ने व्यवहार र कसैले गर्ने भ्रष्टाचारको मार भने गणतन्त्र र यसले ल्याएका उपलब्धिमाथि परेको छ । प्रणाली आफैं चल्ने कुरा भएन, त्यो त चलाउनेको हातमा भरपर्ने भयो । अनि चालकले गरेका कमीकमजोरी प्रणालीमाथि जबरजस्त थोपरेर प्रणालीलाई नै डिस्क्रेडिट गर्न चाहनेको भावनालाई सामाजिक सञ्जालले मज्जाले स्पेस दियो । अनि जसले मौका हेरिरहेको हुन्छ, उसले निराशालाई क्यासमा भजाउने प्रयास गर्ने नै भए । अभाव, जात, धर्म, सम्प्रदाय वा अरु कुनै कुराको नाममा । जसलाई हिजोको परिवर्तनले विस्थापित गर्यो वा परिवर्तनप्रति असहमति छ, उसलाई त यस्ता अवस्था लुतोमा कन्याइदिए झैं पक्कै आनन्द दिने हुनसक्छ । खोजेको पनि यै हुन सक्ला ।
सोसल मिडिया पनि अहिले अराजक बन्दै गएको छ । खासगरी यसबाट हुने सत्यको तोडमोड र डीप फेक संसारकै लागि चासो र चिन्ताको कुरा भएको छ । हालैको अमेरिकी सिनेटले सामाजिक सञ्जाल प्रमुखहरुसँग गरेको सुनुवाइको क्रममा केही सिनेटरले भनेका थिए- तपाईंका हातहरुमा रगत छ । तपाईंसँग एउटा उत्पादन छ, जसले जनतालाई मार्छ, प्लेटफर्महरु ‘सूचनाको हत्या क्षेत्र’ भएका छन् । जहाँ प्रयोगकर्ताले मुद्दाको एक पक्षमात्र देखाउँछन् ।
लोकतन्त्रका विरुद्ध जनमत बन्दा पहिलो मार जो हुने हो, ऊ तातेको देखिन्न । हामी बाहिर गम्भीरताका साथ गफ गर्छौं, ताप्केभन्दा बिँड बढी तातेर खाना त पाक्दैन । प्रतिपक्षको त धर्म नै भयो सरकारलाई खबरदारी गर्ने र केही गरेन भन्ने ! तर, अचम्म छ । जो सरकारमै छ, ऊ पनि देश खत्तम भएको भाष्य बोल्छ ।
यस क्रममा टेक कम्पनीहरुले पनि आफ्नो कमजोरी रहेको र त्यसलाई सुधार गर्न प्रयास गरेकोमात्र भनेनन् कि इन्टरनेटको प्रयोग बढ्दै जाँदा अपराधी प्रवृत्तिले यसमा खेलेको कुरा पनि स्वीकारेका थिए । अझ एआई, मोबाइल प्रविधि, च्याट जीपीटी हुँदै भर्खरै परीक्षणमा ल्याइएको एआई सोर, गुगल-प्रो आदि जसले यस्तो भिडियो बनाउ भनेर शब्दमा अर्डर (प्रम्प्ट) गरेकै भरमा तत्काल श्रव्य, दृश्य बनाइदिने प्रविधिले संसारलाई कता लाने हो र यसले सूचनाको चलखेलको अवस्था वा प्रोपागान्डाको स्थिति कहाँ पुर्याउने हो ? अन्दाजै गर्न नसक्ने स्थिति छ । हालै पाकिस्तानमा भएको निर्वाचनमा अति कडा सुरक्षा घेरामा जेलभित्र रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको एआई प्रविधिबाट तयार गरिएको भिडियो मेसेजले निर्वाचनको माहोल नै उलटपुलट गर्न सक्यो । अब झन एआई सोरको प्रविधिले के गर्ला, कल्पना बाहिरको कुरा पर्यो ।
नेपालको भू-राजनीतिक स्थितिको सन्दर्भमा हेर्दा त सूचनाको चलखेललाई थप गम्भीरताका साथ लिनुपर्ने देखिन्छ । अमेरिका वा ईयू जस्ता प्रभावशाली देशले त आफ्नो निर्वाचनलाई सोसल मिडियामार्फत हुने अन्तर्राष्ट्रिय हस्तक्षेपबाट जोगाउन गाह्रो पर्यो भने हाम्रा छिमेकीको भूगोल, जनसंख्या र प्रविधिमाथिको नियन्त्रण हेर्दा हामीमा तत्काल ठोस कदम चाल्न आवश्यक छ । हामीकहाँ जातीय, धार्मिक, भौगोलिक र विचारधारीय विविधताले जोखिम बढाएका छन् । एउटा क्रिटिकल मास तयार भयो भने जुनसुकै बखत उपद्रो मचाउन सकिने सम्भावना प्रशस्त छन् । देशमा बढेको चरम निराशालाई क्यास गर्न सोसल मिडिया एउटा सशक्त माध्यम हुनसक्ने कुरा नकार्न सकिन्न ।
धेरै खालका अतिवादका साथै लोकतन्त्रले डेलिभरी दिन सक्तैन भन्ने भाष्य स्थापित गरेर दलहरुलगायत लोकतन्त्रका प्रमुख खम्बा कमजोर भएका अवस्था र आमनागरिकमा व्याप्त निराशाको मौकामा अतिवादले यिनैलाई भजाएर लोकतन्त्रमाथि प्रहार हुनसक्ने कुरामा राजनीतिक शक्तिहरु सदा चनाखो रहून् भन्ने मेरो आग्रह हो ।
त्यसैले यस्ता कार्यक्रममा हुने छलफललाई ताप्केभन्दा पहिला बिँड तातेको रूपमा नहेरियोस् । पद्धति बिगारेर कुनै खास व्यक्तिको चमत्कारबाट देश बनाउँछौं भन्ने अभ्यास हामीले पटक पटक गर्यौं । हाम्रो बनोट, विविधता र बाह्य कनेक्सनले पनि हामीलाई चमत्कारिक व्यक्तिको एकल भिजनमा देश अघि बढाउन दिन्नन् । देशलाई अतिवादको बाटोमा धकेल्ने र एउटा व्यक्तिको नायकत्व स्थापित गर्ने कुरा दुवै फेरि अर्को परीक्षणभन्दा बढी केही हुने छैनन् । तर, घातक परीक्षण । अहिले मूलधारका भनिएका दलको गम्भीरता यस्तै रहने हो भने ती दु:खद बाटाहरू हाम्रा निर्विकल्प बाटा बन्न सक्छन् ।
प्रणाली आफैं चल्ने कुरा भएन, त्यो त चलाउनेको हातमा भरपर्ने भयो । अनि चालकले गरेका कमीकमजोरी प्रणालीमाथि जबरजस्त थोपरेर प्रणालीलाई नै डिस्क्रेडिट गर्न चाहनेको भावनालाई सामाजिक सञ्जालले मज्जाले स्पेस दियो । अनि जसले मौका हेरिरहेको हुन्छ, उसले निराशालाई क्यासमा भजाउने प्रयास गर्ने नै भए ।
काम असल भए तिनको सूचना चलखेल र तोडमोड गर्न पनि समय लाग्छ, काम अलिअलि असल भए सूचनाकै माध्यमबाट जनतामा आशा जगाउन र त्यस्तो अतिवाद वा चमत्कारवादको बाटो रोक्न सकिन्छ । दलहरूले अलि अलि असल काम गरे पनि सूचनाको स्वच्छतालाई बढावा दिन सके लोकतन्त्रमाथि हुने प्रहारलाई पूरै रोक्न नसके नि टार्न भने सकिन्छ ।
यसका लागि निम्न पाँच बुँदाप्रति राजनैतिक दलका मित्रहरुको ध्यानाकर्षण गराउँछु :
१) देशमा निराशा किन बढ्यो र देशको राजनीतिक जोखिम कहाँ र के कस्ता छन्, त्यसको नियमित लेखाजोखा गरेर त्यसलाई सम्बोधन गर्ने साझा थलो र रणनीति बनाउनु होस् । यो सबैको कर्तव्य हो ।
२) दल र कार्यकर्ताहरुको सूचना प्रवाहको मेकानिजमलाई तथ्यपरक, जिम्मेवारयुक्त र नैतिक घेराभित्र रहने बनाउनुहोस् ।
३) दलका कार्यकर्ता तथा शुभेच्छुकहरुको डिजिटल ज्ञान बढाउने कार्यक्रममा जोड दिनुहोस् । साथै सोसल मिडिया सञ्चालनको आचारसंहिता जारी गरी तदनुरुप प्रयोग गर्न दलका कार्यकर्ता र आमसमर्थकलाई आग्रह गर्नुहोस् ।
४) सत्यतथ्य जाँचलाई प्राथमिकता दिनुहोस् । परम्परागतलगायत नयाँ मिडियासँग तथ्य प्रवाह र गलत सूचनाको खण्डनमा सहकार्य गर्नुहोस् ।
५) सरकार, दल, नागरिक समाज, मिडिया आउटलेट, डिजिटल प्लेटफर्मसँग यी विषयमा सहकार्य गर्नुहोस् । समय छँदै सबै सचेत बनौं, सबैले तत्कालीन स्वार्थभन्दा माथि उठेर आआफ्नो तहबाट के गर्न सकिन्छ गरौं, विद्यमान निराशाको बादल तोडेर सकारात्मक बाटो देखाउँदै ‘आशा जगाउन’ सकौं ।
(सेन्टर फर मिडिया रिसर्च नेपालले फागुन १२ गते राजधानीमा आयोजना गरेको ‘सूचनाको चलखेल र लोकतन्त्र’ विषयक कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले प्रस्तुत गरेको कार्यपत्रको सम्पादित अंश ।)