पर्यटकले २५ हजार बढी भारु बोकेर नेपाल छिर्न नदिने कानून २४ घण्टामा संशोधन होस् : सांसद शर्मा
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले पर्यटकहरुले २५ हजारभन्दा बढी भारतीय रकम बोकेर नेपाल आउन नमिल्ने कानून तत्काल संशोधन गर्न माग गरेका छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गत फागुन ३ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्कीका कार्डियोलोजिस्ट अब्दुल्लाह मिनीलाई ९६ हजार आइसी ल्याएकोमा पक्राउ गरिएकोबारे सरकारको ध्यानाकर्षण गराउँदै २४ घण्टाभित्र २५ हजार भारतीय रकम भन्दा बढी बोकेर आउन नपाइने व्यवस्था संशोधन गर्न माग गरे ।
उनले नेपालले पर्यटकमैत्री देश बनाउने हो भने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने हो भने तत्काल सो व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति उक्त कानून बनाइएको हो वा डुबाउन भन्नेबारेमा गम्भीर हुनुपर्ने बताए । उनले नेपालमा पैसा नभएकालाई मात्रै ल्याएर पर्यटन उद्योग चलाउने हो ? भन्दै प्रश्न गरे ।
सांसद शर्माले सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट चलिरहेको आरोप लगाए । उनले संसदमा प्रतिपक्ष बोलिरहँदा सत्तापक्षका सांसदहरुले बोल्न समेत नदिएको बताए । उनले विपक्षीका आवाज दबाउने प्रपञ्च भइरहेको बताए ।
यस्तो छ सांसद शर्माको भनाइः
फागुन ३ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा घटना भयो । एकजना टर्कीबाट आउनुभएको अन्तर्राष्ट्रिय स्तरको कार्डियोलोजिस्ट गंगालाल अस्पतालमा आउँदै हुनुहुन्थ्यो । केही नयाँ प्रविधियुक्त कामहरु भइरहेका थिए । उहाँलाई गिरफ्तार गरियो । गिरफ्तार गर्नुको कारण उहाँले ९६ हजार आइसी बोकेर आउनुभएको रहेछ । त्यो कारणले उहाँलाई गिरफ्तार गरियो ।
मैले यो सदनमा पटक पटक आवाज उठाएको छु । २५ हजार भन्दा बढी आइसी पर्यटकहरुले चाहे सडकबाट आउँदा होस् वा एयरलाइन्सबाट आउँदा होस् बोक्न नपाउने व्यवस्था गरिरहँदाखेरी नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति हामीले बनाएको हो वा नेपालका होटल उद्योगहरु डुबाउनेका निम्ति बनाएको हो ?
सरकारका यो देशका प्रधानमन्त्री, यो राज्य सत्तालाई यो कुरा थाहा छ की छैन ? वा थाहा पाएर पनि हामीले पटक पटक भन्दा पनि सुतेर किन बसेको ? अब्दुल्लाह मिनी भन्ने जसलाई समातिएको हो, प्रमाण मसँग छ ।
उनले त्यहाँबाट छुट्दा ४ लाख ६१ हजार २३२ रुपैयाँ पैसा नेपालभित्र उनका साथीहरुसँग सापटी लिएर धरौटी राखेर छुट्नुभयो । म प्रश्न सोध्न चाहन्छु यो मुलुकको प्रधानमन्त्रीलाई तपाईंले कस्तो टुरिस्ट ल्याउन खोजेको हो ?
२५ हजार भन्दा बढी आइसी बोक्न नपाउने, अनि यो देशमा हातमा एक रुपैयाँ पैसा नभएका भिखारीलाई मात्रै ल्याएर टुरिस्ट इण्डस्ट्री चलाउने हो ? होइन भने यो कानून वा नियम २४ घण्टामा परिवर्तन गर्नुपर्छ । मुलुक कंगाल बनाउने हो भने यो कानूनलाई निरन्तरता दिनुपर्छ ।’
पहिला नेपालीले २५००० भन्दा बढी भारत लैजान पाउने व्यवस्था गराउ मिस्टर । २५००० किन भयो पहिला बुझेर मात्र कुरा निकाल । साँसद भएर हावा कुरा गर्ने ?