भारतले २० करोडसम्मका योजना सहयोग गर्छ, बनेका प्रयोगमा आउनुपर्छ : राजदूत श्रीवास्तव (भिडिओ) – Nepal Press

भारतले २० करोडसम्मका योजना सहयोग गर्छ, बनेका प्रयोगमा आउनुपर्छ : राजदूत श्रीवास्तव (भिडिओ)

रुपन्देही । नेपालका लागि भारतीय राजदूत नविनकुमार श्रीवास्तवले भारतीय सरकारले गरिने सबै प्रकारका सहयोग नेपालका स्थानीय र संघीय सरकारको सिफारिस तथा निर्णयका आधारमा गरिने जनाएका छन् ।

नेपाल भारतको बलियो पुरानो सम्बन्धलाई प्रगाढ बनाउन शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न खोजिरहेको बताउँदै उनले भारत सरकारले आर्थिक सहयोग मात्रै ती सरकारहरुको सिफारिसमा गर्ने र अनुदान रकम मात्रै दिएर त्यसको निर्माण स्थानीय निर्माण कम्पनीले नै गर्ने विधि पहिलै तय भएको जनाएका छन् ।

आइतबार रुपन्देहीका विभिन्न स्थानमा भारत सरकारको सहयोगमा बनेका शैक्षिक संस्थाहरु उद्घाटन गर्दै राजदूत श्रीवास्तवले समाज विकासका आधारभूत स्रोत शिक्षा र स्वास्थ्य भएकाले त्यो क्षेत्रमा पछाडि परेका क्षेत्रहरु खोजेर सहयोग गरिएको बताए ।

उनले त्यसरी निर्माण भएका भौतिक संरचनाहरु अधिकतम प्रयोगमा ल्याउन आग्रह गर्दै सहयोग माग गर्दा हरेक योजना संचालन हुनसक्नेगरी योजना बनाएर त्यही अनुसारको बजेट तयार गर्न सुझाए ।

‘मैले आजै रुपन्देहीमा भारत सरकारले सहयोग गरेर बनेका स्कुल कलेजका भवन उद्घाटन गरे तर त्यहाँ अन्य संरचना अझै अभाव रहेछन्, पहिले ५ करोडसम्मका योजना हुन्थे अब बढेर २० करोडसम्म लगानी गर्न सकिने भएको छ, त्यहीअनुसार हरेक योजना संचालन गर्न सक्ने गरी योजना बनाउनुस्, बीचमै अलपत्र पाएन’, राजदूत श्रीवास्तवले भने । उनले आइतबार तिलोत्तमास्थित राममणि क्याम्पसको वित्रान भवन र बुटवलस्थित नहरपुर माविको भवन उद्घाटन गरेका हुन् ।

राममणी बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सव समारोहमा श्रीवास्तवले क्याम्पस सञ्चालक समितिलाई हस्तान्तरण गरे भने नहरपुर स्कुलमा बनेको भवन पनि उद्घाटन गरेर व्यवस्थापन समितिलाई जिम्मा लगाए ।

श्रीवास्तवले सरकार परिवर्तन भएपनि नेपाल र भारतको सम्बन्ध र सहयोग आदानप्रदान गर्ने नीति फेरबदल नहुने प्रष्ट पारेका थिए । नेपाल भारतका लागि छिमेकी राष्ट्रमात्र नभएर असल मित्र रहेको उल्लेख गर्दै श्रीवास्तवले भारत र नेपालको सम्बन्ध दुईदेशका सरकारका बीचमा मात्र नभएर धार्मिक एवं सामाजिक रुपमा बलियो रहेको बताए ।

उनले लुम्बिनीमार्फत नेपालको विकास सम्भव रहेको बताउँदै गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकहरुलाई आकर्षित गर्नसके लुम्बिनीको मात्र नभई सिंगो नेपालकै आर्थिक विकास हुनसक्ने उनले बताए । तिलोत्तमा ५ मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा निर्मित विज्ञान भवन आइतबार दिउसो हस्तान्तरण गर्दै श्रीवास्तवले लुम्बिनीमा पछिल्लो समय भारतीय धार्मिक पर्यटकहरुको संख्या बढ्दै गएको र अझै बढाउनुपर्ने बताए ।

लुम्बिनी आउने पर्यटकहरुलाई नेपालका अन्य धार्मिक स्थलहरुको अवलोकनको लागि लैजानसके पर्यटनमार्फत नेपालको आर्थिक विकास हुने उनको भनाइ थियो । ‘अहिले लुम्बिनीमा अन्य मुलुकका सँगै भारतिय पर्यटकहरुको संख्यापनि बढ्दै गएको छ, यहाँ आउने पर्यटकहरुलाई नेपालका अन्य धार्मिक स्थलहरुमा लैजानसके नेपालको विकास गर्न सम्भव छ, भारतबाट धेरै पर्यटक नेपाल आउन तयार छन्’, राजदूत श्रीवास्तवले भने ।

भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत समग्र क्षेत्रका विकासमा सहकार्य गर्दै आएको उनको भनाइ छ । उनले नेपाल र भारतको मैत्रीपूर्र्ण सम्बन्धलाई थप मजदुत बनाउन भारत सरकारले समुदाय विकास कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको बताए ।

सन् २००३ देखि भारत सरकारले नेपालका लागि अगाडि सारेको समुदाय विकास कार्यक्रम मार्फत हालसम्म ५५० वटा विद्यालय भवन निर्माण भइसकेको र लुम्बिनी प्रदेशमा मात्र ६१ र रुपन्देहीका १२ वटा विद्यालय भवन निर्माण भएको उनले बताए ।

नेपाल सरकारका विभिन्न इकाईहरु स्थानीय तह र जिल्ला समन्वय समितिसँगको समन्वयमा ५५० वटा विद्यालय भवन निर्माण भइसकेको र ९५० वटा एम्बुलेन्स र २५० वटा स्कुल बस उपलब्ध गराइसकेको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *